रैथाने बाली प्रवर्द्धनका लागि पाहुनालाई कोदोको परिकार

दोलखा : पछिल्लो समय नेपालमा रैथाने बाली लोप हुने अवस्थामा पुग्न थालेकाले रैथाने बाली संरक्षणमा स्थानीय होटेलहरू जुटेका छन्। रैथाने बाली प्रबर्द्धनका लागि भीमेश्वर नगरपालिका–२ स्थित दि पुर्खचा दोलखा रिसोर्टमा कोदोका विभिन्न परिकार पाक्ने गरेका छन्।
जिल्लामा धेरै उत्पादन हुने अन्नको रूपमा रहेको कोदोबालीको महत्त्व कम देखिएकाले यसको प्रबद्र्धन गर्ने उद्देश्यले होटलमा कोदोको सुप, ढिडो, मःमः, निम्की, चाउमिन, प्यान केक, केक पिजा, समोसालगायतका विभिन्न परिकार पाक्ने गरेको रिसोर्टका सञ्चालक अजय प्रधानले बताए।
कोदोखेती पनि विस्तारै घट्दै गएको छ। कोदो स्वास्थ्यका लागि फाइदाजनक छ। ‘रैथाने बाली संरक्षण अभियान चलाउनकै लागि होटलमा कोदोको विभिन्न परिकार पाक्ने गरेको हो’, उनले भने। पछिल्लो समय कोदोको परिचय अलि बदलिएको पनि छ। गाउँघरको मुख्य खानाको परिकारका रूपमा मात्र सीमित रहेको कोदो अहिले सहरको आकर्षक खानाको परिकारमा पर्ने गरेको छ। अहिले गाउँमा भन्दा सहरका रेस्टुराँ र होटलमा कोदोको परिकार पाक्ने गरेका छन। निकै झन्झटिलो बालीका रूपमा रहेको कोदोको महत्त्व पछिल्लो समय बढ्दै गएको देखिन्छ। कुनै दिन गरिबको खानाको रूपमा चिनिएको कोदोको ढिँडो अहिले ठूला होटल र घरबासमा समेत रुचाइएको परिकार बनेको छ। तर अहिले कोदो पर्याप्त मात्रामा पाउन छाडेको होटल सञ्चालक प्रधानको भनाइ छ। अहिले होटलमा कोदोको परिकारसँगै मकैको परिकार पनि पाक्ने गरेका छन्। मकैको खजुरी, लडडु दि पुर्खुचाको अर्को आकर्षक हो।
प्राचीन सहर दोलखामा रहेको भीमेश्वर मन्दिर दर्शन गर्न आउने दर्शनार्थीले कोसेलीका रूपमा कोदोको परिकार लैजाने स्थानीय व्यापारी बताउँछन्। आयातित चामलले कृषिमा झन्झटिलो बालीका रूपमा रहेको कोदो विस्तारै लोप हुने अवस्थामा पुगे पनि पछिल्लो समय कोदोको परिकारप्रति नागरिक जागरुक देखिन थालेका छन्। कोदोको परिकारमा प्रशस्त फाइदा छ। सहर बजारमा पछिल्लो समय खरिद गरेरै भए पनि कोदोको ढिँडो, रोटीलगायतका परिकार बनाएर खाने गरिएको छ। ग्राहकहरूले पनि कोदोको ढिँडो मन पराउने होटल सञ्चालकको भनाइ छ। ‘चिसो याममा कोदोको ढिँडो र लोकल कुखुराको मासु रुचाउने ग्राहक धेरै हुन्छन्’, उनले भने।
पहाडी जिल्लाको रूपमा रहेको दोलखामा कोदो खेतीलाई प्राथमिकता दिनुपर्ने उनले बताए। दोलखा जिल्लाको सबै ठाउँमा कोदो राम्रोसँग उत्पादन हुन्छ। पछिल्लो समय केही जग्गा बाँझो राखिँदै आइएको छ। धेरै मानिस सहरतिर बसोबास गर्ने र युवाहरू विदेश पलायन हुने हुँदा यस्ता रैथानै बाली प्रबद्र्धन हुन सकेका छैनन्।
कृषि ज्ञान केन्द्रले कोदो बालीलाई विस्तार तथा प्रबद्र्धन गर्न कोदो उत्पादन गर्ने किसानलाई यान्त्रीकरणमा समेत सहयोग गर्नुपर्ने आवश्यकता देखिन्छ। कोदो, फापर र सिस्नोमा आइरल, मिनरल बढी मात्रामा पाइन्छ। कोदो उत्पादन गर्ने किसानलाई हौसला हुने खालको योजनाहरू स्थानीय सरकारले पनि बनाउनुपर्ने स्थानीय होटल सञ्चालकको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !
