डडेलधुरामा पहिलो पटक गोलभेंडा र काँक्राको हाइब्रिड बिउ उत्पादन हुँदै
डडेलधुरा : डडेलधुरामा पहिलो पटक गोलभेंडा र काँक्राको बिउ उत्पादन सुरु गरिएको छ। जिल्लामा बिउ उत्पादन केन्द्र स्थापना भएको करिब ३६ वर्षपछि बिउ उत्पादन सुरु गरिएको हो। सुदूरपश्चिममै पहिलो पटक डडेलधुराको बिउ उत्पादन केन्द्र मार्फत हाइब्रिड जातको गोलभेंडा र काँक्राको बिउ उत्पादन थालिएको जनाएको छ।
पहिलो पटक सुदूरपश्चिम प्रदेशमा गोलभेंडा र काँक्राको हाइब्रिड बिउ उत्पादनको सुरुवात गरिएको सुदूरपश्चिम प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव यज्ञराज जोशीले बताए। शनिबार उनले सिर्जना जातको गोलभेंडाको पोथी बिरुवा रोपेर हाइब्रिड बिउ उत्पादनको सुरुवात भएको बताए।
पहिलो पटक गोलभेंडा र काँक्राको वर्णसंकर (हाइब्रिड) बिउ उत्पादन गर्न सुरुवात गरिएको छ। तरकारी जर्मप्लाज्म सम्र्वदन तथा बिउ उत्पादन केन्द्र डडेलधुराले हाइब्रिड बिउ उत्पादन गर्न सुरुवात गरेको हो। सिर्जना जातको गोलभेंडा र मधु जातको काँक्राको हाइब्रिड बिउ उत्पादनका लागि हाइटेक टनेल भित्र बिरुवा हुर्काउन थालेका कार्यालय प्रमुख तारीसिंह ठकुराठीले जानकारी दिए।
उनका अनुसार हाल डेढ रोपनी क्षेत्रफलमा टमाटरका भाले र पोथी बिरुवा छुट्टा छुट्टै हुर्काइँदै छन्। केही दिनमै डेढ रोपनी क्षेत्रफलमा नै गोलभेंडाका बिरुवा पनि रोपिने जनाए। सुदूरपश्चिम प्रदेशलाई नै हाइब्रिड बिउमा आत्मनिर्भर बनाउन बिउ उत्पादन गर्न थालिएको बिउ उत्पादन केन्द्रले जनाएको छ।
यस वर्ष टमाटरको मात्रै करिब पाँच किलो बिउ उत्पादन गर्ने लक्ष्य लिइएको छ। पछिल्ला वर्षहरूमा हाइब्रिड बिउ को माग बढ्दै गएको किसानले छोटो समयमा बढी उत्पादन गर्न सक्ने जनाउदै किसान हाइब्रिड बिउ तर्फ आकर्षित भएको बिउ उत्पादन केन्द्रका प्रमुख ठकुराठीले जनाए। तर नेपालमा हालसम्म नार्कले मात्रै हाइब्रिड बिउ उत्पादन गर्दै आइरहेको छ। पहिलो पटक बिउ उत्पादन केन्द्रले सम्भावना राम्रो देखेर हाइब्रिड मूल बिउ उत्पादनको सुरुवात गरेको जनाए।
बिउ केन्द्रले हाल हाइब्रिड बिउ सँगै मिनुअर्ली जातको मुला, खुमल रातो पात रायो, सिक्मी लोकल केराउ, स्थानीय जातको धनियाँ, रेड क्रियोल प्याजको पनि मूल बिउ उत्पादन गरिरहेको छ। तरकारीमा ९० प्रतिशत बिउ वर्णसंकर प्रयोग हुन्छ। उनले भने, ‘अन्य बालीमा खुला (ओपी) बिउ प्रयोग गरिन्छ। पहिलो पटक हाइब्रिड बिउ को उत्पादन थालिएको र यो सफल हुने छ। गोलभेंडा र काँक्राको हाइब्रिड बिउ उत्पादन सफल भए भेडेखुर्सानी, भिन्डी लगायतका अन्य तरकारीहरूको पनि हाइब्रिड बिउ उत्पादन गरिने छ।’
प्रतिक्रिया दिनुहोस !