अध्यादेशमा अनिर्णीत बनेका उपेन्द्र यादव भन्छन्- सरकारमा जाँदैनौं
काठमाडौं : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अध्यादेशलाई लिएर आफूहरू सरकारमा जाने 'बार्गेनिङ' नगरेको स्पष्ट पारेका छन्। उनले अध्यादेशका विषयमा पार्टीले अहिलेसम्म आधिकारिक धारणा सार्वजनिकसमेत नगरेको बताए।
‘सरकारमा जाने कुरै छैन। अध्यादेशका विषयमा आइतबार संसदीय दलको बैठक टुंगो लगाउँछ,' अन्नपूर्णसँगको कुराकानीमा अध्यक्ष यादवले भने। उनले अध्यादेशका लागि जसपा नेपालले बार्गेनिङको कुरा भ्रामक रहेको पनि खुलाए। ‘मन्त्रालय माग्यो भन्ने उडन्ते कुरो हो। हामीविरुद्ध दूष्प्रचार र भ्रम फैलाइएको छ,' उनले थपे।
उनले राजनीतिलाई 'मिसन पोलिटिक्स'को रूपमा व्याख्या गरे। अध्यादेशको कन्टेन्ट नबुझेसम्म आधिकारिक केही कुरा नभन्ने पनि उनले बताए। 'राजनीतिको आफ्नै केही मूल्य मान्यता र लक्ष्य हुन्छ। हाम्रो राजनीति 'मिसन पोल्टिक्स' पनि हो। हामी अध्यादेशको कन्टेन्ट, उद्देश्य र देश र जनतालाई पार्ने सकारात्मक प्रभावलगायतका पक्षलाई विश्लेषण गरेर हेर्छौं। अन्य कुरा हेर्दैनौं,’ उनले भने।
सरकारले हालै ६ वटा अध्यादेश संघीय संसदको दुवै हाउसमा पेस गरेको छ। प्रतिनिधिसभामा सत्तापक्षको बहुमत रहे पनि राष्ट्रिय सभामा उपेन्द्र यादवको सहयोग बिना अध्यादेश पास हुँदैन। त्यसैकारण पनि यति बेला उपेन्द्र यादव र उनको पार्टी जसपा नेपाल चर्चाको विषय बनेको छ। यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यादवसँग निरन्तर संवादमा रहेको स्रोतहरूले बताएको छ।
जसापा नेपालका उपाध्यक्ष राजकिशोर यादवले आफूहरूले सत्ता पक्षसँग कुनै मन्त्री, मन्त्रालय वा भाग नखोजेको दाबी गरे। ‘मन्त्रालय र मन्त्री पदसँग जोडर हाम्रो अडान, विषयप्रतिको गम्भीरतालाई विषयान्तर गर्न एक प्रकारको षड्यन्त्र गरिएको छ,' उनले भने। उनले आफूलाई जिम्मा दिएको अध्यादेशका कन्टेन्टका विषयमा प्रतिवेदन तयार पारी अध्यक्ष यादवलाई बुझाइसकेको बताए।
यसबीचमा सत्तापक्षसँग आफ्नो पार्टीसँग संवाद भएको उनले स्वीकारे। ‘देउवाजीले तपाईँहरू निर्णायक हुनुहुन्छ। सहयोग गर्नुस्’ भनेर आग्रह गरेको उनको भनाइ छ। त्यसको जवाफमा यादवले अध्यादेशका विषयमा निर्णय गरेरमात्रै बताउने बताएका थिए।
देउवासँग भेटेर उपेन्द्र यादव प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले यादवसँग भनेका थिए, ‘अध्यादेशबारे आज (बिहीबारको संसदमा) के गर्नु हुन्छ?’ उपेन्द्रले राजकिशोरलाई देखाउँदै जवाफ दिएका थिए, ‘उहाँको संयोजकत्वमा अध्यादेश अध्ययन कार्यदल बनेको छ।’ त्यसमा संयोजक यादवले थपे, ‘हाम्रो संसदीय दलको बैठक बस्दै छ। त्यसपछि आधिकारिक निर्णय सार्वजनिक गर्छौं।’ प्रधानमन्त्री ओलीली बैठकपछि निर्णय सुनाउन आग्रह गरेका थिए।
उपाध्यक्ष यादवले आफ्ना राजनीतिक ऐजेन्डा र अडानको बदनाम गराएकोमा चित्त दुखाए। उनले भने, ‘संसद छलेर सरकारले ल्याएको अध्यादेश ल्याउने कामलाई राम्रो मान्न सकिन्न।’ अध्ययन कार्यदलका सदस्य दीपक कार्कीले भूमि र सहकारीसम्बन्धी अध्यादेशमा सुझावहरू आएको बताए। ‘तर, यस विषयमा पार्टी निचोडमा पुगिसकेको छैन। राष्ट्रिय निकुञ्ज र वनलाई मास्नु हुँदैन भन्ने हाम्रो मान्यता छ। सुकुम्बासीलाई जग्गाधनी बनाउनुपर्छ। वन तथा वातावरण बचाउने दायित्व सरकारको पनि हो।’
प्रतिक्रिया दिनुहोस !