सुरक्षा संवेदनशीलतामा लापरबाही, किन दिइयो तीनकुनेमा प्रदर्शन गर्न ?

सुरक्षा संवेदनशीलतामा लापरबाही, किन दिइयो तीनकुनेमा प्रदर्शन गर्न ?
राजावादीले तीनकुनेको निजी घरमा शुक्रबार आगो लगाएपछि धुवाँले भरिएको एयरपोर्टमा अवतरण गर्दै यती एयरलाइन्सको विमान । तस्बिर : सुनिता डंगोल

काठमाडौं : काठमाडौं उपत्यकाको मध्यक्षेत्रमा पर्ने तीनकुने चोकको दायाँतर्फ संघीय संसद् भवन छ । बायाँतर्फ छ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल । विमानस्थलदेखि गैरीगाउँ (तीनकुने) सम्मको क्षेत्र निकै संवेदनशील छ । अर्थात्, मुलुकको सुरक्षा राडारभित्र पर्छ, सिनामंगल र तीनकुने क्षेत्र । मध्यभागस्थित सिनामंगलमा छन्, नेपाल आयल निगमको हवाई इन्धन भण्डारण डिपो र काठमाडौं मेडिकल कलेज । गैरीगाउँमा छ, पेट्रोलपम्पसँगै सञ्चार कार्यालय, शैक्षिक प्रतिष्ठान । झन्डै दुई किलोमिटरको दूरीभित्र यी सबै पर्छन् । 

सुरक्षा विज्ञहरूका अनुसार विमानस्थल र विमानस्थलको तीन किलोमिटर वरिपरिको क्षेत्रलाई अति संवेदनशील रूपमा लिइन्छ । सुरक्षा राडारभित्र पर्ने तीनकुने क्षेत्रमा विशेष सुरक्षा योजना हुनुपर्छ । उच्च प्रविधिका सीसीटिभी क्यामरा जडानयुक्त हुनुपर्छ । तर, यही अति संवेदनशील क्षेत्रमा राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलनको नाममा विरोध प्रदर्शन गर्न अनुमति दिइयो । जसका कारण शुक्रबार अति संवेदनशील क्षेत्र तीनकुने रणभूमिमा परिणत भयो ।

राजावादीका नाममा भएको आन्दोलनका क्रममा उच्छृंखल र अराजक प्रदर्शन र सो प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले प्रहार गरेको अश्रुग्यासको पिरोबाट स्थानीय बासिन्दा, यात्रु मात्र होइन पर्यटकहरूसमेत प्रभावित भए । नियमित र व्यवस्थित मानिएको उडान क्षेत्र पनि केहीबेर अवरुद्ध भयो । ‘राष्ट्रिय/अन्तर्राष्ट्रिय उडान भइरहने संवेदनशील क्षेत्रमा विरोध प्रदर्शन गर्न दिँदा कुनै बेला नियमित उडान रद्द हुने, ढिला हुने वा उडान अवरोध हुन सक्छ । यात्रुहरूको आवागमनमा बाधा पुग्छ । यस्तो संवेदनशील क्षेत्रमा विरोध प्रदर्शनको अनुमति दिनु विल्कुल गलत हो । 

विमानस्थल वरपरको क्षेत्रलाई स्थायी रूपमा प्रदर्शन निषेधित क्षेत्र घोषणा गर्नु र्छ,’ पूर्वगृहसचिव मैनाली भन्छन्, ‘सुरक्षा दृष्टिले तीनकुनेलाई प्रदर्शन निषेधित क्षेत्र घोषणा गर्नु उपयुक्त हुन्छ । तीनकुनेमा नभई अन्यत्र शान्तिपूर्ण प्रदर्शनको अनुमति दिन सकिन्छ । ठूलो परिमाणमा इन्धन भण्डारण गरिएको क्षेत्र हो, सिनामंगल र तीनकुने । अराजक भीडले आगजनी गर्न सक्ने जोखिम भएकाले सिनामंगल, तीनकुने क्षेत्रमा प्रदर्शन गर्न दिन नहुने विज्ञहरूको सुझाव छ । नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल ठकुरीले तीनकुने क्षेत्रमा प्रदर्शन गर्न अनुमति दिने सन्दर्भमा बेलैमा विचार गर्नुपर्ने बताउँछन् । 

‘प्रदर्शनका क्रममा उच्छृंखलहरूको घूसपैठ पनि हुन सक्ने भएकाले कहाँ प्रदर्शनस्थल तोक्ने ? भन्नेमा निकै विचार पु¥याउनुपर्छ । प्रदर्शनका कारण यातायात पनि अवरुद्ध हुन पुग्यो भने सर्वसाधारण आयोजक मात्र होइन सरकारप्रति पनि असन्तुष्ट हुन्छन,’ पूर्वडीआईजी ठकुरीले भन्छन्, ‘प्रदर्शनस्थल त्यो ठाउँलाई तोक्नुपर्छ जहाँ यातायात आवागमनमा पनि असर नगरोस् । शान्तिपूर्ण प्रदर्शन गर्न पाउने मौलिक हकको पनि सम्मान हुन सकोस् ।’ सुरक्षा संवेदनशीलताका साथै ट्राफिक व्यवस्थापन पक्षलाई पनि दृष्टिगत गरी प्रदर्शनस्थल तोक्नुपर्ने पूर्वडीआईजी ठकुरीको सुझाव छ । 

तीनकुने नै किन रोजिन्छ ? 
उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरको संगमस्थल हो, तीनकुने क्षेत्र । जुन अहिले राजनीतिक दल तथा अन्य विभिन्न समूहरूका लागि विरोध प्रदर्शनको रोजाइ क्षेत्र बनेको छ । नेपाल प्रहरीका पूर्वनायव महानिरीक्षक (डीआईजी) केशव अधिकारी नेपालीका साथै विदेशीहरूको पनि आवागमन हुने क्षेत्रमा प्रदर्शन गर्दा राष्ट्रिय/अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापक प्रभाव पर्ने भएकाले तीनकुने क्षेत्रमा प्रदर्शन गर्न चाहने बताउँछन् । 

पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी उपत्यकाका तीन जिल्लाको केन्द्रस्थल भएकाले प्रदर्शन गर्ने रोजाइ स्थल तीनकुने हुन पुगेको बताउँछन् । ‘आयोजकहरूले आमसभा वा विरोध प्रदर्शन बजारको केन्द्र वा मानवबस्ती आसपास नै रोज्छन्,’ पूर्वडीआईजी ठकुरी भन्छन्, ‘आयोजकहरूलाई पनि आफ्नो शक्ति देखाउनुपर्ने हुन्छ ।’ 


 

यो पनि पढ्नुहोस

तीनकुने क्षेत्र सुरक्षाको दृष्टिले निकै संवेदनशील मानिन्छ । जुन क्षेत्रमा जुलुस प्रदर्शनस्थलका लागि उपयुक्त नभएको सुरक्षा विज्ञहरू बताउँछन् । यसअघि विवादस्पद व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा ०८० मंसिर ८ गत तीनकुनेमा प्रदर्शनको नाममा निषेधित क्षेत्रतर्फ प्रवेश गर्ने र सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने मनसायले कार्यक्रम गर्न लागेको सूचना पाएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले रोक लगाएको थियो । 

मेडिकल व्यवसायी प्रसाईंको नेतृत्वमा बल्खुमा भएको प्रदर्शन हिंसात्मक भएकाले दुई पनि पछि नै तीनकुने क्षेत्रमा पनि प्रदर्शन गर्ने घोषणा गर्दा प्रशासनले पूर्व सजगता अपनाएको थियो । तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले प्रेस विज्ञप्ति जारी गर्दै गलत मनसायका साथ कार्यक्रम गर्नका लागि स्थानीय प्रशासनबाट उक्त स्थल प्रयोग गर्ने अनुमति प्रदान नगरिएको सूचित गरेका थिए । 

तर, यही क्षेत्रमा शुक्रबार जिल्ला प्रशासन कार्यालयबाट प्रदर्शन अनुमति दिँदा दुई जनाकोे ज्यान गएको छ । पूर्वगृहसचिव मैनाली तीनकुने क्षेत्रमा प्रदर्शन गर्न अनुमति दिनु नै गलत भएको बताउँछन । त्रिभुवन विमानस्थल नजिकै रहेकाले प्रदर्शनका क्रममा हुने तोडफोड, हुलहुज्जत, हिंसाले अन्तर्राष्ट्रिय क्षेत्रमा समेत नकारात्मक सन्देश प्रवाह हुने सुरक्षा विज्ञहरू बताउँछन् । 

सुरक्षात्मक राडारमा किन अनुमति ? 
नागरिकको विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा बिना हातहतियार शान्तिपूर्वक भेला हुने मौलिक हकको उपभोग र सोको सम्मान गर्नुपर्ने भए तापनि सुरक्षा संवेदनशीलतालाई ख्याल गर्नुपर्ने सुरक्षा विज्ञहरू बताउँछन् । 

प्रदर्शन गर्नुअघि नै सुरक्षा निकायसँग समन्वय गरी शान्तिपूर्ण, मर्यादित, अनुशासित एवं व्यवस्थित रूपमा सञ्चालन गर्ने सुनिश्चिततासहित लिखित रूपमा माग गर्नुपर्ने व्यवस्था छ । तर, जिल्ला सुरक्षा समितिले संवेदनशील मानिएको तीनकुनेमा शुक्रबार प्रदर्शन गर्ने अनुमति दिनु त्रुटिपूर्ण भएको विज्ञहरूको भनाइ छ । ‘तीनकुने क्षेत्र आफैंमा संवेदनशील क्षेत्र हो,’ पूर्वडीआईजी अधिकारी भन्छन्, ‘यस्तो संवेदनशील क्षेत्रमा भएको जुलुस वा विरोध हिंसात्मक हुन थालेपछि सरकारले वा आयोजकले एकले अर्कोलाई जिम्मा लिनुपर्ने बताउँछन् । आफूहरू पन्छिने भएकाले प्रदर्शन गर्न अनुमति दिनुअघि नै विचार गर्नुपर्छ ।’

पूर्वडीआईजी अधिकारी जुलुस तथा विरोध प्रदर्शनका लागि कुन–कुन क्षेत्रमा अनुमति दिने÷नदिने पनि घोषणा गर्नुपर्ने बताउँछन् । उनी भन्छन्, ‘विज्ञहरूसँग अन्तरक्रिया वा अध्ययन गर्न सकिन्छ । स्थानीय प्रशासनले स्थायी रूपमै कुन–कुन क्षेत्र प्रदर्शनस्थल घोषणा गर्न सकिन्छ । 

nullतीनकुनेमा राजावादीले निजी घरमा आगजनी गरेपछि शुक्रबार एयरपोर्टमा धुवाँ फैलियो । धुवाँमै उडान भर्दै बुद्ध एयरको विमान (रातो घेरामा) ।

संवेदनशील मानिएको तीनकुने क्षेत्रको सट्टा सिफलमा प्रदर्शनको अनुमति दिन सकिन्छ ।’ शान्ति सुरक्षामा गम्भीर असर पार्ने गरी प्रचलित कानुन विपरीतका गतिविधि गरेमा कानुनबमोजिम कारबाही गरिने हुँदा सर्वसाधारण पनि कुनै पनि प्रकारका गैरकानुनी गतिविधिहरूमा सहभागिता जनाउन नहुने विज्ञहरूको सुझाव छ । 

पूर्वडीआईजी अधिकारी भन्छन्, ‘संसद् भवन, अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र भनेको राष्ट्रिय सुरक्षाको राडार क्षेत्रभित्र पर्छन् । तीनकुने क्षेत्र राष्ट्रिय सुरक्षाको राडारभित्र पर्ने भएकोले आमसभा, विरोधसभा, जुलुस प्रदर्शन गर्न दिनु हुँदैन । यसमा सरकार गम्भीर हुनुपर्छ ।’ सिनामंगलस्थित आयल निगमको इन्धन डिपोमा ७० लाख लिटर इन्धन भण्डारण क्षमता रहेको छ । इन्धन डिपोमा ६ वटा भर्टिकल ट्यांक र ८ वटा अन्डरग्राउन्ड ट्यांक छन् । त्यस्तै गैरीगाउँस्थित पेट्रोलपम्पमा पनि लाखौं लिटर क्षमता इन्धन भण्डारण हुन्छ । 

उपभोक्ता हित संरक्षण मञ्चका महासचिव विष्णुप्रसाद तिमिल्सिना हवाई इन्धन डिपो तथा पेट्रोलपम्पमा आगजनी भएको अवस्थामा विमानस्थलदेखि बानेश्वरसम्मको क्षेत्र ध्वस्त हुने बताउँछन् । 

‘सिनामंगलको इन्धन डिपो र गैरीगाउँको पेट्रोलपम्पमा आगजनी भएमा विमानस्थलदेखि संसद् भवनसम्मको बस्ती सखाप हुन्छ,’ वरिष्ठ अधिवक्ता तिमिल्सिना भन्छन्, ‘सरकारले सूचना प्रकाशित गरी विमानस्थल तथा एयर नेभिगेसन सेवा सञ्चालनसँग सम्बन्धित क्षेत्रको सम्पूर्ण वा कुनै भागलाई हवाई सुरक्षाको दृष्टिले पनि आमसभा, जुलुस, विरोध प्रदर्शनका लागि स्थायी रूपमै निषेधित क्षेत्र घोषणा गर्नुपर्छ ।’

सिनामंगल –तीनकुने क्षेत्र राष्ट्रिय सुरक्षाको राडारभित्र पर्छ । यस्तो क्षेत्रमा आमसभा, विरोधसभा, नारा जुलुस प्रदर्शन गर्न दिनु गलत हो । यसमा सरकार गम्भीर हुनुपर्छ ।
केशव अधिकारी, पूर्वडीआईजी नेपाल प्रहरी

अति संवेदनशील क्षेत्र मानिन्छ, सिनामंगल–तीनकुने क्षेत्र । यो क्षेत्रमा  प्रदर्शन गर्न नपाइने गरी स्थायी रूपमै निषेधित क्षेत्र 
घोषणा गर्नुपर्छ ।  
उमेशप्रसाद मैनाली, पूर्वगृहसचिव

सिनामंगलस्थित हवाई इन्धन डिपो एवं गैरीगाउँको पेट्रोलपम्पमा आगजनी भए विमानस्थलदेखि संसद् भवनसम्मको  क्षेत्र ध्वस्त हुन्छ । सरकारले सूचना प्रकाशित गरी निषेधित क्षेत्र घोषणा गर्नुपर्छ ।
विष्णुप्रसाद तिमिल्सिना, महासचिव, उपभोक्ता हित 
संरक्षण मञ्च

शान्तिपूर्ण आमसभा प्रदर्शनस्थल त्यो ठाउँलाई तोक्नुपर्छ जहाँ यातायात आवागमनमा पनि असर नगरोस् । शान्तिपूर्ण प्रदर्शन गर्न पाउने मौलिक हकको पनि सम्मान हुन सकोस् ।
हेमन्त मल्ल ठकुरी, पूर्वडीआईजी, नेपाल प्रहरी 

 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.