अन्ततः जनमत र नाउपा एकीकरण पक्का
काठमाडौं : अन्ततः जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा)बीच एकीकरण हुने पक्का भएको छ। जनमतका अध्यक्ष सीके राउत र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले शनिबार दुई पार्टीलाई एकीकरण गरेर राष्ट्रिय शक्ति बनाउने उद्घोष गरेका हुन्।
पार्टी एकीकरणलाई मुख्य एजेन्डा बनाएर बोलाइएको नाउपाको केन्द्रीय कार्यसमिति बैठकमा राउतले विशेष सम्बोधन गरेका थिए। विगतमा नाउपासँग एकीकरण नगरेर ठूलो गल्ती भएको उनले स्वीकारे। चुनावकै बेला एकीकरण भएको भए हामीसँग अहिले २०–२१ सिट हुन्थ्यो। त्यतिबेला कसैले राष्ट्रिय पार्टी बन्छ कि बन्दैन भनेर हामीलाई भोट दिएका थिएनन्। उनीहरूले विश्वासको मत दिएका थिए। त्यही बेला एकता हुन सकेको भए ठूलो संख्यामा सिट पनि ल्याउँथ्यौं,’ अध्यक्ष राउतले भने।
त्यही गल्तीलाई सच्याउन आफूहरू तयार भएको उनको भनाइ छ। उनले मधेसी र थारू पार्टी एकीकरण हुँदै गर्दा कसैलाई पनि चित्त नदुखाउन आग्रह गरे। उनले थारुको पहिचानसमेत रहेको ढकियालाई गर्व गर्न लायक बनाउने उद्घोष गरे। ‘तपाईंहरूको सहमति बिना यो एकता सम्भव छैन। सबैको सहमति र सम्मानले मात्रै हामी अन्तरमनदेखि एक हुन सक्छौं। तपाईंहरूलाई म वाचा गर्छु, ढकियामै गर्व गर्न सक्ने पार्टी बनाउँछौं,’ उनले भने । ढकिया नाउपाको चुनाव चिह्न पनि हो।अध्यक्ष राउतले जनमत र नाउपालाई एकीकरण हुन नदिन षड्यन्त्र पनि भइरहेको बताए। तर, त्यसलाई वास्तै नगरी आफूहरू एकढिक्का हुन लागेको उनले बताए। बैठकपछि अन्नपूर्णसँग कुरा गर्दै अध्यक्ष राउतले नाउपा बैठकमा माहोल राम्रो देखिएको र पार्टी एकता निश्चित भएको दाबी गरे।
‘बैठकमा निकै राम्रो माहोल देखेँ । दुई पार्टीबीच एकता हुने सम्भवतः निश्चित भएको छ,’ उनले भने। उनले आफू र रेशम चौधरीमा कुनै स्वार्थ नहेकाले पार्टी संरचनामा पनि कुनै विवाद नआउने दाबी गरे। ‘म र रेशमजीमा कुनै स्वार्थ छैन। हामी दुवै जना पदबाट धेरै टाढा छौं। जनताबाट उठेका पार्टी भएकाले हामीबीच कुनै विवाद हुँदैन,’ उनले भने। नाउपाका संरक्षक चौधरीले हातमात्र होइन, मनबाट मिल्न जरुरी रहेको बताए। उनले अध्यक्ष राउतलाई विपक्षी सिटमा बस्न तयार हुन आग्रह पनि गरे। ‘न्याय पाएनौं भने डाक्टर साप संसद् भवनको विपक्षीको सिटमा पनि बस्नुपर्ने हुनसक्छ। मन्त्री पद छोडेर सडकमा पनि आउनुपर्ने हुनसक्छ,’ चौधरीले भने।
नाउपाको दुई दिन चलेको बैठकले जनमतसँग पार्टीसँग एकीकरण गर्न कार्यदल गठन गरेको छ। प्रतिनिधिसभा सदस्यसमेत रहेका गंगाराम चौधरीको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको छ। सदस्यमा सुनिता चौधरी र रामलाल डंगौरा छन्। यसअघि फागुन अन्तिम साता बसेको जनमतको केन्द्रीय समितिको बैठकले नाउपासँग पार्टी एकीकरणका लागि कार्यदल बनाएको थियो। कार्यदलमा प्रतिनिधिसभा सदस्य अब्दुल खान संयोजक र डा. शरदसिंह यादव र बालगोविन्द चौधरी सदस्य छन्।
रेशमले पत्नी रञ्जितालाई भने- अब मिलौं
नाउपा संरक्षक चौधरीले अध्यक्षसमेत रहेकी पत्नी रञ्जिता श्रेष्ठलाई सँगै मिलेर जान आह्वान गरे। केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै उनले आफूहरूकै कारण सबै बर्बाद भइसकेको बताए। ‘तिम्रो र मेरो कारण सबै प्रदेश सरकार बर्बाद भयो। आजदेखि तिमी र म हात मिलाउँ। सबैको साझेदारीमा जाउँ। भोलिदेखि ती सब ठेगानमा आउँछन्,’ उनले भने।
संरक्षण चौधरीले पत्नी श्रेष्ठलाई नाउपाको प्रदेश र संघमा रहेका १६ सांसदकै कारण बालुवाटार प्रवेशमा सहज भएको सुनाए। भोलि त्यो सांसद नरहे बुढाबाहेक केही बाँकी नरहने उनले सुझाए। ‘१६ सांसद नभएको भए रञ्जितालाई बालुवाटारको ढोका खुला हुन्नँ। १६ सांसदले नै हो ‘आउ आउ कान्छी, आउ आउ छोरी, आउ आउ बहिनी भन्छन्। सांसद नभए कसले सोध्छ ? उही बुढोले त हो,’ उनले भने।
प्रतिक्रिया दिनुहोस !