मापदण्डविपरीत रातु नदीको दोहन

मापदण्ड ३ फिट, उत्खनन ६ फिट

मापदण्डविपरीत रातु नदीको दोहन
सुन्नुहोस्

बर्दिबास : महोत्तरीमा रातु नदी सभ्यताको फेरि दोहन सुरु भएको छ । महोत्तरी र धनुषाको साँधमा पर्ने रातु नदीबाट मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन गर्न ठूल्ठूला ‘इक्विपमेन्ट’ नै प्रयोग गरिएको छ । जुन कानुनविपरीत रहेको छ ।

चालु आर्थिक वर्षका लागि बर्दिबास नगरपालिकाले खोला उत्खननका लागि ठेक्का लगाइएको छ । कडा अनुगमनको अभावमा ठेकेदारहरूले मापदण्डलाई उल्लंघन गर्दै आइरहेका छन् । यस वर्षका लागि माघ २५ गतेदेखि खोला खन्न सुरु गरिएको थियो । रातु नदीको सभ्यता १२ हजार वर्ष पुरानो हो । 

मापदण्डअनुसार खोलाबाट तीन फिट गहिरो गरेर मात्रै नदीजन्य पदार्थ उत्खनन गर्नुपर्ने छ । तर, आइतबार रातु खोलाको गरिएको अनुगमनका अनुसार ६ फिटसम्म खनेर नदीको दोहन भइरहेको देखिएको छ । ठेकेदारहरूले पुलनजिकैबाट पनि नदीजन्य पदार्थ उत्खनन गरिरहेका छन् । जबकि पुलबाट पाँच सय मिटर टाढाबाट मात्रै उत्खनन गर्न पाइने नियम छ । तर, रातु खोलाको पथलैया खण्डस्थित झोलुंगे पुलको २ सय मिटर नजिकैबाट नदीजन्य पदार्थ उत्खनन भइरहेको पाइएको छ । बर्दिबास नगरपालिकाका उपमेयर तथा अनुगमन समितिकी संयोजक तारादेवी महतोले नदी उत्खनन मापदण्डमै गराउने बताएकी छिन् । ‘अनुगमन गर्दा उत्खनन गर्दा ठेकेदारले कतै, कतै मिस्टेक गरेको देखिएको छ,’ उनले भनिन् । 

नदीजन्य पदार्थ एक प्रकारले सुन नै हो । लगानी थोरै, आम्दानी धेरै हुने भएकाले देशैभरिका नदीहरूको दोहन तीव्र हुँदै आएको छ । त्यसै उदाहरण हो रातु नदीको उत्खनन । खोला दोहनमा अनुगन तथा संरक्षणको अधिकार पाएकाहरूको मिलिभगत रहँदै आएकोे माओवादी केन्द्रीय सदस्य राजु खड्काले बताए । हजारौं वर्ष पुरानो रातु नदीको निरन्तर भइरहेको दोहनमा प्रहरी, प्रशासन र जनप्रतिनिधिहरूको मिलिभगत रहेको उनले ठोकुवा गरे ।

रातु नदी सभ्यताको संरक्षणको माग गर्दै गत वर्ष स्थानीयहरूले सर्वोच्च अदालतसम्म न्याय माग्दै मुद्दा हालिसकेको अवस्था छ । मुद्दा अहिले विचाराधीन अवस्था रहेको छ । स्थानीय सरकारले आफ्नो रवैया नसुधारे फेरि कानुनी उपचार खोज्न बाध्य हुने एमालेका नेता शंकर महतोले बताए । ‘चुरेबाट बग्ने रातु नदीको अन्धाधुन्ध दोहनले खेतीयोग्य जमिन मरुभूमि भइरहेको छ,’ उनले भने, ‘खानेपानी र सिँचाइको स्रोतहरू सुकेका छन् । यसले जीवनयापन गर्न कठिन बनेको छ ।’

वातावरण तथा नदी अधिकारका लागि काम गर्दै आएका वरिष्ठ अधिवक्ता पदमबहादुर श्रेष्ठले ठूला यन्त्र प्रयोग गरेर नदीजन्य पदार्थ उत्खनन गर्न रोक लगाइएको छ । तर, रातु खोलामा यी मापदण्डलाई उल्लंघन गरिएको छ । रातु खोलालाई चार प्याकेजमा विभाजित गरेर बर्दिबास नगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ का लागि भ्याटबाहेक कुल ८ करोड ४० लाख ९३ हजार १ सय ४१ रुपैयाँमा ठेक्का लगायो । बर्दिबास नगरपालिकाका राजस्व शाखाका सजीव बरालका अनुसार कुल चारवटै प्याकेजबाट कुल २ लाख ९४ हजार ६ सय ८१ घनमिटर नदीजन्य पदार्थ उत्खनन गर्ने गरी ठेक्का बन्दोबस्त गरिएको छ । उत्खननको म्याद जेठ मसान्तसम्म रहेको छ ।

पहिलो चरणमा अनुगमन गर्न आएका छौं । कुनै कुनै ठाउँमा अलि बढी खनेको गहिराइ बर्दिबास नगरपालिकाका उपमेयर तारादेवी महतोले पहिलो चरणमा ठेकेदारलाई सचेत गराएको बताइन् । उनले भनिन्, ‘आज सचेत गरेका छौं । मापदण्डअनुसार काम नभएर उत्खनन रोक्छौं । भएका कमी, कमजोरीलाई हामी सुधार गर्न तयार छौं ।’

यता बर्दिबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीले मापदण्डअनुसार खोला उत्खनन गर्न ठेकेदारलाई निर्देशन दिएको बताएका छन् । ‘खोला उत्खननको अनुगमन गर्दा कहीँ कतै मापदण्डभन्दा बढी उत्खनन गरिएको छ । ठेकेदारहरूले आफूले गरेको गल्तीको महसुस पनि गरेका छन्,’ उनले भने, ‘पहिलोपटकमा ठेकेदारहरूलाई सर्त गराएका छौं । अब मापदण्डभन्दा बाहिर गएर उत्खनन गरिएको पाइएमा कारबाही प्रक्रियामा जानेछौं ।’

अहिलेसम्म मापदण्ड मिचिएको देखिएन ? भन्ने प्रश्नमा उनले थपे, ‘एक दुई ठाउँमा देखिएको छ । हामीले सजग गराइसकेका छौं । पुल नजिकैबाट खन्न पाइँदैन । हामी यसतर्फ सचेत गराएका छौं ।’ जिल्ला अनुगमन समितिका सदस्यसमेत रहेका महोत्तरीका प्रमुख जिल्ला अधिकार लालबाबु कवाडीले मापदण्डविपरीत भएका कामलाई तत्काल रोक्ने बताएका छन् । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.