ट्रम्प–जेलेन्स्की वार्ता, कूटनीतिक मर्यादाको मजाक

ट्रम्प–जेलेन्स्की वार्ता, कूटनीतिक मर्यादाको मजाक

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की बीचको वार्तालाई विश्वले निकै चासो दिएको थियो। यसले रूस–युक्रेन युद्ध अन्त्यको निकास निकाल्ने अपेक्षा थियो। अमेरिकी सञ्चारमाध्यमको उपस्थितिमा वार्ता भएको थियो। 

तर, धेरैको आकलनविपरीत ट्रम्प–जेलेन्स्की वार्ता भयो। चर्काचर्कीपूर्ण बहसमा परिणत भएपछि दुनियाँभरका मिडिया र सामाजिक सञ्जालमा दुई नेताबीचको वार्ता भाइरल बन्यो। यसले विश्वका नेतालाई मात्र नभई सामान्य जनमानसलाई समेत तरंगित बनायो।  अमेरिकी राष्ट्रपति ट्रम्पले जेलेन्स्कीलाई या त सम्झौता गर्नुस् या हाइटहाउस छोड्नुस् भन्ने धम्कीपूर्ण अभिव्यक्तिको कडा आलोचना पनि भयो। 

वार्ताका क्रममा ट्रम्पले जेलेन्स्कीप्रति सामान्य शिष्टाचार शैलीसमेत नअपनाएको र उनीप्रति छुद्र व्यवहार गरिएको भन्दै युरोपले असन्तुष्टि जनाएको छ। युरोपका प्रायः राष्ट्रका राष्ट्रप्रमुखले युक्रेनमाथिको समर्थन जारी रहने घोषणा गरेका छन्। ट्रम्पले बहसका क्रममा जेलेन्स्कीले शान्ति नचाहेको आरोप लगाए। यदि उनले सम्झौता गरेनन् भने अमेरिका  युद्धबाट बाहिरिने चेतावनी पनि दिए। युक्रेनले रूससँग युद्ध जित्न नसक्ने दाबी गर्दै ट्रम्पले जेलेन्स्कीले तेस्रो विश्वयुद्धको जोखिम निम्त्याइरहेको जनाए। ट्रम्पले जेलेन्स्कीलाई अमेरिका र अमेरिकी जनताको अनादर गरेको आरोप पनि लगाए। 

कसले के भने वार्तामा ?

ट्रम्पले जेलेन्स्कीलाई भने, ‘तपाईं अहिले त्यति राम्रो अवस्थामा हुनुहुन्न। तपाईंले आफूलाई धेरै कठिन परिस्थितिमा पार्नुभएको छ। तपाईंसँग अझै बाजी लगाउन केही छैन। तपाईं उक्त परिस्थितिसँग बहस गर्न सक्नुहुन्न।’

जेलेन्स्कीले जवाफ दिए, ‘म कुनै बाजी लगाइरहेको छैन।’ जेलेन्स्कीको कुरा नसकिँदै अझै चर्को स्वरमा ट्रम्पले भने, ‘तपाईं लाखौं मानिसको जीवनलाई दाउमा लगाइरहनुभएको छ। तेस्रो विश्वयुद्धको जोखिम निम्त्याइ रहनुभएको छ।’ जेलेन्स्कीले अमेरिकी उपराष्ट्रपति जेडी भान्सलाई सोधे, ‘तपाईं कस्तो प्रकारको कूटनीतिको कुरा गर्दै हुनुहुन्छ ?’ जवाफमा भान्सले भने, ‘म यस्तो कूटनीतिको बारेमा कुरा गर्दै छु जसले तपाईंको देशमा भइरहेको विनाशलाई रोक्न सक्छ।’ भान्सले पनि जेलेन्स्कीलाई सोधे, ‘के तपाईंले बैठकको क्रममा एक पटक पनि धन्यवाद भन्नुभयो ?’ जेलेन्स्कीले जवाफ दिँदै आफूले धेरैपटक धन्यवाद भनेको बताए।

यसैबीच भान्सले भने, ‘यस युद्धमा युक्रेनले जनशक्ति समस्याको सामना गरिरहेको छ। राष्ट्रपति जेलेन्स्की  ओभल अफिसमा आएर तपाईंले मिडिया सामुन्ने गरिरहनुभएको बहसको तरिका अपमानजनक छ।’ 

जेलेन्स्कीले भने, ‘के तपाईं कहिल्यै युक्रेन आउनुभएको छ ?  एकचोटि आउनुहोस् अनि थाहा पाउनुहुनेछ कि हामीले कस्ता समस्याहरूको सामना गरिरहेका छौं।’

यसै क्रममा भान्सले भने, ‘मैले कथाहरू देखेको छु। तपाईंसँग सेनामा भर्ती हुने मानिस छैनन् र तपाईं ओभल अफिसमा आएर युद्ध रोक्न खोजिरहेको अमेरिकी प्रशासनमाथि आक्रमण गर्नुहुन्छ।’ 

जेलेन्स्कीले जवाफ फर्काए, ‘युद्धमा सबैले कठिनाइहरूको सामना गर्नुपर्छ। तपाईंहरूले अहिले यो महसुस गर्नुहुँदैन, तर भविष्यमा गर्नुहुनेछ।’ जेलेन्स्कीको अभिव्यक्तिप्रति आक्रोशित हुँदै ट्रम्पले भने, ‘के महसुस गरिनेछ र के गरिने छैन भनेर तपाईंले हामीलाई भन्ने होइन।’ 

फेरि जेलेन्स्कीले भान्सलाई भने, ‘तपाईं ठूलो स्वरमा बोलिरहनु भएको छ।’ त्यसपछि ट्रम्पले बीचमा रोक्दै भने, ‘होइन, भान्स ठूलो स्वरमा बोलिरहनुभएको छैन।’ ह्वाइट हाउसका एक अधिकारीले सीएनएनलाई बताएअनुसार चर्को बहस पछि जेलेन्स्की र ट्रम्प छुट्टाछुट्टै कोठामा गए। त्यसपछि ट्रम्पले युक्रेनी प्रतिनिधिमण्डललाई देश छोड्न भने। युक्रेनी प्रतिनिधिमण्डलले त्यसको विरोध जनाउँदै वार्ता जारी राख्न चाहेको बताए। तर, ट्रम्पले त्यसलाई अस्वीकार गरे। ट्रम्प र जेलेन्स्कीबीचको बहसको क्रममा दुवै नेतानजिकै बसिरहेकी अमेरिकाका लागि युक्रेनकी राजदूत ओक्साना मार्कारोभा अत्यन्तै तनावमा देखिन्थिन्। 

दुई देशबीच बहुमूल्य खनिजहरूको सम्झौता गर्न जेलेन्स्की अमेरिकाको भ्रमणमा गएका थिए। तर, ट्रम्प र उनीबीचको चर्को बहसपछि सम्झौता असफल भएको छ। बैठकपछि तय भएको पत्रकार सम्मेलन पनि रद्द गरियो र जेलेन्स्की ह्वाइट हाउसबाट बाहिरिए। 

सामाजिक सञ्जालमा ट्रम्प र जेलेन्स्कीको प्रतिक्रिया

बैठकपछि ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोशलमा एउटा पोस्ट सेयर गर्दै भने, ‘हामीबीच आज हाइटहाउसमा निकै अर्थपूर्ण भेटघाट भयो। भेटघाटको क्रममा धेरै कुराहरू सामुन्ने आए। तर, राष्ट्रपति जेलेन्स्की शान्तिका लागि तयार छैनन् किनभने अमेरिका यसमा संलग्न छ। वार्तामा हाम्रो संलग्नताले हामीलाई ठूलो फाइदा पुर्‍याउने उनी महसुस गर्छन्। मलाई कुनै फाइदा चाहिँदैन, म केवल शान्ति चाहन्छु। उनले संयुक्त अधिराज्य अमेरिकाको सम्मानित ओभल अफिसको अनादर गरे। उनी शान्ति चाहन्छन् भने यहाँ फर्केर आउन सक्छन्।’

यो घटनापछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पनि सामाजिक सञ्जाल एम्समा पोस्ट गर्दै युक्रेनले शान्ति चाहेको बताएका छन्। उनले लेखेका छन्, ‘धन्यवाद अमेरिका, समर्थनका लागि धन्यवाद। यस भ्रमणका लागि धन्यवाद। अमेरिकी राष्ट्रपति, कंग्रेस र अमेरिकी जनतालाई धन्यवाद। युक्रेन केवल शान्ति चाहन्छ र हामी त्यसैका लागि काम गरिरहेका छौं।’

उनले अमेरिकी टिभी च्यानल फक्स न्यूजलाई एक अन्तर्वार्ता दिँदै विश्व मिडियाको सामू ओभल अफिसमा ‘जे भयो त्यो राम्रो नभएको’ प्रतिक्रिया दिए। यद्यपि, उक्त अन्तर्वार्तामा उनले ट्रम्पसँगको आफ्नो सम्बन्ध बचाउन सकिन्छ भन्नेमा पूर्ण विश्वस्त रहेको आशा पनि व्यक्त गरे।

युक्रेनले युद्ध नजित्ने ट्रम्पको दाबी

कुराकानीको क्रममा ट्रम्पले जेलेन्स्कीलाई भने कि युक्रेन अहिले ठूलो समस्यामा रहेकाले उनीहरूले रूससँग कहिले युद्ध जित्न सक्दैनन्। ट्रम्पले भने, ‘युक्रेन ठूलो समस्यामा छ। तपाईं युद्ध जित्न सक्नुहुन्न। तर, यदि तपाईं हाम्रो साथमा हुनुहुन्छ भने तपाईंलाई यसबाट बाहिर निस्कने अवसर छ।’

बैठकमा ट्रम्पले युद्धको समयमा युक्रेनलाई दिइएको सहयोगका बारेमा पनि चर्चा गरे। ट्रम्पले भने, ‘हामीले तपाईंहरूलाई ३५० अर्ब डलर दिएका छौं। हामीले सैन्य उपकरणहरू दिएका छौं। यदि हामीले सैन्य सहयोग नदिएको भए यो युद्ध दुई हप्तामा नै समाप्त हुने थियो।’ आफूले रूस र युक्रेनलाई सहमतिमा नल्याए उनीहरूबीच कहिल्यै पनि सम्झौता नहुने ट्रम्पले दाबी गरे। ‘तपाईं पुटिनलाई घृणा गर्नुहुन्छ। दोस्रो पक्षलाई पनि मन पर्ने त्यस्तो केही कुरा छैन। यदि तपाईं मलाई कडा होस् भन्ने चाहानुहुन्छ भने म संसारको अरू कुनै पनि व्यक्तिभन्दा कडा हुन सक्छु। तर, तपाईंले त्यसरी कुनै सम्झौता गर्न सक्नुहँुदैन,’ ट्रम्पले भने। 

युद्ध रोक्न चाहन्छन् जेलेन्स्की 

युद्धविराम हुन्छ भने युक्रेनले तुरुन्तै यसलाई स्वीकार गर्नुपर्ने ट्रम्पले जेलेन्स्कीलाई बताए। उनले भने, ‘यदि युद्धविरामको सम्भावना बन्यो भने युक्रेनले त्यसलाई तुरुन्तै स्विकार गर्नुपर्छ जसले गर्दा हाल भइरहेको गोलीबारी रोकियोस्।’ जेलेन्स्कीले  पनि आफूले युद्ध रोक्न चाहेको बताए। तर, जेलेन्स्कीलाई बीचैमा रोक्दै ट्रम्पले भने, ‘तपाईं युद्धविराम चाहिँदैन भन्दै हुनुहुन्छ।’ जवाफमा जेलेन्स्कीले भने, ‘हामीलाई ग्यारेन्टीसहितको युद्धविराम सम्झौता चाहिन्छ।’ युद्धविरामको बारेमा युक्रेनका जनता के चाहन्छन् भनेर उनीहरूलाई सोध्न पनि जेलेन्स्कीले ट्रम्पलाई आग्रह गरे।

एकअर्कामाथि आरोप प्रत्यारोप

एक अमेरिकी समाचार संस्थाका अनुसार वार्तापछि राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज र विदेशमन्त्री मार्को रुबियोले युक्रेनी प्रतिनिधिमण्डललाई हाइट हाउस छाड्न भनेका थिए। यसको केही बेरमै युक्रेनी राष्ट्रपति ह्वाइट हाउसबाट बाहिर निस्किएका थिए। 

हालै, अमेरिका र रूसका प्रतिनिधिहरूले रूस युक्रेनबीच चलिरहेको युद्ध अन्त्य गर्न वार्ता गरेका थिए। उक्त वार्तामा युक्रेनलाई समावेश गरिएको थिएन। त्यसपछि जेलेन्स्कीले ट्रम्पमाथि प्रश्न उठाउँदै ट्रम्प गलत सूचनाको बीचमा रहेको दाबी गरेका थिए। ट्रम्पले पनि पछिल्ला केही दिनमा धेरै पटक जेलेन्स्कीलाई निशाना बनाएका छन् र उनलाई ‘तानाशाह’ समेत भनेका छन्। रूस र युक्रेनबीच विगत तीन वर्षदेखि युद्ध चलिरहेको छ। 

शुक्रबार भएको बैठकमा राष्ट्रपति ट्रम्प र राष्ट्रपति जेलेन्स्कीबीच युक्रेनको दुर्लभ खनिज पदार्थको सम्बन्धमा सम्झौता हुने भनिएको थियो। तर, ट्रम्प र जेडी भान्ससँगको चर्को बहस पछि जेलेन्स्कीले अब उक्त सम्झौतामा हस्ताक्षर गर्लान् त भन्नेमा धेरै अडकलबाजी हुन थालेका छन्।  

सम्पूर्ण मुद्दाका विषयमा अमेरिकी विदेशमन्त्री रुबियोले सीएनएनलाई दिएका अन्तर्वार्तामा जेलेन्स्कीले माफी माग्नु पर्ने बताएका छन्। रुबियोले भने, ‘राष्ट्रपति ट्रम्पले धेरै महत्वपूर्ण सम्झौताहरू गरेका छन्। यदि तपाईं (जेलेन्स्की) यति धेरै आक्रामकताका साथ कुरा गर्नुहुन्छ भने तपाईंसँग कसले कुरा गर्ने छ ?    जेलेन्स्कीले शान्ति सम्झौताका बारेमा कुरा गर्नुहुन्छ तर यो सफल होस् भन्ने सम्भवतः चाहनुहुन्न।’ जेलेन्स्कीले माफी माग्न अस्वीकार गरेका छन्। 

फक्स न्यूजसँग कुरा गर्दै जेलेन्स्कीले भने, ‘मलाई लाग्दैन कि माफी माग्नु आवश्यक छ। राष्ट्रपति र अमेरिकी जनताप्रति मेरो ठूलो सम्मान छ। मलाई लाग्छ हामी इमानदार हुनुपर्छ र हाम्रा विचारहरूबारे खुला रूपमा राख्नुपर्छ। मलाई लाग्दैन कि मैले केही गल्ती गरेको छु।’ 

परिस्थिति सम्हाल्न नसकेकोमा आलोचित

अमेरिकी सञ्चारमाध्यमका अनुसार शुक्रबारको वार्तामा जति ट्रम्प जेलेन्स्कीमाथि रिसाएका थिए, यसअघि कहिल्यै कुनै अमेरिकी राष्ट्रपतिले पाहुनाप्रति त्यति आक्रामक व्यवहार गरेका थिएनन्। डोनाल्ड ट्रम्प दोस्रोपटक अमेरिकी राष्ट्रपतिको रूपमा हाइट हाउसमा आएपछि उनका पहिलो पाहुना बनेका थिए, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू। त्यतिबेला ट्रम्पले नेतान्याहूले चाहेका जति सबै बिषयमा उनीसँग छलफल गरेका थिए। तर, त्यसपछि, चाहे त्यो जोर्डनका राजा अब्दुल्लाह सेकेन्ड हुन् वा भारतीय प्रधानमन्त्री मोदी या फ्रान्सेली राष्ट्रपति म्याक्रोन हुन् वा बेलायती प्रधानमन्त्री केयर स्टारमर ट्रम्पले सबैसँग धेरै कडाइका साथ कुराकानी गरे। तर, विश्वका यी सबै नेताहरूले परिस्थितिलाई नाजुक हुनबाट जोगाएका थिए। तर, जेलेन्स्कीले त्यसो गर्न नसकेको भन्दै केही राजनीतिक विश्लेषकहरूले उनको आलोचना गरेका छन्। 

युरोपेली नेताहरूको ऐक्यबद्धता

अमेरिका र युक्रेनका राष्ट्रपतिबीच चर्काचर्की पर्‍यो र दुई देशबीच कथित सम्झौता हुन सकेन। उक्त सम्झौताले रूस र युक्रेनबीच युद्धविरामको बाटो खोल्ने विश्वास गरिएको थियो। तर, विवादसँगै टुंगिएको वार्ताले उक्त आशालाई झिनो बनाएपछि युरोपेली नेताहरूले भने जेलेन्स्कीप्रति समर्थन जनाउँदै युक्रेनप्रतिको आफ्नो ऐक्यबद्धता जनाएका छन्।  

अधिकांश युरोपेली देशका नेताहरूले युक्रेनलाई समर्थन गरेका छन् भने केही अमेरिकी सांसदहरूले पनि ट्रम्प र उपराष्ट्रपति भान्सलाई दोष लगाएका छन्। युरोपेली संघका अध्यक्ष उर्सुला भोन डेर लेयनले एक्समा पोष्ट गर्दै ‘तपाईंको मर्यादाले युक्रेनी जनताको बहादुरीको सम्मान गर्दछ। बलियो बन, साहसी बन, निडर बन’ भनेकी छन्। त्यसैगरी ब्लकका विदेश नीति प्रमुख काजा कालासले पनि ‘स्वतन्त्र संसारलाई नयाँ नेताको आवश्यकता छ’ भन्दै उनले ‘युक्रेन युरोप हो, हामी युक्रेनको साथमा छौं’ भनेर सामाजिक सञ्जालमा पोस्ट गरेकी छन्। युरोपेली संसदका अध्यक्ष रोबर्टा मेत्सोला र युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाले पनि जेलेन्स्कीको प्रशंसा गर्दै उनको गरिमाले युक्रेनी जनताको बहादुरीको सम्मान गरेको बताउँदै ‘तपाईं कहिले एक्लो हुनुहुन्न’ भनेका छन्। 

क्यानडाका प्रधानमन्त्री जस्टिन टुडोले सामाजिक सञ्जालमा लेखेका छन्, ‘रूसले युक्रेनमाथि गैरकानूनी र अन्यायपूर्ण ढंगमा आक्रमण गरेको छ। तीन वर्षदेखि युक्रेनले साहसका साथ प्रतिकार गरेको छ। लोकतन्त्र, स्वतन्त्रता र सार्वभौमिकताका लागि उनीहरूको लडाई सबैका लागि महत्वपूर्ण लडाइँ हो।’ ट्रुडोले क्यानडाले युक्रेनमाथिको आफ्नो समर्थन जारी राख्ने पनि बताए। 

समाचार एजेन्सी रोयटर्सका अनुसार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले रूसले युक्रेनका जनतामाथि आक्रमण गरेको बताएका छन्। ट्रम्प र जेलेन्स्कीबीचको बहसको  बारेमा प्रतिक्रिया दिँदै भने, ‘हामीले सुरुदेखि नै लडिरहेकाहरूलाई सम्मान गर्नुपर्छ। तीन वर्षअघि सुरु भएको रूसी आक्रमणको समयमा युक्रेनलाई सहयोग गरेर हामीले सही काम गरेका थियौं र त्यो गरिरहनेछौं। हामी अर्थात् अमेरिका, युरोपेली देशहरू, क्यानेडियनहरू र जापानीहरू, सबैले युक्रेनलाई सहयोग गरिरहेका छौं।’

पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भनेका छन्, ‘युक्रेनी साथीहरू तपाईंहरू एक्लो हुनुहुन्न।’ त्यसैगरी स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजलले पनि स्पेन युक्रेनको साथमा उभिएको जनाएका छन्। नर्वेका प्रधानमन्त्री जोनास गार स्टोरले पनि लेखेका छन्, ‘हामी यस द्वन्द्वमा युक्रेनको पक्षमा छौं र दिगो शान्तिको पक्षमा छौं।’ त्यसैगरी स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टरसनले पनि युक्रेनलाई समर्थन गरेका छन्। उनले भने, ‘स्वीडेन युक्रेनको साथमा उभिएको छ। तपाईंहरू आफ्नो लागि मात्र होइन सम्पूर्ण युरोपको स्वतन्त्रताको लागि लडिरहनुभएको छ।’ बेलायती प्रधानमन्त्री केयर स्टारमरले ट्रम्प र जेलेन्स्की दुवैसँग कुरा गरेका छन्। युक्रेनको लागि उनीहरूको समर्थन जारी रहेको र बेलायती प्रधानमन्त्रीले युक्रेनको सार्वभौमसत्ता र सुरक्षालाई ध्यानमा राख्दै शान्तिको बाटो खोज्न सक्दो प्रयास गरिरहेको उनका प्रवक्ताले जनाए। 

अमेरिकी नेता कोही पक्ष कोही विपक्षमा 

ट्रम्प र जेलेन्स्कीको वार्तालाई लिएर अमेरिकी नेताहरूबाट पनि प्रतिक्रिया आएको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सीएनएनलाई दिएको एक अन्तर्वार्तामा वार्ता पूर्णरूपमा असफल भएको र जेलेन्स्कीले माफी माग्नुपर्ने बताए। उनले भने, ‘उहाँले त्यहाँ गएर यस्तो विरोधाभासी अडान लिनु आवश्यक थिएन।’ डेमोक्र्याटिक सिनेटर चक शुमरले एक्समा लेखेका छन्, ‘ट्रम्प र भान्सले फोहोरी काम गरिरहेका छन्। सिनेट डेमोक्र्याटहरूले स्वतन्त्रता र लोकतन्त्रको पक्षमा लड्न कहिल्यै छाड्ने छैनन्।’ 

रिपब्लिकन सांसद डन बेकनले एक्समा लेखेका छन्, ‘अमेरिकी विदेश नीतिको लागि यो नराम्रो दिन हो। युक्रेन स्वतन्त्रता, स्वतन्त्र बजार र कानूनको शासन चाहन्छ। ऊ पश्चिमको एक हिस्सा बन्न चाहन्छ। रूस हामी र हाम्रा पश्चिमी मूल्यमान्यताहरूलाई घृणा गर्छ। त्यसैले हामी स्वतन्त्रताको पक्षमा छौं भनेर हामीले स्पष्ट पारिदिनुपर्छ।’

डेलावेयर विश्वविद्यालयका अन्तर्राष्ट्रिय मामिलाका प्राध्यापक डा. मुक्तदार खानले जेलेन्स्कीको अडानको आलोचना गर्दै एउटा भिडियो पोस्ट गरेका छन्। भिडियोमा खानले भनेका छन्, ‘म आज डोनाल्ड ट्रम्पसँगै छु। जेलेन्स्की कसरी यति अहंकारका साथ बोल्न सक्छन् ? उनीहरूले अमेरिकी सहयोगलाई आफ्नो अधिकारको रूपमा स्वीकार गरेका छन्। जेलेन्स्की अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिलाई भाषण दिइरहेका थिए। मलाई लाग्छ अमेरिकी जनताको सहानुभूति जित्न जेलेन्स्कीले जानाजानी त्यसो गरेका हुन्।’

नेटोका महासचिव मार्क रुटले शनिबार साँझ प्रतिक्रिया दिँदै ट्रम्पले युक्रेनको लागि अहिलेसम्म गरेको कामलाई सम्मान गर्नुपर्ने जनाएका छन्। उनले भने, ‘जेभलिन एन्टी ट्यांक मिसाइल प्रणालीको विक्रिको लागि ट्रम्प प्रशासनको पहिलो स्विकृतिले युक्रेनलाई प्रतिवाद गर्न सक्षम बनायो। यसको लागि हामीले साँच्चै ट्रम्पलाई  श्रेय दिनुपर्छ।’

युक्रेनलाई कडा झापड : रूस

यस सम्पूर्ण मुद्दाप्रति रूसले पनि धेरै प्रतिक्रियाहरू जनाएको देखिन्छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका विशेष दूत किरिल दिमित्रीभले जेलेन्स्की र ट्रम्प बीचको बहसको भिडियो क्लिपमा ‘ऐतिहासिक’ भनेर प्रतिक्रिया लेखेका छन्।

रूसी सुरक्षा परिषद्का उपप्रमुख दिमित्री मेदवेदेवले टेलिग्राममा ट्रम्पले युक्रेनलाई कडा झापड दिएको प्रतिक्रिया जनाएका छन्। पूर्व रूसी राष्ट्रपतिसमेत रहेका उनले भने, ‘किभ शासनले तेस्रो विश्वयुद्धसँग खेलिरहेको छ। सुँगुरले सुँगुरको खोरका मालिकहरूबाट पाएको कडा झापड उपयोगी छ तर पर्याप्त छैन।’ 

रूसको सरकारी समाचार एजेन्सी तासले ‘जेलेन्स्कीले वार्तामा बाधा पुर्‍याए, तर्क गरे र प्रेसको अगाडि आक्रामक मनोवृत्ति देखाए भन्दै आफ्नो हेडलाइन बनाएको छ। अर्को रूसी सरकारी सञ्चार माध्यम आरआईए नोभोस्तीले ‘ह्वाइट हाउसमा जेलेन्स्कीको सन्कीपनबाट युक्रेनको संसद पनि हैरान भएको छ भन्ने शीर्षकमा समाचार प्रकाशन गरेको छ।

जेलेन्स्कीको पक्षमा जुटे जनता

शुक्रबार ह्वाइट हाउसमा भएको दुव्र्यवहारपछि युक्रेनीहरू राष्ट्रपति जेलेन्स्कीको पक्षमा जुटेका छन्।  डोनाल्ड ट्रम्प र अमेरिकी उपराष्ट्रपति जेडी भान्सले जानाजानी र निन्दनीय रूपमा ‘झगडा सुरु गरेको’ आरोप उनीहरूले लगाएका छन्।

युक्रेनका राष्ट्रपतिलाई उनको देशमा व्यापक समर्थन मिलेको थियो। सुरक्षा ग्यारेन्टी बिनाको शान्ति सम्झौता अर्थहीन छ र रूसलाई विश्वास गर्न सकिँदैन भन्ने जेलेन्स्कीको अडानको पनि प्रशंसा गरिएको थियो।

वरिष्ठ युक्रेनी अधिकारीहरूले पनि अर्थपूर्ण सुरक्षा प्रतिबद्धता बिना मस्कोसँगको कुनै पनि युद्धविराम सम्झौता नटिक्ने प्रतिक्रिया दिएका छन्। 

‘पुटिनको अर्को पासो असफल भयो। राष्ट्रपतिले हाम्रा जनताको सम्मानको रक्षा गर्ने साहस गर्नुभएकोमा उहाँप्रति सम्मान छ’, उपप्रधानमन्त्री मिखाइलो फेडोरोभले भने।

अब के गर्लान् जेलेन्स्की

​​​​​​​हाइट हाउसमा भएको वार्ता तिक्ततामा परिणत भएसँगै विश्वभरका नेता र आम जनमानसमा अब जेलेन्स्कीले के गर्लान् त भन्ने जिज्ञासा जागेको छ। शनिबार जेलेन्स्कीले बेलायती प्रधानमन्त्री केयर स्टारमरलाई लन्डनस्थित डाउनिङ स्ट्रिटमा भेटेका छन्। एक्समा अर्को पोस्ट गर्दै जेलेन्स्कीले ट्रम्पको बारेमा भने, ‘कठिन संवादको बावजुद हामी रणनीतिक साझेदार बनेका छौं। तर, हाम्रा साझा लक्ष्यहरूलाई साँच्चै बुझ्न हामीले एकअर्कासँग इमानदार र प्रत्यक्ष हुनु आवश्यक छ।’

युक्रेन र रूस बीचको युद्ध अन्त्य गर्ने बारेमा छलफल गर्न बेलायती प्रधानमन्त्री स्टारमरले युरोपेली नेताहरूको शिखर सम्मेलन आयोजना गर्नु एक दिनअघि जेलेन्स्की बेलायत पुगेका हुन्। जेलेन्स्कीले विगतमा अमेरिकालाई धन्यवाद दिएका थिए। बेलायत आइपुगेपछि पनि फेरि उनले एक्समा लेखेको सन्देशहरूको शृंखलामार्फत युक्रेन विगत तीन वर्षमा अमेरिकाले दिएको सहयोगका लागि धेरै आभारी रहेको जनाएका छन्। ‘हामीलाई बाँच्न मद्दत गर्न अमेरिकाको सहयोग महत्वपूर्ण भएको छ र म त्यो स्वीकार गर्न चाहन्छु’, उनले भने, ‘राष्ट्रपति ट्रम्पको समर्थन हाम्रो लागि महत्वपूर्ण छ। उहाँ युद्ध अन्त्य गर्न चाहनुहुन्छ, तर हामीभन्दा बढी शान्ति अरू कसैले चाहँदैन। हामी युक्रेनमा यो युद्ध बाँचिरहेका छौं। यो हाम्रो स्वतन्त्रताको लागि र हाम्रो अस्तित्वको लागि लडाइँ हो।’ 

(एजेन्सीको सहयोगमा)
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.