वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आफ्ना नेता-कार्यकर्ताको संलग्नता भेटिए कारबाही गर्छौं : रास्वपा
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको हातपात भएको घटनाप्रति ध्यनाकर्षण जनाएको छ। उक्त घटनामा पार्टीका नेता-कार्यकर्ताको संलग्नता भेटिएमा विधानबमोजिम कारबाही गर्ने रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए।
दोषी जो कोही भएपनि निजलाई कानुन बमोजिम कारबाहीका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने रास्वपाले जनाएको छ।
'सहकारी बचत अपचलन सम्बन्धी मुद्दाको बहस पश्चात् अदालतबाट निस्किँदै गर्दा काठमाडौं जिल्ला अदालत परिसरभित्र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात भएको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। यस किसिमको व्यवहार कानुनी शासन, सुदृढ राजनीतिक अभ्यास र न्यायप्रति विश्वास राख्ने राजनीतिक दलका लागि कदापी स्वीकार्य छैन। यस विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीको सम्बन्धित अनुशासन आयोगको समेत ध्यानाकर्षण भएको छ र सो घटनामा यदि पार्टीको कुनै पनि सदस्यको संलग्नता भेटिएमा पार्टी विधान बमोजिम कारबाही हुने स्पष्ट पार्न चाहन्छौं। साथै दोषी जो कोही भएपनि निजलाई कानुन बमोजिम कारवाहीका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछौं,' रास्वपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।