अर्घाखाँची धार्मिक पर्यटनको केन्द्र बन्दै छ : मुख्यमन्त्री आचार्य
अर्घाखाँची : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँची जिल्लामा धार्मिक पर्यटकहरूको आकर्षण बढ्दै गएको बताएका छन्। सुपा देउराली मन्दिर संरक्षण समितिको १३औं साधारण सभाको शुक्रबार उद्घाटन गर्दै उनले धार्मिक पर्यटन प्रवर्द्धनका लागि डिजिटल प्रविधिको उपयोग गर्नुपर्नेमा जोड दिए।
‘अर्घाखाँची धार्मिक, सांस्कृतिक र पर्यटनको दृष्टिकोणले अपार सम्भावना बोकेको जिल्ला हो। यहाँ पाणिनि तपोभूमि, अर्घा दरबार, मालारानी, बलकोट पौवा, सिद्धेश्वर मन्दिर जस्ता ऐतिहासिक तथा धार्मिक स्थलहरू छन्। सुपा देउराली मन्दिरमा वार्षिक लाखौँ भक्तजन आउने गरेका छन्, व्यवस्थित प्रचारप्रसार गर्न सकियो भने धार्मिक पर्यटन अझ विस्तार गर्न सकिन्छ’ मुख्यमन्त्री आचार्यले भने धार्मिक पर्यटकहरू आकर्षित हुँदै गएको पाएका छौं। थप व्यवस्थित गरेर अघि बढ्न जरुरी छ।’
उनले डिजिटल युगमा धार्मिक पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसारलाई प्रविधिसँग जोड्न आवश्यक रहेको उल्लेख गरे।‘हामीले सुपा देउरालीका गतिविधि तथा प्रगतिलाई दैनिक रूपमा सार्वजनिक गर्नुपर्छ। एउटा डिजिटल पेज बनाएर हरेक दिनको विवरण अद्यावधिक गर्ने प्रणाली विकसित गरिनुपर्छ। देश/विदेशमा अर्घाखाँचीलाई चिनाउन र पर्यटक भित्र्याउन मद्दत पुग्छ’, उनले भने।
मुख्यमन्त्री आचार्यले सुपा देउराली मन्दिरलाई थप व्यवस्थित बनाउन आवश्यक रहेको बताउँदै सफाइ, सुरक्षा र व्यवस्थापनमा सुधार गर्न निर्देशन दिए। उनले सफाइ कर्मचारीको व्यवस्था गर्न, भेटी संकलनको पारदर्शी उपयोग गर्न र मन्दिरको गुरुयोजना निर्माण गरी अगाडि बढ्नुपर्ने धारणा राखे।
मुख्यमन्त्री आचार्यले अर्घाखाँचीको धार्मिक पर्यटनलाई थप प्रवर्द्धन गर्नुपर्ने बताउँदै पाणिनि सम्मेलन आयोजना गर्न लागेको जानकारी दिए। मुख्यमन्त्री आचार्यले धार्मिक पर्यटकहरूको आगमन बढाउने हो भने योजनाबद्ध रूपमा काम गर्न आवश्यक रहेको बताउँदै व्यवस्थित प्रचारप्रसार गर्न सके वर्षको १५/२० करोड रुपैयाँ आम्दानी गर्न धारणा राखे। गुरुयोजनाले तोकेको निर्माण कार्य गर्न अब अरू कसैको मुख ताक्नुपर्ने अवस्था नरहने भन्दै धार्मिक पर्यटनको दीर्घकालीन सम्भावनामा जोड दिए।
प्रतिक्रिया दिनुहोस !