१२ को पढाइ सकियो कि विवाहको दबाब
जनकपुरधाम : मधेस प्रदेशमा १२ कक्षाको पढाइ सकिनेबित्तिकै विवाहका लागि छोरीहरूलाई दबाब दिने गरिएको छ। घर व्यवहार चलाउन र राम्रो केटासँग विवाह होस् भन्ने उद्देश्यले मात्रै छोरीहरूलाई १२ कक्षासम्म पढाउने गरिएको बालअभियन्ताहरूले बताएका छन्। ‘हाम्रो गाउँमा त १२ कक्षाभन्दा माथि पढ्न कलेजहरू पनि छैनन्। त्यस कारणले पनि छोरीहरूलाई बाहिर पढाउने, खर्च गर्ने र फेरी दाइजोको खर्च गरेर विवाह गर्नुको साटो जेनतेन १२ पढाएर विवाह गरिदिने चलन छ,’ धनुषाको लक्ष्मीनिया गाउँकी किशोरी क्लबकी अध्यक्ष प्रतिमा यादवले बुधबार जनकपुरमा बालविवाहविरुद्ध प्रदेशस्तरीय सञ्जालद्वारा आयोजित सम्मेलनमा बताइन्।
उनले भनिन्, ‘हाम्रो पढाइ जागिर पाउनका लागि, आत्मनिर्भर हुनका लागि वा आफ्नो जीवन अगाडि बढाउनका लागि हुँदैन। हाम्रो पढाइ त विवाह गराउनकै लागि हुन्छ।’ विवाहका लागि ‘छोरीले १२ कक्षा पढेको छ’ भन्नकै लागि मात्र पढाउने चलन रहेको प्रतिमा बताउँछिन्।
‘मुस्लिम समुदायका बालिकालाई विवाहका लागि अझ कम उमेरमै दबाब दिने गरिन्छ र उनीहरू अभिभावककै दबाबका कारण बीचमा पढाइ छाड्न बाध्य हुन्छन्,’ बारा जिल्ला पुरैनियाकी उन्सा खातुन भन्छिन्, ‘बालविवाहले छोरीहरूलाई जीवनमा अगाडि बढ्ने स्वतन्त्रता नै खोस्छ। हामी विवाहकै लागि जन्मेका छौं भन्ने खालको महसुस हुन्छ।’
राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार मुलुकमा ३५.१ प्रतिशत बालिकाको बालविवाह हुने गरेको छ। त्यसमा पनि सबैभन्दा बढी बालविवाह मधेस प्रदेशमा ४२.४ प्रतिशत भएको पाइएको छ। सबैभन्दा बढी बालविवाह धनुषामा ४७.५ प्रतिशत र रौतहटमा ४७ प्रतिशत हुने गरेको तथ्यांकले देखाउँछ। त्यसैगरी महोत्तरीमा ४३.३ प्रतिशत, सर्लाहीमा ४२.६ प्रतिशत, सिरहामा ४२.१ प्रतिशत, बारामा ४०.२ प्रतिशत, पर्सामा ३८.९ प्रतिशत र सप्तरीमा ३४.७ प्रतिशत बालविवाह हुने गरेको छ। पछिल्लो समय बढ्दै गएको भागी विवाहको समस्याका कारण पनि बालविवाहको दर बढेको मधेस प्रदेशसभाकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समितिकी सभापति रूपमा यादवको ठम्याइँ छ। ‘अहिले सामाजिक सञ्जालमा दिनका दिन विद्यालयमा पढ्ने केटाकेटीको भिडियोहरू सार्वजनिक हुन्छ। जसमा तिनीहरूले आफू आफ्नो घरबाट भागेर विवाह गरेको र यसका लागि कसैलाई पनि दोष नलगाउन आग्रह गरिराखेको पाइन्छ। यसरी पढ्न निस्केका बालबालिका भाग्दै विवाह गर्न थालेपछि अभिभावकका लागि समेत ठूलो समस्या आएको छ,’ यादव भन्छिन्, ‘यो समस्या रोक्नकै लागि कहिलेकाहीँ हाम्रा माननीयज्यूहरूले समेत विवाहको उमेर घटाउनुपर्छ भन्ने माग नै राख्ने गरेको पनि सुनिन्छ तर, यो गलत हो। केही घटनाहरू हुँदैमा विवाहको उमेर घटाउने कुरा बालिकामाथि अन्याय हुन्छ। त्यसैले अभिभावक सचेतनामा बढी ध्यान दिएर यस्ता घटनाहरूको न्यूनीकरण गर्नुपर्छ।’
पछिल्लो समय मधेसकै केही सांसदहरूले विवाहको उमेर महिलाको हकमा अझ घटाउनुपर्ने माग गरेका थिए। ‘एक त यसो पनि हो कि यस प्रदेशमा बालिकाहरू आफ्नो अधिकारका लागि, पढ्नका लागि संघर्ष गर्नुपर्ने बाध्यता छ। त्यसमा पनि यदि विवाहको उमेर कम भयो भने बालविवाहले अझ बढी प्रश्रय पाउने निश्चित छ,’ महिला मानवअधिकार रक्षक सञ्जालकी राष्ट्रिय अध्यक्ष श्यामकुमारी साह भन्छिन्, ‘मधेसबाट यस्तो खालको कुनै पनि नकारात्मक सन्देश जानु हुँदैन। बरु हाम्रो तीन तहका संरचनामा बसेका सरकारले छोरी मैत्री नीतिहरू निर्माण गर्न भूमिका खेल्नुपर्छ।’
प्रतिक्रिया दिनुहोस !