स्तन क्यान्सरमा म्यामोग्राफी
शरीरको अन्य भागमा झैं स्तनका कोषहरूमा पनि असामान्य, अनियन्त्रित र अनावश्यक वृद्धि हुन गई गिर्खा, गाँठागुँठी तथा निको नहुने घाउ बन्ने अवस्थालाई स्तन क्यान्सर भनिन्छ। सन् २०२० को तथ्यांकअनुसार नेपालमा बर्सेनि स्तन क्यान्सरका १९७३ नयाँ केस थपिने गरेका छन्। १९९० देखि २०१७ सम्मको आँकडा विश्लेषण गर्दा स्नत क्यान्सर प्रभावितको संख्यामा १०९ प्रतिशतले वृद्धि भएको देखिन्छ। र, स्तन क्यान्सरकै कारण प्रतिलाख १२.७ जनाको मृत्यु भइरहेको छ।
महिलामा हुने सम्पूर्ण क्यान्सरजन्य मृत्युमध्ये २० प्रतिशत मृत्यु यसैले गराउँछ। यो रोग पुरुषको दाँजोमा महिलामा स्तन क्यान्सर सय गुणा बढी हुन्छ। यो रोग अमेरिका तथा युरोपभन्दा एसिया एवं अफ्रिकामा कम मात्रामा देखा परे पनि स्तन क्यान्सरसम्बन्धी जनचेतनाको कमी, गरिबी तथा महिला शिक्षाको कमीका कारण नेपालमा ढिलो गरी मात्र रोगको पहिचान हुने हुनाले रोग शरीरका अन्यत्र पनि पैmलिइसकेको हुन्छ। त्यसो स्तन क्यान्सर प्रायः हड्डी, फोक्सो, कलेजो, डिम्बाशय र स्नायु प्रणाली (दिमाग)मा पैmलिन सक्छ। त्यसैले पनि प्रभावितहरूमा यथेष्ट उपचार, पीडाको कमी गर्ने उपाय तथा लाक्षणिक उपचार पुर्याउन गाह्रो भइरहेको छ।
जोखिम तत्वहरू : यो रोग उमेर ढल्किसकेका महिला (८० प्रतिशत स्तन क्यान्सर ५० वर्ष माथिका), अनुवांशिक खराबी भएका, ढिलो विवाह गरी ढिलो बच्चा जन्माउने (३५ वर्षपछि), कम उमेरमै महिनावारी सुरु भएका (१२ वर्षअगाडि) तथा ढिलो गरी मात्र महिनावारी (५५ वर्षपछि), मोटोपना भएकी, अधिक वा लामो समयदेखि इस्ट्रोजेन सेवन गरेकी, अधिक धूमपान तथा मद्यपान गर्ने, चिल्लो तथा बोसोयुक्त खाना बढी सेवा गर्ने महिलामा स्तन क्यान्सरको जोखिम बढी हुन्छ।
यसैगरी, वंशाणुगत कारणले पनि नजिकका नातेदारमा स्तन क्यान्सर हुन सक्छ। साथै विवाह नै नगरेका, बच्चा नै नजन्माएका, बच्चा पाएपछि स्तनपान नगराएकी एवं पहिले एउटा स्तनमा स्तन क्यान्सर भइसकेकी महिलामा पनि यो रोग लाग्न सक्छ। तर अध्ययन अनुसन्धानबाट २५ वर्षभन्दा कम उमेरका महिलामा यो क्यान्सर कम मात्र लाग्ने गरेको छ।
लक्षण चिह्न तथा परीक्षण : स्तनमा गिर्खा देखा पर्नु, स्तनको आकारमा परिवर्तन, स्तनको मुन्टाबाट रगत वा पिप बग्नु, स्तनको छालामा परिवर्तन आई सुन्तलाको बोक्रा जस्तै स–साना प्वाल हुनु, मुन्टाभित्र धसिनु आदि स्तन क्यान्सरका लक्षण चिह्न हुन्। तर स्तनमा दुखाइ भने प्रायः हुँदैन।
नुहाउने बेला वा ऐना अगाडि निर्वस्त्र हेर्ने क्रममा महिला आपैंmले वा श्रीमान्ले स्तन चलाउने क्रममा वा स्वास्थ्य परीक्षणको बेला माथि उल्लेखित लक्षण चिह्नहरू भेटिन सक्छ। शंका लागेर म्यामोग्राफी भनिने विशेष खालको स्तनको एक्सरे गराएको खण्डमा स्तनको क्यान्सरको सुरुको अवस्था पत्ता लाग्न सक्छ। ४० वर्ष नाघेकी तथा जोखिममा रहेकी महिलाले म्यामोग्राफी गराउनु राम्रो हुन्छ। तर हातले छाम्दा भेटिने स्तन क्यान्सरका करिब ४० प्रतिशत पत्ता नलाग्न सक्छ। यो परीक्षणले शंकास्पद ठाउँ पहिचान गर्न मद्दत गर्ने हुनाले अन्य जाँच गर्न सघाउ मिल्छ।
स्तनको क्यान्सरको पक्का निदानका लागि एफएनएसी भनिने (स्तनमा आएको गिर्खा वा गाँठागुँठीमा सियो छिराएर सियोमा अट्ने जति मासु वा स्रावको जाँचबाट गरिने) परीक्षणबाट ९८ प्रतिशतसम्म रोग पत्ता लाग्न सक्छ। यस जाँचको नतिजा शंकास्पद, अस्पष्ट वा पोजिटिभ भएमा स्तनको प्रभावित भागबाट स्तनको सानो अंश मासु निकाली त्यसलाई प्याथोलीजी ल्याबमा परीक्षण गराउनु पर्छ।
उपचार तथा रोकथाम : स्तन क्यान्सर लागेको निश्चित भएपछि स्तन क्यान्सरको चरण, बिरामीको अवस्था तथा अन्यत्र पैmलिए नपैmलिएको आधारमा शल्यक्रिया, रेडियोथेरापी, केमोथेरापी, हर्मोनथेरापी तथा बिरामीलाई केवल सहज तथा पीडा कम हुने औषधि मात्र दिइन्छ। यी उपचार बाहेक बिरामीलाई पोषण, स्याहारसुसार तथा स्नेह माया पनि उत्तिकै जरुरत पर्छ।
रोकथामका लागि स्तनमा गाँडागुँठी तथा गिर्खाका अलावा माथि उल्लेखित अन्य लक्षण चिह्न देखा पर्नेबित्तिकै स्वास्थ्य परीक्षणका लागि जानुपर्छ। यसको अलावा धूमपान, चिल्लो तथा बोसोयुक्त खाना कम खाने, शारीरिक तौल नियन्त्रणमा राख्ने, बच्चा पाएपछि स्तनपान गराउने गर्नुपर्छ। यसैगरी, रेशादार खाना बढी खाने, कीटनाशकरहित फलपूmल तथा सागसब्जी बढी खाने गर्नुपर्छ।
म्यामोग्राफीको महत्व : मानव स्तनको रोगव्याधी वा क्यान्सर छ कि भनेर कम भोल्टेजको इनर्जी प्रयोग गरेर गरिने विशेष एक्सरेलाई मेडिकल भाषामा म्यामोग्राफी भनिन्छ। यस प्रविधिले हातले छामेर नभेटिने अवस्थाका स्तनका स–साना गिर्खालाई पत्ता लगाउन मद्दत गर्दछ। हातबाट छामेर भेटिने स्तनका गिर्खाको हकमा पनि कहाँनेर छ र कति ठूलो छ भन्ने जानकारी पाउन सकिन्छ। भलै अमेरिकन कलेज रेडियोलोजी र अमेरिकन क्यान्सर सोसाइटीले ४० वर्ष कटिसकेकी महिलाले वर्षमा एकपटक म्यामोग्राफी गर्न सल्लाह दिए पनि अमेरिकाकै अर्को टास्क फोर्स, क्यानेडियन टास्क फोर्स र युरोपेली क्यान्सर पर्यवेक्षक समूहले ५० देखि ७४ वर्षका महिलाले दुई, तीन वर्षमा एकपटक म्यामोग्राफी गरे पुग्ने बताएको छ।
यस खालको एक्सरेमा विकिरणको जोखिम निकै न्यून छ। म्यामोग्राफीको मद्दतबाट समयमै स्तनको शंकास्पद गिर्खा वा सुरुवाती अवस्थाको स्तनको क्यान्सर भेट्टाउन सकिएको खण्डमा उपचारको क्रममा स्तन पूरै निकाल्नपर्ने शल्यक्रिया (सर्जरी) को आवश्यकता हुँदैन। त्यसो भएर ४० वर्ष उमेर पुगिसकेकी महिलाले दुई, तीन वर्षमा एकपटक म्यामोग्राफी गराउन बुद्धिमानी हुन्छ। नेपालका सहरी क्षेत्रका कतिपय अस्पतालहरूमा म्यामोगाफीको सेवा उपलब्ध छ। यो सेवाको सदुपयोग गरी आमा समूह, सहकारी संस्थामा आबद्ध महिला सदस्यहरू, महिला स्वास्थ्य स्वयंसेविकाहरूले अधिकतम फाइदा लिन सकिन्छ।
महिलाहरूको होल बडी चेकअपमा म्यामोग्राफी पनि अनिवार्य हुनुपर्छ। म्यामोग्राफीबाट शंकास्पद गिर्खा पत्ता लागेको खण्डमा उक्त शंकास्पद गिर्खामा सानो सुईं छिराई वा त्यहाँको सानो मासुको टुक्रा निकाली क्यान्सर छ छैन पत्ता लगाउन सकिन्छ। र, समयमै उपचार गराएको खण्डमा स्तनको क्यान्सर शतप्रतिशत निको हुन्छ।
ताम्राकार, वरिष्ठ स्त्री रोग विशेषज्ञ हुन्।
प्रतिक्रिया दिनुहोस !