पहाडमा ईभी मोह बढ्दै
भोजपुर : पहिले–पहिले चिल्ला महँगा पजेरोमा चढ्ने सपना मात्रै हुन्थ्यो। ती गाडीमा सरकारी कर्मचारी वा धनाढ्य मान्छे चढ्थे। सबैतिर सडक थिएन। खनिएका कच्ची सडक धुलाम्मे र हिलाम्मे हुन्थे। सर्वसाधारणहरू पुराना, थोत्रा सवारीमा कोच्चिएर तराईको यात्रा गर्नुपर्थ्यो। तर पछिल्ला वर्षहरूमा मुख्य सडकहरू कालोपत्रे भएपछि जीवनशैली नै फेरियो। कालोपत्रेसँगै पछिल्ला तीन वर्षमा यात्रुवाहक चिल्ला पजेरो अर्थात् विद्युतीय गाडी ईभी (इलेक्ट्रिक भ्यान) बाक्लिन थालेका छन्। अहिले यिनै चिल्लो गाडीमा तराईदेखि पहाडका गाउँगाउँसम्म पुग्न थालेका छन्।
कच्ची सडकको लामो यात्रामा कोच्चिएर कष्टकर यात्रा गर्नुपर्ने दिन सम्झँदै भोजपुर नगरपालिका–५ का भीम राई ईभी गाडीबाटै नियमित तराईको यात्रा गर्छन्। आरामदायी, छिटोछरितो र सस्तो भाडादरको ईभी गाडीमा यात्रा गर्न पाएपछि सर्वसाधारणको जीवनशैली नै फेरिएको उनी सुनाउँछन्। ‘पहिले कोच्चिएर साँघुरो सिटमा कष्टकर यात्रा गर्नुपथ्र्यो, अहिले त्यस्तो झन्झट ईभी गाडीले हटाइदिएको छ’, उनले भने, ‘चिल्लो ईभी गाडी चढ्नु सपना जस्तै थियो, अहिले चढ्न पाइएको छ, खोजेजस्तै आरामदायी यात्रा गर्न पाइएको छ।’ खोजेको र रोजेजस्तो गाडीमा यात्रा गर्दा समय र पैसा दुवैको बचत हुने गरेको यात्रु सुनाउँछन्।
दशक पहिलेसम्म जिल्लाभित्रका सडकहरूको दुर्दशा थियो। सडकहरू बिग्रिएर यात्रुलाई कष्टकर यात्रा गर्नुपथ्र्यो। पूरै एकदिन लगाएर पहाड तराई यात्रा गर्नुपथ्र्यो। तर सडकको स्तरोन्नतिसँगै ईभी गाडी चल्न थालेपछि करिब पाँच घण्टामै धरानसम्म आरामले पुगिन्छ।
एउटा यात्रुले बिहान हिँडेर बेलुकी घर फर्कन सक्ने स्थिति बनेको छ। ‘कुनै बेला अफिसियल कामका लागि ९/१० घण्टा धुलोहिलो भएर कोच्चिँदै धरान झर्नुपथ्र्यो। समय पनि धेरै लाग्ने, भाडा पनि महँगो, यात्रा पनि गाह्रो, तर अहिले ईभी गाडीमा चढ्दा यी सबै सास्ती हटेर गएको छ। बिहान गए बेलुका घर आइपुग्ने भइसकियो’, स्थानीय नारायण भण्डारीले अनुभव सुनाए। ईभी गाडीले गाउँगाउँसम्म घरघरमै सामानहरू पु¥याउने पनि गरेको स्थानीय यात्रु सुनाउँछन्।
जिल्लाभित्र अहिले १२ वटा र जिल्ला बाहिरका गरी २२ ईभी गाडीहरू चलिरहेका छन्। यात्रालाई सन्तुष्टिजनक र आरामदायी बनाउन ईभी गाडी उत्तम रहेको व्यवसायी दिलिहाङ राईले बताए।
उनले भने, ‘सर्वसाधारणको आरामदायी छरितो सेवाका लागि ईभी चलाइरहेको छु, यात्रुको प्रतिक्रिया पनि राम्रो छ। कमाइ पनि राम्रै छ’, गन्तव्यमा छिटो पुगेपछि अन्य फुर्सदको समयमा अतिरिक्त कमाइ पनि हुने हुँदा ईभी गाडीबाट राम्रो आम्दानी पनि भइरहेको व्यवसायीहरू सुनाउँछन्।
भोजपुरबाट चलिरहेका ईभी गाडीहरूको आलोपालो क्रम हुने गरेको छ। आलोपालो भए पनि यात्रुहरूलाई सहज सेवा दिने ईभी गाडीहरूको संख्यामा वृद्धि भइरहेको टेम्केमैयुङ यातायात प्रालिका अध्यक्ष ज्ञानु राई बताउँछन्। ‘ईभी गाडीको मोह बढिरहेको छ, गाडीको संख्यामा पनि दिनानुदिन वृद्धि भइरहेको छ, व्यवसायीहरू पनि थपिने क्रममा छन्,’ उनले भने। ग्रामीण क्षेत्रका कच्ची सडकहरूको स्तरोन्नति र कालोपत्रे बन्न सके सर्वसाधारणलाई अझ सुविधा दिन सकिने उनले बताए। भोजपुरका भित्री गाउँबस्तीसँगै दैनिक दर्जनौं संख्यामा यात्रुवाहक सवारीसाधनहरू भोजपुरदेखि धरान, विराटनगर, झापा हुँदै भोजपुर काठमाडौंसम्म चल्ने गरेका छन्।