नेजाको नवौं अधिवेशन लसभेगसमा हुने

अमेरिका : नेपाल अमेरिका पत्रकार संघ (नेजा) को नवौं अधिवेशन तथा १८औं साधारण सभा संयुक्त राज्य अमेरिकाको नेभाडा राज्यस्थित लसभेगस सहरमा हुने भएको छ । नेजा कार्यसमितिको जनवरी २५, २०२५ मा बसेको २०औं बैठकले नेजाको नवौं अधिवेशन यही मे १० र ११, २०२५ मा गर्ने निर्णय गरेको हो ।
बैठकले अधिवेशन व्यवस्थापनका लागि नेजाका पश्चिम क्षेत्रीय संयोजक रोशन अधिकारीको संयोजकत्वमा नेजा कार्यसमिति सदस्यद्वय हेमराज बराल र ईश्वरी न्यौपाने सदस्य रहेको व्यवस्थापन समिति गठन गरेको छ ।
बैठकले व्यवस्थापन समितिलाई अधिवेशन व्यवस्थित र सफल बनाउन सबैलाई आ-आफ्नो तर्फबाट आवश्यक सहयोग गर्न अनुरोध समेत गरेको छ ।
साथै,पश्चिम क्षेत्रमै रहेका नेजाका कोषाध्यक्ष जानु पङ्गेनीलाई अधिवेशनलक्षित आर्थिक समितिको समेत जिम्मेवारी दिने निर्णय गरेको छ । यसैगरी,अधिवेशनमा भाग लिनका लागि अधिवेशन हुने मितिको ३ महिनाअगाडि नै नयाँ सदस्यता एवं सदस्यता नवीकरण गरिसक्नुपर्ने व्यवस्था अनुसार नेजाको नयाँ सदस्यता एवं सदस्यता नवीकरण गर्ने मिति यही फेब्रुअरी १०,२०२५ सम्म तोकेको छ।
सम्बन्धित सबैलाई समयभित्रै सदस्यता एवं नयाँ सदस्यता नवीकरण गर्न नेजाले अनुरोध समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस !
