काठमाडौं : नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारमा सहभागी मन्त्रीहरूसँग आज छलफल गर्दैछन्। बिहान ८ बजे आफ्नै निवास बूढानीलकण्ठमा कांग्रेसबाट सरकारमा सहभागी भएका मन्त्री र राज्यमन्त्रीलाई सभापति देउवाले छलफलका लागि बोलाएका हुन्।
सभापतिले मन्त्रीहरूलाई प्रगति विवरणसहित उपस्थित हुन निर्देशन दिएको देउवानिकट एक नेताले जानकारी दिए। सरकारमा सहभागी भएका केही मन्त्रीहरूको कार्यक्षमतालाई लिएर पार्टीभित्र प्रश्न उठिरहेको छ। बैठकमा यसबारे पनि छलफल हुनेछ।
सरकारमा सहभागी केही मन्त्रीको पफमेन्स राम्रो नभएको र बेला-बेलामा विवादमा आएर आलोचना भइरहेको भन्दै देउवाले निर्देशन दिनका लागि पनि बैठक आवश्यक परेको स्रोतको भनाई छ। बैठकमा मन्त्रीहरूको ब्रिफिङ पार्टी शीर्ष नेताले समेत सुन्ने र कांग्रेसका मन्त्रीले ६ महिनामा गरेको कामको समीक्षा गर्ने तयारी रहेको छ।
बैठकमा महामन्त्री प्रतिनिधि सभा र राष्ट्रियसभा संसदीय दलका नेता, प्रमुख सचेतक, सचेतकसमेत सहभागी हुनेछन्। प्रधानमन्त्री केपी शर्मा ओलीले समेत मन्त्रिहरुलाई प्रभावकारी ढंगले काम गर्न पटक-पटक मन्त्रि र कर्मचारीलाई निर्देशन दिइरहेका छन्।
यसैगरी सरकारका कामका विषयलाई लिएर कांग्रेसकै नेताहरूले विरोध गरिरहेकाले पार्टीभित्र कसरी स्पष्ट पार्ने भन्नेबारेपनि छलफल हुनेछ। कांग्रेसले आउँदो संसद अधिवेशन प्रभावकारी बनाउनका लागि पनि छलफल गर्दैछ। मन्त्रिपरिषद् बैठकले कतिपय विधेयक संसद्मा पेश गर्ने निर्णय गरिसकेको छ भने, संसदीय समितिबाट पनि पारित गरेर सदनमा विधेयक पेश गर्ने गरी छलफल अघि बढेको छ।
कांग्रेसबाट को-को छन् मन्त्री ?
- उपप्रधान तथा सहरी विकास प्रकाशमान सिंह
- गृहमन्त्री रमेश लेखक
- परराष्ट्रमन्त्री आरजु राणा देउवा
- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे
- युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी
- कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसिया
- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल
- कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी
- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का
- वन तथा वातावरण ऐनबहादुर शाही
- राज्यमन्त्री रुपा विक र पूर्णबहादुर तामाङ