अमेरिकाको दुई शहरमा महावाणिज्यदूतावास कार्यालय खुल्दै, डलासमा खोल्ने एसियाको पहिलो राष्ट्र नेपाल

अमेरिकाको दुई शहरमा महावाणिज्यदूतावास कार्यालय खुल्दै, डलासमा खोल्ने एसियाको पहिलो राष्ट्र नेपाल

अमेरिका : नेपाल सरकारले छिट्टै अमेरिकाको दुई शहरमा महावाणिज्यदूतावासको कार्यालय सञ्चालनमा ल्याउने भएको छ। यसअघि नै सरकारले अमेरिकाको टेक्सस राज्यको डलास र क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्कोमा महावाणिज्यदूतावासको कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो। 

यसैगरी न्यूयोर्कमा रहेको महावाणिज्यदूतावासको कार्यालयमा उपसचिवको नेतृत्व रहँदै आएकोमा अबदेखि सहसचिवको नेतृत्वमा महावाणिज्यदूतावासको कार्यालय सञ्चालन हुने गरी स्तरोन्नती गर्ने निर्णय सरकारले गरेको थियो। सरकारले अमेरिकाको थप दुई स्थान र संयुक्त अरब ईमिरेट्सको दुबईमा महावाणिज्यदूतावासको कार्यालय खोल्ने निर्णय गरेको थियो। नयाँ खुल्ने महावाणिज्यदूतावासमा उपसचिवको नेतृत्व रहने बुझिएको छ। साथै सरकारले न्यूयोर्कमा रहेको महावाणिज्यदूतावाससँगै साउदी अरेबियाको जेद्दामा रहेको महावाणिज्यदूतावासलाई समेत स्तरोन्नती गर्ने निर्णय गरेको थियो। 

सरकारको निर्णय अनुरुप त्यसको कार्यान्वयनका लागि परराष्ट्र मन्त्रालयले आन्तरिक तयारी अघि बढाइसकेको जनाएको छ। ‘महावाणिज्यदूतावास खोल्नका लागि तयारी तीव्र भैरहेको छ।’ परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्ण प्रसाद ढकालले टेलिफोन सम्पर्कमा अन्नपूर्णसँग भने,‘घोषणा गरिएका सबै शहरहरुमा महावाणिज्यदूतावास खोल्नका लागि काम भइरहेको छ।’ 

नयाँ स्थापना हुने र स्तरोन्नती गरिने सबै महावाणिज्यदूतावासको सन्दर्भमा परराष्ट्र मन्त्रालयले काम अघि बढाएको प्रवक्ता ढकालले जानकारी दिए। परराष्ट्रले यसका लागि आवश्यक पर्ने कर्मचारीको प्रबन्ध गर्न कर्मचारीको संख्या बढाउनेदेखि आन्तरिक बढुवाको कार्यलाई अघि बढाएको स्रोतले जानकारी दिएको छ। परराष्ट्रलाई अक्टुबर ७ मा विभिन्न पदका १ सय ७ जनाको स्थायी दरबन्दी खोल्नको लागि मन्त्रिपरिषद्ले स्वीकृति दिएको थियो। संयुक्त अरब ईमिरेट्सले दुबईमा नेपालको महावाणिज्यदूतावासको कार्यालय खोल्न अनुमती दिइसकेको छ भने अमेरिकाको दुई शहरमा महावाणिज्यदूतावास खोल्नका लागि परराष्ट्र मन्त्रालयले अमेरिकाको अनुमति पर्खिरहेको छ।

अमेरिकाबाट अनुमति छिट्टै प्राप्त हुने अपेक्षा गर्दै अनुमति पाएलगत्तै परराष्ट्रको टोलीले टेक्ससको डलास र क्यालिफोर्नियाको सानफ्रान्सिस्कोको भ्रमण गरी महावाणिज्यदूतावासको लागि आवश्यक प्रक्रिया अघि बढाउने परराष्ट्र स्रोतले जानकारी दिएको छ। टेक्सासमा नेपालीको संख्या उल्लेख्य रहेको छ भने टेक्सासमा महावाणिज्यदूतावास खोल्दा धेरै सेवाग्राहीले लाभ लिन सक्नेछन्। अर्को अमेरिकाको पश्चिम क्षेत्रभित्र पर्ने क्यालिफोर्नियामा पनि नेपालीको उपस्थिति बाक्लो छ, त्यहाँ महावाणिज्यदूतावास स्थापनाले क्यालिफोर्निया आसपासका राज्यमा बस्ने नेपाली समेत लाभान्वित हुनेछन्। थप ३ स्थानमा महावाणिज्यदूतावास खुले नेपालको कुल १० वटा महावाणिज्यदूतावास हुनेछ। 

नेपालको चीनमा तीन वटा, भारतमा एक वटा,हङकङमा एक वटा,साउदी अरबको जेद्दामा एक वटा र अमेरिकाको न्यूयोर्कमा एक वटा महावाणिज्यदूतावास रहेको छ। लामो समयदेखि अमेरिकामा रहेका गैर आवासीय नेपालीहरुले क्यालिफोर्निया र टेक्ससमा महावाणिज्यदूतावासको माग गर्दै आएका थिए। अमेरिकाको टेक्ससमा नेपालको महावाणिज्यदूतावास खुलेको खण्डमा टेक्ससको डलासमा महावाणिज्यदूतावास खोल्ने एसियाको नेपाल पहिलो देश बन्नेछ। 

टेक्ससको डलासमा क्यानडा, मेक्सिको, इक्येडर,पेरु, ईटली,डेनमार्क,बेल्जियम, विलिज,एल साल्भाडोर, कोस्टारिका र होन्डुरसको महावाणिज्यदूतावास डलासमा रहेको छ भने फ्रान्स,स्वीडेन, स्वीजरल्याण्ड र बोलिभियाको वाणिज्यदूतावास रहेको छ। जापान,चिली, रोमानिया,नेदरल्याण्ड,माल्टा आईसल्याण्ड र फिनल्याण्ड मानार्थ वाणिज्यदूतावास राखेर काम गरिरहेका छन्। अन्य एसियाली तथा दक्षिण एसियाली देशहरु जसको महावाणिज्यदूतावास टेक्ससमा छ, अधिकांशले ह्युष्टन शहरमा महावाणिज्यदूतावास कार्यालय खोलेका छन्।

चीन तथा दक्षिण एसियाली मुलुकहरू भारत, पाकिस्तान र बंगलादेशले टेक्ससको ह्युष्टनमा महावाणिज्यदूतावास राखेका छन्। ह्युष्टनमा ५१ देशका महावाणिज्यदूतावास कार्यालय रहेको छ। टेक्ससको राजधानी अस्टिनमा भने ३ वटा देशले मात्र महावाणिज्यदूतावास राखेका छन्। टेक्ससको विभिन्न शहरमा गरी ९८ वटा देशको महावाणिज्यदूतावास रहेको छ। यस्तै, क्यालिफोर्नियाको सानफ्रान्सिस्कोमा भने ४० वटा देशको ४१ वटा महावाणिज्यदूतावासको कार्यालय रहेको छ। मेक्सिकोले सानफ्रान्सिस्को र सानफ्रान्सिस्को नजिक सानजोशेमा महावाणिज्यदूतावासको कार्यालय राखेको छ। 

भारत र चीनको महावाणिज्यदूतावास समेत सानफ्रान्सिस्कोमा रहेको छ। यस बाहेक अष्ट्रेलिया,ब्राजिल,क्यानडा,चिली, कोलम्बिया, डेनमार्क, एलसाल्भाडोर, ईस्टोनिया, फ्रान्स, जर्जिया,जर्मनी, ग्रिस,ग्वाटेमाला,होन्डुरस, ईन्डोनेसिया,आयरल्याण्ड,ईजरायल,ईटली,जापान,काजगिस्तान, लक्जेम्बर्ग,मंगोलिया, नेदरल्याण्ड, नर्वे,पेरु, फिलिपिन्स,पोर्चुगल,सिंगापुर, दक्षिण कोरिया,स्पेन,स्वीडेन, स्वीजरल्याण्ड,टोंगा,युक्रने, बेलायत,उरुग्वे र भियतनामको महावाणिज्यदूतावास सानफ्रान्सिस्कोमा रहेको छ। चीनको क्यालिफोर्नियाकै अर्को शहर लसएन्जल्समा पनि महावाणिज्यदूतावास रहेको छ, लसएन्जल्समा दक्षिण एसियाली देश पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानको समेत महावाणिज्यदूतावास रहेको छ।

लसएन्जल्समा ६० देशका महावाणिज्यदूतावासको कार्यालय रहेको छ। अमेरिकाका विभिन्न राज्य र शहरमा गरी भारतको पाँच वटा, चीनको पाँच वटा,पाकिस्तानको चार वटा, बंगलादेशको चार वटा, अफगानिस्तानको दुईवटा र श्रीलंकाको एक वटा महावाणिज्यदूतावास रहेको छ। माल्दिभ्सको भने महावाणिज्यदूतावास छैन, भुटानको दूतावास समेत छैन भने दक्षिण एसियाका अन्य देशहरुको दूतावास वासिङ्टन डिसीमा रहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.