‘साइकल इज सोलुसन’ भन्दै सय वर्षको विरासत बोकेको प्यान्क बाइक

‘साइकल इज सोलुसन’ भन्दै सय वर्षको विरासत बोकेको प्यान्क बाइक

काठमाडौं : पछिल्लो समय साइकलप्रति जनचासो बढिरहेको छ। गरिब वा पैसा नहुनेले मात्रै चढ्ने भन्ने सोच परिवर्तन भइरहेको छ। स्वस्थ रहन पनि साइकल चढ्ने संख्या बढ्दै गएको छ। हेल्थ कन्सर्नले साइकलप्रति आकर्षण बढाएको छ। साइकलको प्रयोग वातावरणीय, आर्थिक पक्षसँगै नेपालको भौगोलिक बनावटमा पनि साइकल नै उपयुक्त साधन ठानिएको छ। बच्चालाई आत्मनिर्भर बनाउन तथा सामानको ओसारपसारका लागि पनि साइकल नै उपयुक्त माध्यम बन्दै गइरहेको छ। 

नेपालमा कतिले साइकल चलाउँछन् भन्ने तथ्यांक नभए पनि स्वास्थ्यका लागि साइकल चलाउने बढ्दै गएको निश्चित हो। 

खेल र स्वास्थ्यलाई जोडेर साइकलको प्रयोग बढिरहेको एक सय वर्षको विरासत बोकेको प्यान्क (पञ्च अष्टनारायण साइकल) बाइक प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत टिरेक मानन्धर बताउँछन्। सन् १९२५ बाट २०२५ सम्म आइपुग्दा प्यान्कले गरिबदेखि धनी तथा स्वास्थ्यदेखि पर्यटनसम्मका लागि साइकल बिक्री गर्दै आइरहेको छ। 

‘पञ्च अष्टनारायण साइकलबाट प्यान्कसम्म आइपुग्दा सकेसम्म साइकलको इकोसिस्टम बनाउन खोजेका छौं। त्यो भनेको साइकल बेच्ने मात्र नभएर त्यसको इकोसिस्टम भनेको साइकल बेच्ने, बनाउने, तालिम दिने, टुरका लागि साइकल भाडामा दिने, साइकल साट्ने, साइकललाई अपग्रेड गर्ने, कस्टमाइज गर्ने, एसेम्बल गर्ने, ब्रान्डेड बक्स प्याकलगायत सबै काम गर्दै आइरहेको छ। पछिल्लो समयमा प्यान्कले साइकलको कस्टमाइजेसन अर्थात् आफूअनुसारको सामानहरू जोडेर साइकल बनाउने काममा क्रान्ति नै ल्याएको छ,’ मानन्धर भन्छन्।

नेपालमा प्यान्कले बाहेक कस्टमाइजेसन साइकलमा अरूले गर्दैनन् भन्ने दाबी मानन्धरको छ। अरूले कि एसेम्बल गर्छन् कि ब्रान्डेड साइकल बेच्छन् भन्दै मानन्धरले बीचको खाडल पुर्ने काम अर्थात् आफूले चाहेको अनुसार सामान जोडेर साइकल बनाउने काम प्यान्कले मात्र गर्ने गरेको सुनाउँछन्। ‘हामीसँग बच्चाको छुट्टै श्रेणी, पार्टस्को छुट्टै श्रेणी, एसेसरिजको छुट्टै श्रेणी छ भने इलेक्ट्रिक कन्भर्जन किटको श्रेणी छ। साथै इलेक्ट्रिक मपेट, बाइकको पनि छुट्टै काम गर्दै आएको छ। सर्भिसेजमा हायर दिने मात्र नभई साइकलबाट जनचेतना फैलाउने, ¥याली गर्ने साइकल टु स्कुल र साइकल टु वर्क भनेर अभियानमा नेपाल साइकल सोसाइटी र साइकल सिटी नेटवर्कलगायतका संस्थासँग सहकार्य गर्दै आइरहेको छ, प्रमुख कार्यकारी मानन्धरको भनाइ छ। 

पेट्रोल तथा डिजेलबाट चल्ने दुईपाङ्ग्रे र चारपाङ्ग्रे गाडीहरू आर्थिक तथा वातावरणीय हिसाबले पनि टिकाउ हुन नसक्ने अवस्थामा साइकल उपयुक्त माध्यमको रूपमा विकास भइरहेको नकार्न सकिन्न। यसका साथै कार्यालय जाने÷आउने समयमा हुने जाम र भीडबाट बच्नका लागि पनि साइकलको प्रयोग उपयुक्त हुन्छ। पछिल्लो समयमा साइकलसँग कला (आर्ट) पनि जोडिएर आइरहेको छ। अर्को सबैभन्दा राम्रो अहिले विद्युतीय साइकल आएको छ। पेडल गर्दा पनि हुने र मोटरबाट पनि चल्ने गरी विद्युतीय साइकल बजारमा देख्न सकिन्छ। 

अहिले स्वास्थ्यका लागि डाँडाकाँडा जाने एड्भेन्चर साइकलको बिक्री बढेको मानन्धरको भनाइ छ। दोस्रो भनेको विदेशीहरूले टे«किङ गन्तव्यसँगै साइकिलिङ गन्तव्य भनेर साइकल चलाउने प्रवृत्ति सुरु भएको छ। यसमा नेपाली पर्यटकहरू पनि छन्। पारिवारिक रूपमा नै साइकिलिङ गर्दै बिदाको समय बिताउने चलन नेपालमा पनि सुरु भएको छ। विस्तारै नेपालमा साइकल संस्कृतिको रूपमा विकास भइरहेको छ। 

कोभिडपछि विकसित देशहहरूमा पनि साइकल अवधारणा फेरि सुरु भएको हो। महामारीको समयमा एकअर्काबाट दूरी बनाउने पर्ने अवस्था थियो। साइकलबाट आवातजावात प्रत्येक व्यक्तिका लागि सुरक्षित हुने भयो। त्यो समयमा ९ सय प्रतिशत बढीले साइकलको बिक्री बढेको थियो।

साइकलको ७ वटा लेबल हुन्छ। सहरमा चलाउने लेबल १, अफ रोडमा चलाउने लेबल २, डाँडाकाँडा जाने लेबल ३, डाँडा गएर झर्ने लेबल ४, डाँडाकाँडा गएर दु्रत गतिमा झर्ने लेबल ५, डाँडाकाँडा गएर जम्प हान्ने लेबल ६ र झर्ने मात्रै लेबल ७ छन्। त्यो सबै लेबलका साइकल प्यान्कले कारोबार गर्दै आइरहेको छ। ‘हामीले ब्रान्डेड, एसेम्बल र कस्टम ३ वटै कारोबार गर्छौं। त्यसमा पनि रिफर्बिस (सेकेन्ड ह्यान्ड साइकललाई सबै सामान नयाँ फेर्ने) र सेकेन्ड ह्यान्ड साइकललाई बिग्रिएको मात्र बनाउने गरी रिकन्डिसन गरिन्छ। प्यान्क बाइकले पुरानो साइकल एक्सचेन्ज गरी नयाँ पनि दिँदै आएको छ। हामीसँग १५ हजारदेखि २० लाखसम्म मूल्यका साइकल बिक्री हुँदै आइरहेको छ,’ उनी भन्छन्। 

प्यान्कले अहिले विदेशी ट्रिंक्स, स्कट, पोलिगन, जाइन्टलगायत ब्रान्डका साइकल बिक्री गर्दै आइरहेको छ। कस्माइज गरेर प्यान्क ब्रान्ड पनि यहाँ बेचिन्छ। टिरेनका हजुरबुवा अष्टनारायण मानन्धरले कलकत्ताबाट फिलिप्स र रिली ब्रान्डका ६ वटा साइकल खरिद गरी सुरु गरेको यो साइकल पसल अहिले यसका सौखिनहरूका लागि परिचित नाम बनेको छ। 

असनमा पञ्चनारायण (जिजु हजुरबुवा) लाई नभनी भएको तरकारी पसल उठाएर हजुरबुवाले ६ वटा साइकल प्रदर्शनमा राखेको नाति टिरेक सुनाउँछन्। सुरुमा छोराको यो साइकल मोह र व्यापार गर्ने उद्देश्य देखेर पञ्चनारायण रिसाए पनि, तर पछि अष्टनारायणले सम्झाइ–बुझाइ गरे। ती ६ साइकल बेच्न त्यतिबेला ६ महिनादेखि एक वर्षसम्मको समय लाग्यो। त्यो समयमा एउटा साइकलको दाम २० रुपैयाँ थियो। त्यती रकमले त्यसबेला जग्गा नै आउँथ्यो। ‘बाजेले साइकल व्यवसाय राजधानीमा मात्र सीमित राखेका थिएनन्। नेपालभरि सप्लाई गर्ने गरेका थिए। यसरी ६ वटा साइकलबाट सुरु भएको प्यान्क साइकल अहिलेसम्म सफलतापूर्वक सञ्चालन भइरहेको छ,’ टिरेक गर्वका साथ सुनाउँछन्। अहिले पनि असनको कमलाक्षीलाई नेपालकै पुरानो साइकल बजार भनेर चिनिन्छ। चौथो पिँढीमा आइपुगेको प्यान्क साइकलको एक शाखा जमल कान्तिपथमा रहेको छ। 

बाजेको यही विरासतलाई अघि बढाउने हेतुले टिरेकले सन् २००० मा मेकानिकल इन्जिनियरिङ सकेर यही पेसामा लागे। पहिलो लेभलमा मात्र केन्द्रित रहेको साइकलको व्यापारलाई उनले साइकलको दोस्रो लेभललाई बजारमा चिनाउन थाले। अहिले सबै लेभलका साइकल बिक्री गर्दै साइकलको साम्राज्य खडा गर्न सफल भएका छन्। सन् २००० बाट अहिलेसम्म आइपुग्दा टिरेकले प्यान्कलाई पसलभन्दा पनि ब्रान्डको रूपमा स्थापित गर्न सफल भएका छन्। ‘मैले नै यो पेसा अँगाल्दा दैनिक प्रयोजनको लागि मात्र साधारण साइकल चलाइन्थ्यो भने अहिले साइकल यात्रा रमाइलो पनि हुने रहेछ, सस्तो हुने रहेछ, व्यायामसमेत हुने रहेछ र धेरै ठाउँ पुग्न सकिने रहेछ भन्ने मानिसहरूले बुझ्न थालेका छन्,’ टिरेक भन्छन्।

सुरुका दिनमा साइकल सजिलो साधनको रूपमा यसको प्रयोग बढे पनि ९० को दशकमा सरकारको उदारीकणको नीतिसँगै बाइक तथा गाडी भित्रिन थाले। यसले साइकलको व्यापार खस्कियो। टिरेकका बुवा तथा काकाले अब पसल बेच्नुपर्ने भयो भन्नेसम्मको अवस्था सिर्जना भएको उनी भन्छन्। विस्तारै साइकलहरूको लेभल थप्दै जाँदा यसको व्यापार बढ्दै गयो। 

अहिले मानिसहरूले दैनिक रूपमा कुदाउन साइकल उपयुक्त रहेको बुझ्न थालेका छन्। दैनिक जीवनसँगै कर्पोरेट लेभलमा समेत प्यान्कले साइकलको महŒवको बारेमा जानकारी दिने काम सुरु गरेको उनी बताउँछन्। साइकल संस्कृति सुरु हुँदै जाँदा साइकल यात्रा सुरक्षित बन्नुपर्ने हुन्छ। यसका लागि नियम, कानुनको पालनासँगै सडकमा पनि साइकलको छुट्टै लेन बनाउन आवश्यक भएको टिरेकको भनाइ छ। साइकल संस्कृति हरेक किसिमले हाम्रा लागि सही भएकोले यसको विस्तारमा सबैले सहयोग गर्नुपर्नेमा उनी जोड दिन्छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.