स्मृति भवनको साटो ज्यानमारा खाल्डो

स्मृति भवनको साटो ज्यानमारा खाल्डो
सुन्नुहोस्

जनकपुरधाम  : जनकपुरधामको ऐतिहासिक गंगासागर पोखरीको पूर्वी डिल छेउमा बसोबास गर्ने स्थानीय अहिले आकाशमा बादल देख्नेबित्तिकै तर्सिन्छन् । उनीहरू दिनरात भगवान्सँग यही कामना गर्छन् कि हे भगवान् अहिले ठूलो पानी नपरोस् । यसको कारण हो डिलको सडकमा अलपत्र परेको करिब १५ फिट गहिरो खाल्डो । 

प्रजातान्त्रिक आन्दोलनका योद्धा स्व. रामनारायण मिश्रको स्मृति भवन निर्माणका लागि जग हाल्न गंगासागर पोखरीको डिल खनिएको खाल्डो अहिले सर्वसाधारणका लागि ज्यानमारा बन्न पुगेको छ । ‘यो बिना कामको भएको छ । हाम्रो त बालबच्चाहरूलाई घरबाट निस्कन आपत् भइसक्यो । यदि पानी प¥यो भने यो खाल्डोले ज्यानै  लिने खतरा बढ्छ,’ निर्माणका लागि घर छेउमै खाल्डो खनिएपछि दुःखेसो पोख्दै स्थानीय रामवती साहले भनिन्, ‘काम गर्नु नै थिएन भने सुरुमै रोक्नुपथ्र्यो अब अदालतले काम रोकेको भन्छ त्यसो भए यो वर्षायाममा कम्तीमा माटो त हालेर खाल्डो पुरिदिनु पर्ने हो । त्यो पनि भइरहेको छैन ।’

स्मृति भवन निर्माणसँगै दुई राजनीतिक दलबीचको विवादले अदालतको बाटो समातेपछि निर्माणकार्यमा रोक लगाइएको हो ।  पोखरीको डिलमा तत्काल स्मृति भवन निर्माण कार्य रोक्न उच्च अदालत जनकपुरधामले आदेश दिएपछि सडकको खाल्डो अलपत्र छाडिएको छ । निर्माणको ठेक्का पाएको ठेकेदार कम्पनीले सबै निर्माण सामग्रीहरू लगिसकेका छन् ।  सडक निर्माणाधीन रहेको भनी खाल्डोको वरिपरि कुनै सूचना पाटीसमेत नराखिँदा सो बाटो भएर ओहोरदोहोर गर्ने सवारीसाधनहरूको लागि समेत दुर्घटनाको सम्भावना बढाएको छ । 

स्मृति भवन निर्माणको शिलान्यास भएकै बेलादेखि विवाद सुरु भएको थियो । स्व. मिश्र नेपाली काँग्रेस सम्बद्ध रहेको हुँदा उनको नाममा स्मृति भवन निर्माणकार्य हुन लागेपछि नेकपा एमालेका नेता कार्यकर्ताहरूले विवाद सिर्जना गरे । एमालेका नेताहरूले स्मृति भवन अन्य कुनै स्थानमा बनाउनु पर्ने र गंगासागर पोखरीको डिललाई यथास्थितिमै राख्नुपर्ने अडान लिएका थिए । तर, कांग्रेसका नेताहरूले भने स्व. मि  श्रको समाधिस्थल सोही डिलमा भएको हुँदा त्यही स्थानमा उनको स्मृति भवन बन्नुपर्ने अड्डी कसेका हुन् । यसै विवादका बीच स्थानीय महेन्द्रप्रसाद साहले निर्माण कार्यको विरुद्ध उच्च अदालत जनकपुरधाममा उत्प्रेषण मुद्दा दर्ता गराएका थिए । 

मुद्दा उपर सुनुवाइ गर्दै उच्चका न्यायाधीश राजुराम सिलवालले तत्काल स्व. रामनारायण मि  श्र स्मृति भवन निर्माणकार्य नगर्नु, नगराउनु र निर्माण कार्य सुरु गरेको भए यथास्थितिमा राख्न आदेश दिएको हो । निर्माणका लागि भौतिक पूर्वाधार विकास कार्यालय जनकपुरधामले ठेक्का लगाएको र सो निर्माणको ठेक्का पाएको एमएस कर्मा बाबा जेभी जलेश्वर २, महोत्तरीले निर्माण कार्य गरिरहेको बेला अदालतले रोक लगाएको हो । २०८२ फागुन २८ गतेभित्र निर्माण सम्पन्न गर्न  ५ करोड ७४ लाख ९६ हजार रुपैयाँमा ठेक्का लगाइएको हो । 

सहरी योजना तथा भवन निर्माण मापदण्ड, २०७५ मा भवन निर्माणकार्य गर्दा सम्पदा क्षेत्रमा रहेको सार्वजनिक पोखरी जलाशयको डिलबाट पाँच मिटर जग्गा छाड्नुपर्ने नियम छ । तर, स्मृति भवन निर्माण गर्दा पाँच मिटरसमेत नछाडिएको उच्चको आदेशमा उल्लेखित छ । 

गंगासागर पोखरीको डिलमा मि   श्रको स्मृति भवन निर्माणले पोखरीको ऐतिहासिकतालाई प्रभावित गर्ने एक पक्षको आरोप छ भने अर्को पक्षले उक्त स्मृति भवन निकै सुन्दर, मनोरम डिजाइनमा बनाइने र यसको तलबाट सडकसमेत राखिने हुँदा पोखरीको सुन्दरतालाई अझ बढाउने दाबी छ । ‘स्व. मि   श्र हामी सबैका लागि सम्मानित छन् र उनको सम्मानमा बन्ने स्मृति भवन निर्माण नहोस् भन्ने चाहना कसैको छैन तर, जुन स्थान चयन गरिएको छ त्यसप्रति हाम्रो आपत्ति छ,’ एमालेका तर्फबाट प्रदेशसभा सांसद दीपेन्द्र ठाकुर भन्छन्, ‘जनकपुर पर्यटकीयस्थल रहेको र यहाँको गंगासागर पोखरीमा प्रत्येक वर्ष भव्य छठ पूजा मनाइने हुनाले डिललाई नै छेकेर स्मृति भवन बनाउनु हुँदैन भन्ने मेरो मान्यता छ ।’ 

अर्कोतर्फ नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि स्व. मि  श्रको स्मृति भवन निर्माणमा एमालेको तर्फबाट आएको अवरोधको निन्दा गर्छन् । ‘उहाँहरूले सत्तासाझेदार भएको सामान्य शिष्टाचारसमेत निर्वाह गर्नु भएको छैन,’ निधिले अन्नपूर्णकर्मीसँग कुरा गर्दै भने, ‘यस समाज र देशका लागि जीवन अर्पण गरेका व्यक्तिको नाममा स्मृति भवन निर्माण भइराख्दा त्यसमा समेत विरोध गर्नु लज्जास्पद र निन्दनीय छ ।’

रामनारायण मिश्र प्रजातान्त्रिक आन्दोलनका एक योद्धा मात्रै नभई आधुनिक जनकपुरका प्रणेतासमेत थिए । महोत्तरीको पिपरा गाउँमा जन्मिएका मिश्र २०१५ सालमा भएको आम निर्वाचनमा महोत्तरीबाट विजयी भई बीपी कोइरालाको जननिर्वाचित मन्त्रिमण्डलमा उद्योगमन्त्री बनेका थिए ।

मिश्रकै पालामा जनकपुर चुरोट कारखाना, वीरगन्ज चिनी मिल, कृषि औजार तथा छाला उद्योगसतिहका दर्जनौं उद्योगहरू सो बेला स्थापना भएको थियो । उनको निधन २०२४ पुस ६ मा भयो । २०२५ पुस ५ मा उनको पहिलो स्मृति दिवसमा कांग्रेसका तत्कालीन प्रभावशाली नेता गणेशमान सिंहले उनको स्मृति भवन निर्माणको संकल्प लिएका थिए । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.