धरानमा निजी कारमा गाँजा तस्करी गर्ने दुई जना पक्राउ
धरान : सुनसरीको धरान उपमहानगरपालिका-१३ स्थित सारङगा चोकबाट अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरिएको छ।
इलाका प्रहरी कार्यालय धरानको टोलीले गोप्य सूचनाका आधारमा निजी कारमा गाँजा ओसारपसार भएको गोप्य सूचनाको आधारमा चेकजाँच गर्दा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाले बताए।
शनिबार धनकुटाबाट गाँजा बोकेर धरानतर्फ आउँदै गरेको ग २ च ८११७ नम्बरको कारलाई रोकी चेकजाँच गर्दा प्लास्टिकमा प्याक गरी ल्याउँदै गरेको लागूऔषध गाँजा ३७ केजी बरामद गरिएको डीएसपी तिमल्सिनाले बताए।
उनले कारका चालक उदयपुर बेलाका नगरपालिका-९ बस्ने २३ वर्षीय तीर्थ दर्जी र सोही कार्यमा संलग्न सुनसरीको बराह क्षेत्र नगरपालिका-१ बस्ने ४० वर्षीय कृष्ण विसंखेलाई नियन्त्रणमा लिएको उनले बताए।
गाँजासहित पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान गर्ने कार्य भइरहेको धरानका डीएसपी प्रकाश जबेगुली बताए। धनकुटाको सहिद भूमि र साँगुरीगढी गाउँपालिकामा उत्पादन हुने गाँजा तस्करहरूले दैनिक सुनसरीको धरान चतरा विष्णुपादुका हुँदै इटहरी इनरुवा विराटनगर र भारत तर्फ लगेर बिक्री गर्ने गरेका छन्।