‘तस्करी छाड्न जीविकोपार्जनको वैकल्पिक व्यवस्था हुनुपर्छ’
विराटनगर : कोशी प्रदेशको राजधानी विराटनगर र भारतको जोगवनी बजारको सीमा जोडिएको छ । जोगवानीलगायतका भारतीय बजारबाट नेपालमा खाद्यान्नलगायतका दैनिक उपभोग्य वस्तुको तस्करी हुने गरेको छ । विभिन्न बाटोको प्रयोग गर्दै तस्करीका सामान भित्र्याएर विराटनगरलगायत पूर्वका विभिन्न बजारसम्म पुर्याइन्छ । सुरक्षा निकाय, भन्सारलगायतका निकायले तस्करी नियन्त्रणमा सक्रियता बढाइएको बताउँछन् ।
पछिल्लो समय अपांगता भएका व्यक्तिहरुमाथि तस्करी गर्ने गरेको आरोप लाग्ने गरेको छ । उनीहरुले ‘ह्वीलचेयर’को प्रयोग गरी जोगवनीबाट दैनिक उपभोग्य वस्तु ल्याएर विराटनगरका व्यापारीलाई बिक्री गर्ने गर्छन् । तर, त्यसबापतको भन्सार महसुल तिर्दैनन् । व्यवहारिक समस्या हेरेर प्रशासनले पनि खासै वास्ता गरेको थिएन ।
अपांगता भएकाले ठूलो परिमाणमा तस्करी गर्ने गरेको आरोप लागेसँगै अहिले स्थानीय प्रशासनले कडाइ गर्न थालेको छ । अपांगता भएकाहरु भने सरकारले रोजगारीको ग्यारेन्टी नगरेका कारण जीविकोपार्जनका लागि सीमापारिबाट सामान ल्याएर बिक्री गर्नुपर्ने आफूहरुको बाध्यता रहेको बताउँछन् । उनीहरुले सरकारसँग रोजगारी र जीविकोपार्जनको वैकल्पिक व्यवस्था हुनुपर्ने माग गरेका छन् । सरकारले रोजगारीको ग्यारेन्टी गरिदिए ‘तस्करी’ गर्न छाड्ने उनीहरुको अडान छ । सरकारले गरिखाने व्यवस्था गरिदिनुपर्ने माग गर्दै अपांगता भएकाहरुले बुधबार आन्दोलनको घोषणा गरेका छन् ।
नेपाल–भारत सीमा क्षेत्रमा प्रहरी प्रशासनले कडाइ गर्न थालेपछि अपांगता भएकाहरु आक्रोसित बनेका हुन् । उनीहरुले सरकारसँग रोजगारीको व्यवस्था गरिदिन माग राख्दै बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरे । पत्रकार सम्मेलनमार्फत आन्दोलनको घोषणा गर्दै उनीहरुले भने, ‘सरकारले रोजगारीको ग्यारेन्टी गर्नु पर्यो कि त भारतीय बजारबाट दैनिक उपभोग्य वस्तु ल्याएर बिक्रीवितरण गर्नलाई रोक लगाउन भएन ।’
विराटनगरका अरुण साहले जीविकोपार्जनको वैकल्पिक व्यवस्था नभएका कारण खाद्यान्नलगायतका वस्तु ओसारपसार गर्नुपर्ने अवस्था रहेको बताए । तर, प्रहरीले कडाइ गरेपछि जीविकोपार्जनमै समस्या हुन थालेको उनको भनाइ छ । ‘सरकारले जीविकोपार्जनको वैकल्पिक व्यवस्था गर्नुपर्यो । नत्र हामीले सामान ओसारपसार गर्दा तस्करीको आरोप लगाएर कडाइ गर्न भएन,’ साहले भने ।
प्रहरी प्रशासनले एउटा समूहलाई मात्रै सधै कडाइ गर्ने गरेको गुनासो अपांगता भएकाहरुको छ । ‘हामीजस्तै अरु पनि ‘ह्वीलचेयर’मा सामान ओसारपसार गर्नेहरु छन् । उनीहरुलाई केही गरिँदैन । प्रहरी प्रशासनबाट अपांगता भएकाहरुलाई दोहोरो व्यवहार भयो । हामी सोझो हिसाबले गरिखानेहरु समस्यामा पर्न थाल्यौं,’ साहले भने ।
विराटनगरका सञ्जय थापाले सबैलाई एकैखालको व्यवहार गर्नुपर्ने बताए । ‘हामी विराटनगरलगायत आसपासका व्यक्ति हौं । जो भए पनि नेपाली नागरिकलाई समान व्यवहार गरिएको छैन । हामी जोगवनीबाट दैनिक उपभोग्य वस्तु ‘ह्वीलचेयर’मा ल्याएर विराटनगरका विभिन्न किराना पसलमा दिन्छौं र केही पैसो कमाउँछौं । जसले गर्दा हाम्रो घरपरिवार चलेको छ । हामीहरु २ नम्बरी (तस्करी)को काम गरेर सामान ल्याउँदैनौं । तर, पनि प्रहरी प्रशासनले सधैं हामीलाई नै समस्यामा पार्छ,’ उनले भने ।
विराटनगरको रानी नाकामा पछिल्लो केही समयदेखि वीरगन्जबाट आएका र भारतीय नागरिकसम्मले ‘ह्वीलचेयर’मा सामान ओसारपसार गर्ने गरेको गुनासो अपांगता भएकाहरुको छ । उनीहरुले विराटनगरका व्यापारी विनोद केसरी र मुकेश केसरीका लागि काम गर्दै आएको थापाले बताए । ‘जतुवाका केही व्यक्ति र केसरीद्वयले भारत एवं वीरगन्जबाट ‘ह्वीलचेयर’ लिएर आएकालाई प्रयोग गरिरहेका छन् । उनीहरुले १ पटकमा एउटा ‘ट्राइसाइकल’मा १० बोरा मटर, चिनीजस्ता सामान ल्याउँछन् । उनीहरुलाई प्रहरीले केही गर्दैन । निर्वाध रूपमा उनीहरुले तस्करी चलाइरहेका छन् । तर, हामी १५ वर्षदेखि काम गरिरहेकालाई बारम्बार दुःख दिने काम हुन्छ,’ उनले भने ।
अपांगता भएकाहरुले विराटनगर महानगरपालिका र जिल्ला प्रशासन कार्यालयमा बारम्बार समस्या राख्दासमेत बेवास्ता गरिएको गुनासो पोखे । सम्बन्धित निकायको बेवास्ता र आफूहरुलाई दिएको अनआवश्यक दुःखका कारण आन्दोलित हुनुपर्ने अवस्था आएको उनीहरुले बताए ।
‘वीरगन्ज र जोगवनीबाट आएकालाई कारबाही गरिदिन माग गर्दै निवेदन दिएका छौं । उनीहरुलाई केही गरिएन । हामीलाई अनआवश्यक दुःख दिने काम भयो । त्यही भएकाले आन्दोलन घोषणा गरिएको हो,’ साहले भने । उनले अपांगता भएका व्यक्तिहरुको सन्तानका लागि निःशुल्क शिक्षा र स्वास्थ्यको व्यवस्था गर्नुका साथै अपांगता भएकालाई सरकारले रोजगारीको व्यवस्था गरिदिए ‘ह्वीलचेयर’मा सामान ओसारपसारको काम छाड्ने बताए ।
‘सरकारले आयआर्जनको वैकल्पिक बाटो बनाइदिनु पर्छ । नत्र हामीले कसरी बाँच्ने ?,’ उनले प्रश्न गरे । विराटनगर महानगरपालिका र आसपासका अपांगता भएका केही व्यक्तिहरुले भारतीय बजार जोगवनीबाट दैनिक उपभोग्य वस्तु भन्सार नतिरिकन ल्याएर नेपाली बजारका किराना पसलमा बिक्री गर्दै आएका छन् । पछिल्लो समय ‘तस्करी’कै शैली अपनाएर ठूलो परिमाणमा ओसारपसार हुन थालेपछि प्रहरी प्रशासनबाट कडाइ गर्न थालिएको छ ।
मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरिया अपांगता भएकाहरुको व्यावहारिक समस्या हेरिदिने गरे पनि पछिल्लो समय ठूलो परिमाणमा सामान ओसारपसार हुन थालेपछि कडाइ गर्न थालिएको बताए । तस्करी नियन्त्रणका लागि भन्सार कार्यालय, सशस्त्र प्रहरीलगायतका निकायसँग समन्वय गरेर सीमा क्षेत्रमा निगरानी बढाएर कडाइ गर्ने काम भइरहेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस !