किताबभित्र भएको ज्ञानको के काम ?

अक्सिजन कवि बालकृष्ण अधिकारीको ७१औं जन्मजयन्ती

किताबभित्र भएको ज्ञानको के काम ?

बेला मलाई किताब किन्ने औधी रुचि थियो। हुन त अहिले पनि छ। तर अहिले चाहिँ एकदमै छानेर मात्रै किताबहरू किन्ने गरेकी छु। अथवा कुनै विषयबारे लेख्दैछु भने त्यही सन्दर्भ भएको किताब मात्र किन्छु। त्यसले आपूmलाई लेख्नमा सहयोग गर्ने भएकोले त्यसो गरेकी हुँ। नभए पढेका केही साथीहरूले यो राम्रो छ भनिदिए भने मात्रै किन्छु अनि नयाँ विषयवस्तुमा कुनै पुस्तक आएको छ भने कसैले नभने पनि किन्ने गरेकी छु। यसो गर्दा पनि महिनामा कम्तीमा दुइटा किताब त किनेकै हुन्छु, पढेकै हुन्छु। 

मेरा ससुरा बुवा (अक्सिजन कवि बालकृष्ण अधिकारी)को अन्तिम वर्षतिरको कुरा हो जतिबेला म जुन पुस्तक बजारमा आयो किनिहाल्थें। अनि बुवाले लेखेर बस्ने ठाउँ जहाँ उहाँको अक्सिजनको मेसिन थियो। जहाँबाट उहाँ आफ्नो नाकमा लगाइएको पाइपलाई घिसार्दै एउटा फ्लाटमा कहिले ओल्लो कोठो त कहिले पल्लो कोठो गर्नुहुन्थ्यो। भनौं न उहाँको संसारै त्यही फ्लाटमा थियो त्योबेला। त्यो फ्लाटको एउटा कोठामा हाम्रो ‘मिनी लाइब्रेरी’ थियो। ती किनेर ल्याएका पुस्तकहरू म त्यही लाइब्रेरीको माथिपट्टिको तख्तामा थपक्क राख्थें र अन्य काममा व्यस्त हुन्थें। यसको मतलब हो मैले त्यो पुस्तक पल्टाएर कति दिनसम्म हेर्दिनथिएँ। पुस्तक पल्टाएर नहेर्ने तर थपेको थपै त्यही तख्तामाथि चाङ लाग्थे कहिलेकाहीँ त। यो कुरा बुवाले याद गर्नु भएको रहेछ। याद पनि किन नगर्नुहोस् त ? यो सबै काम उहाँकै आँखाको अगाडि जो भइरहेको थियो। 

एकदिन उहाँले मलाई बोलाएर भन्नु भयो ‘यमुना यी किताबहरू तिमीले किनेर त ल्यायौ। तर पढेको त मैले देखेको छैन। उता लगेर पढ्यौ भनौ भनें तिमीले राखेदेखि यी किताबहरू यहीँ नैे छन्। मैले अलि लापरबाह बोले बिस्तारै पढ्छु।’ उहाँले ढुक्कले भन्नु यो ‘होइन तिमीले अब पढ्दैनौ। यतिका किताब थुप्रिसके। तिमीले एउटा पढेकी छैनांै। अब तिमीले यसबाट एउटा पढिसक्दा अरू थपिँदै जालान्। अहँ मलाई त विश्वास छैन है !’

म केही नबोली उभिइरहेको बेला उहाँले फेरि भन्नुभयो ‘किताब किनेर थुपारेर मात्रै कोही विद्वान हुँदैन। अनि फेसबुकमा यस्तो किताब किने भनेर पोस्ट गरेर त झनै कोही विद्वान हुनै सक्तैन।’ उहाँले मेरो मुखमा पुलुक्क हेर्नुभयो। त्यो बेला भने मेरो अनुहार बदलियो। किनभने तीमध्येका कुनै कुनै पुस्तकहरू मैले फेसबुकमा पनि पोस्ट गरेकी थिएँ। बुवाले फेरि भन्नु भयो ‘किताबभित्र भएको ज्ञानको के काम ? यदि पढिएन भने। तिमीलाई चाहिएको बेला त्यसले काम दिँदैन पो !’ त्यो बेला भने म पूरा झसंग भएँ। मसँग बोलेर प्रस्ट्याउने कुनै कुरा थिएन र मैले बोल्नुभन्दा बुवाले भनेको त्यो कुरालाई मनमा लिएँ। बुवाका ती शब्दहरू मेरा कानमा गुञ्जिरहे। अहिलेसम्म पनि गुञ्जिनै रहन्छन्। किताबभित्र भएको ज्ञानको के काम ?  त्यसपछि मैले ती किताबहरू पढी नसकी कुनै किताब किन्ने हिम्मत गर्न सकिनँ। ती किताबहरू सर्सर्ती पल्टाउँदै जाँदा मलाई महसुस भयो किताब आयो भन्ने बित्तिकै जुनसुकै किताब पनि उठाइहाल्न नहुने रहेछ। त्यो बेलादेखि मैले किताब किन्ने बेलामा पनि एकदमै ध्यान दिन थालें। 

सानै उमेरमा म विवाह भएर यो घरमा भित्रिँदा बुवा मलाई निक्कै कडा लाग्थ्यो। न त उहाँ ठूलो स्वरमा बोल्नुहुन्थ्यो। न त कसैलाई गाली गरेको मैले कहिले सुनेकी थिएँ। तै पनि म खै किन डराउँथे ?    उहाँ आफ्नो काममा एकदमै स्वाभिमानी हुनुहुन्थ्यो। कहिले पनि कामलाई लिएर उहाँ लापरबाह हुनुहुन्न थियो। उहाँको कमान्डिङ क्षमता एकदमै गज्जवको लाग्थ्यो मलाई। यो क्षमता भने अहिले ममा पनि सरे जस्तो लाग्छ। काममा एकदमै सिरियस हुन्छु। कामको कुरामा तलमाथि भयो भने दुई शब्द भन्न पनि पछि पर्दिनँ। अनि केही साथीहरूले अरूसँग भनेको पनि सुनेकी छु ‘ऊ हेर्दा मात्रै त्यस्ती हो एकदमै छुच्ची छ।’ मेरो त्यसमा जवाफ हुन्छ ‘कामप्रति सिरियस हुनुलाई छुच्ची भनिन्छ भने छुच्ची नै सही।’

हो, यस्तै कुरामा मैले पनि त बुवालाई कुनै दिन कडा ! देखेथें नि। अरुबेला जति नै नरम भए पनि मैले कामप्रति सिरियस हुनुपर्छ भन्ने उहाँबाटै सिकें। प्रतिकूल अवस्थामा पनि काम गर्न सकिन्छ। सानोतिनो कुरामा कति विचलित नहुन पनि मैले मेरा बुवाबाटै सिकेकी हुँ। 

सुरुमा बुवाले लेख्नुहुन्छ भन्ने मलाई थाहा थिएन। जव म यो घरमा आएँ त्यो बेला उहाँ आफ्नो घरायसी कर्ममा व्यस्त हुनुहुँदो रहेछ। छोराछोरी हुर्काउने, पढाउने बिहेदान गर्ने यो उहाँको जिम्मेवारीको पाटो थियो। युवा अवस्थादेखि नै उहाँलाई फोक्सोको समस्याले सताएको रहेछ। खानेकुरामा ९० प्रतिशत मुख बार्नु पर्दथ्यो। उहाँलाई कति पीडा हुन्थ्यो होला ? तर कहिले पनि आपूmलाई गाह्रो भएको कुरा सितिमिति सुनाउनु हुन्नथ्यो।  जव उहाँ जिम्मेवारीबाट मुक्त हुनुभयो। छोराछोरीको बिहेदान सक्नुभयो अनि निस्किए उहाँका लेखका डायरीहरू। त्यहीबेला उहाँलाई दमले पनि च्याप्यो। डाक्टरको निगरानीमा बस्नुपर्ने भयो। 

चौबिसैघण्टा अक्सिजन लगाउनुपर्ने भयो। कहिलेकाहीँ भन्नुहुन्थ्यो ‘यो फोक्सोलाई निकालेर स्वाइँस्वाइँ माझेर फेरि राख्न मिले हुने नि।’ यस्तो अवस्थामा पनि उहाँमा लेखपढको भोक कति थियो भने घरमा अक्सिजन लगाएर लेख्ने पढ्ने अलगै भयो कवि गोष्ठीहरूमा पनि जानै पर्ने। केही पटक त मैले स्कुटरको अगाडि अक्सिजनको सिलिन्डर राखेर पनि कवि गोष्ठीहरूमा पु¥याएकी छु। म त्यो बेला सोच्थें मैले बुवालाई डोहो¥याइरहेछु तर होइन रहेछ बुवाले पो मलाई त्यो बेलादेखि नै साहित्यिक यात्रामा वामे सार्दै हुनुहुँदो रहेछ। उहाँसँग हिँड्दाहिँड्दै मैले पनि लेख्न थालेकी हुँ। र उहाँको प्रेरणा र हौसलाले म यो स्थानसम्म आइपुगें। 

बुवाले प्रतिकूल अवस्थामा पनि डटेर हरेक काम गरिरहेको देखेकी मलाई पे्ररणा यसरी मिल्यो कि ठूलो एक्सिडेन्टपश्चात सय दिन हस्पिटल बसेर मृत्युको मुखबाट फर्केर आउँदा पनि मेरो आत्मविश्वासमा कहिले कमी आएन। त्यसको थप वर्षदिनसम्म थेरापी र बेड रेस्टमा बस्ताताका नै मैले दुइटा 
पुस्तक लेख्न भ्याएँ। 

मलाई भेट्न रुँदै आउनेहरू म बेडमै बसेर काम गरिरहेको देखेर हाँस्तै फर्किन्थे। हरेकलाई प्रेरणा दिने उहाँले एकदिन उपाधि पाउनुभयो अक्सिजन कविको। लोकसेवा आयोगले पनि उहाँको नाम समावेश ग¥यो। यही त रहेछ कर्मले युगौंयुग बाँच्नु भनेको। उनै प्रेरक मान्छे अक्सिजन कवि आज हामीबीच भौतिक रूपमा हुनुहुन्न। तर जीवित छन् उहाँका तीनवटा कृति (राष्ट्रियता बोल्दैछ, समृद्ध बनाउँ नेपाल र नदीझैं जिन्दगी) र उहाँको नाम, सम्झना सधैंभरि हाम्रो मनमा।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.