जसपा नेपाल
केन्द्रीय कमिटीमा यादवले भने : सत्तामा टिकिरहन गरेको गतिविधिले प्रचण्ड नेतृत्वको सरकार पतन भयो
उनले संसदमा प्रस्तुत गरिएको ६ वटा विधयेकमध्ये भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश देश र जनताको हितमा नरहेकाले भूमि अध्यादेशको विरुद्धमा दृढताका साथ उभिएको जनाए।
काठमाडौं : जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारले अरू दललाई कमजोर बनाउने नीति लिएको आरोप लगाएका छन्। आइतबारबाट ललितपुरमा सुरु जसपा नेपालको केन्द्रीय समिति बैठकमा राजनीतिक एवं संगठनात्मक प्रतिवेदन पेस गर्दै अध्यक्ष यादवले साना दललाई कमजोर बनाउनका लागि दुई दलीय व्यवस्था कायम गर्ने भन्दै थ्रेसहोल्ड बढाउने सम्बन्धी विधेयक ल्याउन सरकार लागेको बताएका हुन्।
अध्यक्ष यादवले राजनीतिक प्रतिवेदनमा सत्तामा टिकिरहने गतिविधिले उत्पन्न भएको अविश्वासका कारण प्रचण्ड नेतृत्वको सरकार पतन भएको उल्लेख गरे। त्यसपछि ठूला दल मिलेर बनेको सरकार गठन पश्चात मुलुकमा सुशासन, समृद्धि र विकास गर्नुभन्दा बढी कोरा नारामा मात्र सिमित रहेको देखिएको उनले बताए।
सरकारप्रति जनतामा नैराश्यता बढ्दै गएको भन्दै अध्यक्ष यादवले सुशासन कायम गर्न र आर्थिक विकास गरी समृद्धि प्राप्त गर्नका लागि ठोस नीति कार्यक्रम तथा योजना नदेखिएको जिकिर गरे। राष्ट्रिय हितको रक्षा, राष्ट्रियहीत अनुकूल परराष्ट्र नीति कायम गर्न नसकेको कारणले वर्तमान सरकार असफल र असक्षम सावित भइसकेको अध्यक्ष यादवको ठहर छ।
उनले संसदमा प्रस्तुत गरिएको ६ वटा विधयेकमध्ये भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश देश र जनताको हितमा नरहेकाले भूमि अध्यादेशको विरुद्धमा दृढताका साथ उभिएको जनाए।
तीन दिनसम्म चल्ने बैठकमा वर्तमान राजनीतिक परिस्थितिका साथै गत भदौ महिनादेखि पार्टीले सञ्चालन गरेको जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्माण अभियानको समीक्षा हुने जसपा नेपालका प्रवक्ता मनिष सुमनले जानकारी दिए।
बैठकमा अभियानमा परिचालित नेताहरुले कार्यप्रगति विवरण प्रस्तुत गर्ने र त्यसपछि आगामी कार्यक्रम तय गरिने जसपा नेपालले जनाइएको छ। त्यस्तै जसपा नेपालका भातृ संस्थालगायत विभिन्न कमिटीको अधिवेशनका समेत बैठकमा छलफल हुने प्रवक्ता सुमनले बताए।
प्रतिक्रिया दिनुहोस !