जिपबाट खसेर महिलाको मृत्यु
डडेलधुरा : डडेलधुराको अमरगढी नगरपालिका–८ डकलेमा जिपबाट खसेर महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा अमरगढी नगरपालिका–८ की २६ वर्षीया निर्मला भूल रहेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ।
आइतबार दिउँसो साढे ४ बजेतिर जिल्ला सदरमुकामबाट बैतडीतर्फ जाँदै गरेको से १ ज ७३९ नम्बरको जिपबाट ओर्लिने क्रममा खसेर निर्मला गम्भीर घाइते भएकी थिइन्। उपचारका क्रममा उनको डडेलधुरा अस्पतालमा मृत्यु भएको डडेलधुराका प्रहरी निरीक्षक एवं सूचना अधिकारी उपेन्द्रबहादुर बमले जानकारी दिए।
प्रहरीले जिप र जिप चालक बैतडीको सिगास गाउँपालिका–५ ढुङ्गाडका ४० वर्षीय रामसिंह धामीलाई नियन्त्रणमा लिएको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !