मामाघर आएकी १४ वर्षीया चाँदनीको हत्या, गाडेको अवस्थामा भेटियो शव

विराटनगर : चाँदनी यादव बाबुआमासँगै करिब १ महिनाअघि विराटनगर महानगरपालिका-५ विशालचोकको कलेर्वा टोलस्थित मामा घर आइन्। १४ वर्षीया चाँदनीको घर भारत बिहारको छपरा जिल्लामा पर्छ। बाबुआमा पनि निक्कै दिन उनीसँगै मामा घरमा बसे। अनि चाँदनीलाई नलिइकन बाबु लालमोहन यादव र आमा राजकुमारी मण्डल यादव भारतस्थित घर फर्किए। तर, चाँदनी मामाघरमा पनि देखिइनन्। एकाएक बेपत्ता भइन्।
बाबुआमा मात्रै फर्किएको देखेका छिमेकीले चाँदनीलाई मामाघरमा नदेखेको निक्कै दिन भइसकेको थियो। बालिका हराएको हल्ला गाइँगुइँ चल्न थाल्यो। त्यसअघि पनि मामाघर आइरहने उनलाई छरछिमेकीले राम्ररी चिन्दथे। चाँदनीलाई नलिइकन बाबुआमा मात्रै घर फर्किएको र उनी पनि मामाघरमा नदेखिएपछि स्थानीयले शंका गरे।
दुई पक्षको कुरा बाझिएपछि घटना झन् शंकास्पद बन्यो। जोशीका अनुसार थप सोधुपछ गर्दै गएपछि बाबुआमाले छोरी आफूहरूसँगै रहेको भनेर कुरा फेर्न थाले। ‘आमाले त मेरो छोरीका बारेमा तपाईंहरूलाई किन चासो पर्योसमेत भनिन्। हजुरबुबा सरजुग निर्धक्कसाथ बोल्छन्। केही थाहा नपाएजस्तो व्यवहार देखाउँछन्,’ उनले भने।
मामली हजुरबुबा र बाबुआमाको कुरा बाझिएपछि त्यतिबेलै प्रहरी घटना शंकास्पद रहेको निष्कर्षमा पुगिसकेको थियो। ‘मामाघर वरपर थप खोजी सुरु गरियो। घरदेखि १ सय २५ फिट दक्षिणतर्फको आँप र अम्बाको रुखमात्रै भएको जमिनमा केही समयअघि मात्रै खनेजस्तो देखिने आलो माटो भेटियो। वरपर तोरीको गट्टे (दाना झारिसकिएको तोरीको बोट)ले छोपिएको थियो,’ डीएसपी जोशीले भने।
त्यो ठाउँमा उत्खनन गर्दा खाल्डोभित्र चाँदनीको शव फेला परेको जानकारी उनले दिए। भने, ‘भर्खरै खनेको खाल्डो देखियो। जुन खाल्डोलाई माटोले पुरेर माथिबाट आलो गोबर थुपारिएको रहेछ। त्यसलाई तोरीको गट्टेले छोपिएको थियो। सबै हटाएर हेर्दा बालिकाको शव भेटियो।’
हत्या गरी ४ फिट गहिरो खाल्डो खनेर गाडेको अवस्थामा शव भेटिएको जानकारी जोशीले दिए। खाल्डोमा घोप्टो पारेर सुताएको कपडासहितको शव सडेर दुर्गन्धित भइसकेको अवस्थामा फेला परेको थियो। उत्खनन गर्दै प्रहरीले खाल्डोबाट निकालेर पोस्टमार्टमका लागि कोशी अस्पताल लगेको छ। ‘चाँदनीको हत्या नै भएको हो। कहिले, कसरी र को-को मिलेर गरेका हुन् भन्नेचाहिँ यकिन भइसकेको छैन। विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौं,’ डीएसपी जोशीले भने।
प्रहरी स्रोतका अनुसार मामली हजुरबुबा र उनका परिवार तथा बालिकाकै बाबुआमाको मिलेमतोमा हत्या भएको हुनसक्छ। प्रहरीले सोधीखोजी गर्दा वास्तै नगर्नुले बाबुआमाको भूमिका शंकास्पद देखिएको प्रहरीले जनायो। यद्यपि, अनुसन्धानपछि सबै यकिन हुने जोशीले बताए।
‘हत्या गरेर गाडेको शव भेटिए पनि बाबुआमा, मामली हजुरबुबासहित परिवारका सदस्यले शंकास्पद व्यवहार देखाइरहेका छन्। कसैको पनि कुरा मिल्दैन। एकअर्कामा बाझिन्छ। सुरुमा पनि कुरा नमिलेकाले नै थप खोजी गर्दा शव भेटिएको थियो,’ उनले भने। उनका अनुसार घटनाको प्रकृति हेर्दा हत्या १०/१२ दिनअघि नै भएजस्तो देखिन्छ।
घटनापछि चाँदनीका मामली हजुरबुवा अन्दाजी ५७ वर्षीय सरजुग मण्डल, उनकी पत्नी जानकी मण्डल, सरजुगका भाइ पर्ने बतासी मण्डल, रामबाबु मण्डल, छोरी उर्मिला मण्डल, नातिनी अञ्जली मण्डल र नाति बबिदेवल मण्डललगायत ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बतासीबाहेक अरु सबै जना एउटै घरमा बस्थे। बतासीको घर भने सरजुगको नजिकै छ।
उर्मिला सरजुगकी जेठी छोरी एवं मृतक चाँदनकी ठूलीआमा हुन्। अञ्जली उर्मिलाकी छोरी तथा बबिदेवल छोरा हुन्। उर्मिलाको पतिको यसअघि नै निधन भएको थियो। त्यसपछि उनी छोराछोरीसहित माइतीमै आएर बस्न थालेको पाइएको प्रहरीले जनाएको छ। रामबाबु चाँदनीका मामा एवं सरजुगका छोरा हुन्। मृतक चाँदनीकी आमा राजकुमारी सरजुगकी माइली छोरी हुन्। राजकुमारीका २ छोरा र १ छोरी थिए।
आफन्तले प्रहरीलाई दिएको जानकारी अनुसार हत्या गरिएकी चाँदनीको भारतमै एक व्यक्तिसँग प्रेम सम्बन्ध थियो। ती व्यक्तिसँग छुटाउन उनलाई बाबुआमाले मामाघर ल्याएको जानकारी प्रहरीले पाएको छ। मामाघर ल्याउनुको उद्देश्य झारफुक पनि थियो। चाँदनीका मामली हजुरबुबा सरजुग गाउँमा धामीझाँक्रीको काम गर्छन्।
‘चाँदनीलाई प्रेम सम्बन्धमा रहेका व्यक्तिबाट छुटाउन मामाघर ल्याउने र धामी लगाउने योजना रहेछ। योजना अनुसार नै बाबुआमाले मामाघर लिएर आएका रहेछन्,’ प्रहरी स्रोतले भन्यो, ‘बाबुआमा पनि निक्कै दिन बसेर घर फर्किएको पाइयो। तर, मामाघरमै हत्या गरेर गाडेको अवस्थामा चाँदनीको शव भेटियो।’
मृतक बालिकाका दाजु बबिदेवल मण्डल (ठूलीआमाको छोरा)का अनुसार चाँदनी १ महिनाअघि मामा घर आएकी थिइन्। उनी भने १ साताअघि सालोको बिहेका लागि ससुराली घर गएका थिए। दुई दिनअघि फर्किएर आफूले बहिनीका बारेमा सोधीखोजी गरेको उनी बताउँछन्। ‘बहिनी कहाँ गयो? भनेर सोध्दा, उसकै घर गयो भन्ने जवाफ मलाई दिए। घर गएको होला भनेर मैले खासै वास्ता गरिन्। आफ्नो काम गर्न थालें,’ बबिदेवल भन्छन्, ‘उहाँ (भारतमा) एउटा केटासँग ‘लभ’ चल्दैथियो। छुटाउनका लागि यता ल्याइएको हो। अहिले हत्या गरेर गाडेको अवस्थामा शव भेटियो।’ शुक्रबार बिहान प्रहरी पुगेपछि बाहिर रहेका उनी काम छाडेर घर फर्किएका थिए।
‘प्रहरीले यस्तो अवस्थामा शव भेट्यो। सबै आफन्त नै छन्। को माथि शंका गर्नु ?,’ उनले प्रश्न गरे। बबिदेवल आमा उर्मिला र बहिनी अञ्जलीसँग मामाघरमा बस्दै आएका थिए। तर, घटना अनुसन्धानका क्रममा प्रहरीले उनलाई पनि नियन्त्रणमा लिइसकेको छ। छिमेकी रामकुमार यादवले बालिकाका बाबुआमा घर फर्किएपनि छोरी नलिइ गएकाले घटना शंकास्पद रहेको बताए। ‘बाबुआमा घर फर्किए। तर, बच्चालाई लगेनन्। बालिका हराएको हल्ला गाउँमा ४-५ दिनदेखि चलिरहेको थियो। बाहिर कसैले भनेका थिएनन्। तर, एक्कासि प्रहरी आएर खाल्डोबाट शव निकाल्यो,’ उनले भने। यादव मामाघरबाटै यतिसम्मको क्रूर अपराध हुन्छजस्तो नलागेको बताउँछन्।
प्रतिक्रिया दिनुहोस !
