प्रदूषणका कारण नवलपरासीमा आँखा र श्वासप्रश्वासका बिरामी बढे

प्रदूषणका कारण नवलपरासीमा आँखा र श्वासप्रश्वासका बिरामी बढे
परासीको एक आँखा अस्पतालमा उपचारका लागि आएका सर्वसाधारण। तस्बिर : हरि शर्मा।
सुन्नुहोस्

परासी : बढ्दै गएको वायु प्रदूषणको असर नवलपरासीमा पनि परेको छ। प्रदूषणका कारण आँखा अस्पतालसहित स्वास्थ्य संस्थामा बिरामीहरूको चाप बढेको स्वास्थ्यकर्मीहरुले बताएका छन्। 

बाहिर हिँड्दा धुवा मिसिएको हावा र धूलोको कण आँखाभित्र गएर बिझाउने, पोल्ने र आँखा रातो हुने समस्या लिएर स्वास्थ्य संस्थाहरूमा जानेको संख्या बढेको हो। केही दिनदेखि देखिएको वायु प्रदूषणका कारण उत्पन्न  समस्याले सबैभन्दा बढी श्वासप्रश्वासका समस्या भएका जेष्ठ नागरिक र बालबालिकाहरुमा असर पुर‍याएको पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मोहम्मद नुरुल होदाले बताए। 

श्वासप्रश्वासका जेष्ठ नागरिकहरूमद्य केहीलाई धुवा र धुलोले थप समस्या उत्पन्न गरेकाले अक्सिजन दिएर उपचार गर्नु परेको होदाले बताए।  

अस्पतालमा दैनिक ६० देखि ७० जना जेष्ठ नागरिकहरू उपचारका लागि आउने गरेकामा २५ देखि ३० जना श्वासप्रश्वासका बिरामी छन्। तीमध्ये अहिले धुवा र धुलोका कारण थप समस्या उत्पन्न भएकाले दैनिक ५ देखि ७ जना श्वासप्रश्वास(दम) भएका जेष्ठ नागरिकहरूलाई अक्सिजन दिएर उपचार गर्नुपरेको डाक्टर होदाले जानकारी दिए।  त्यसबाहेक अस्पतालको आँखा ओपिडी कक्षमा ४० देखि ५० जना आँखा रातो हुने, पोल्ने, चिलाउनेलगायतका समस्या लिएर आउने गरेको अस्पतालले जनाएको छ। 

त्यसैगरी डाक्टर विनोद निता कँडेल आँखा अस्पताल परासीमा पनि दैनिक ३० देखि ४० जना आँखा पोल्ने, बिझाउने र रातो हुने समस्या लिएर आउने गरेको अस्पतालका सूचना अधिकारी धीरेन्द्र सहानीले बताए। अस्पतालमा दैनिक १७० देखि २ सय जनासम्म बिरामीहरू आउने गरेकोमा विगत ४/५ दिनदेखि आँखा पोल्ने र बिझाउने समस्या लिएर आउने बिरामीहरूको संख्या बढ्दै गएको आँखा अस्पतालले जनाएको छ। 

डढेलो, कृषकहरुले खेतबारीमा लगाउने आगो, उद्योगहरूबाट उड्ने धुलो र धुवा हावामा मिसन पुग्दा त्यसको असरले स्वास्थ्यमा समस्या उत्पन्न गराएको चिकित्सकहरूले बताएका छन्। 

केही दिनदेखि वातावरणमा देखिएको उक्त समस्याबाट बच्नका लागि मास्कको प्रयोग गर्ने र श्वासप्रश्वासका बिरामीहरू सकभर घरबाहिर ननिस्कन चिकित्सकहरूको सुझाव छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.