२ लाख रुपैयाँ हस्तान्तरण
काभ्रे : काभ्रेको रयाले-१ सिलिङे भञ्ज्याङका ५ वर्षीय बालक सगुन सापकोटालाई सहयोगार्थ साउदी अरबबाट उठेको २ लाख ६ हजार ६१ रुपैयाँ उनको परिवारलाई हस्तान्तरण गरिएको छ।
पुस १२ गते वडाभित्र रहेको जनमैत्री बचत तथा ऋण सहकारी संस्थामा उक्त रकम हस्तान्तरण गरिएको हो। जम्मा रकम संस्था भित्र राखेर बच्चाको आवश्यकता अनुसार प्रयोग गरिने छ।
नेपालमा गत असोज १०/१२ गते अविरल वर्षाबाट आएको पहिरोमा परी रामप्रसाद सापकोटाकी ३१ वर्षीया छोरी सविताको मृत्युपश्चात उनका छोरा ५ वर्षीय बालक सगुन काजकिरिया गर्न बसेका थिए।
बाबुको पहिचान नखुलेपछि सविताकै ५ वर्षीय छोरा सगुनलाई रीतिरिवाज अनुसार किरियाकर्ममा राखिएको थियो। यो दुःखद खबरले साउदी लगायत अन्य मुलुकमा रहेका मनकारी नेपालीहरूले सहयोग संकलन कार्य गरेका थिए।
बालकको हजुरबा रामप्रसाद सापकोटाका अनुसार घरमा सुतिरहेका बेला दुई छोरीहरूको पहिरोमा परी ज्यान गएको थियो। बचाउन जाँदा आमा घाइते भएकी र मेरुदण्डमा गम्भीर चोट लागेर उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको थियो। हाल उनको स्वास्थ्य सुधार हुँदै गएको आफूले ज्याला गरी कमाएको सम्पत्ति सबै पहिरोले लगेको सापकोटाले दुखेसो गरेका थिए। उनले पनौती १ मा भारी बोकेरै ५/६ जनाको परिवारको गुजारा गर्दै आएका छन्।
सापकोटाका अनुसार बालक सगुनको वडामा जन्म दर्ता नभएकोले बच्चाको थप सेवा सुविधामा कठिनाइ भएको भन्दै सम्बन्धित निकायलाई सहयोग गर्न अनुरोध समेत गरेका छन्।