नेपाल पुलिस क्लबलाई एमएम कपको उपाधि

नेपाल पुलिस क्लबलाई एमएम कपको उपाधि
सुन्नुहोस्

तेस्रो संस्करणको एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ।

विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा सम्पन्न फाइनलमा पुलिसले अघिल्लो दुई संस्करणको विजेता त्रिभुवन आर्मी क्लबलाई २४ रनले पराजित गर्न सफल भयो। 

जितको लागि २४० रनको लक्ष्य पछ्याएको आर्मीले ४८ ओभरमा सबै विकेट गुमाएर २१५ रन मात्र बनाउन सक्यो। 

आर्मीको ब्याटिङमा हिमांशु दत्ताले अर्धशतकीय योगदान दिए जुन क्रममा उनले ८० बलमा ६ चौका र २ छक्का प्रहार गरे। निश्चल क्षेत्रीले ३६, इमरान शेखले २४ तथा नरेन साउदले २१ रन बनाए। विशाल सुश्लिंगले १८, कप्तान विनोद भण्डारीले ७ रन बनाउन सके। 

राम्रो सुरुवात गरेको आर्मीले १३० रन बनाउँदा मात्र १ विकेट गुमाएको थियो। सत्ताइसौं ओभरमा हिमांशु दत्तालाई विपिन खत्रीले क्याच आउट गरेपछि पुलिस खेलमा फर्किएको थियो। दायाँ हाते मिडीयम पेसर श्रवन यादवले विनोद भण्डारी, नरेन साउद, तुल बहादुर थापा र सुमित श्रेष्ठको विकेट लिँदै पुलिसलाई जित दिलाउन अहम् भूमिका खेले। 

पुलिसको बलिङतर्फ श्रवन यादवले सर्वाधिक ४ विकेट लिए जुन क्रममा १० ओभरमा ६३ रन खर्चिए। चित्र बिस्टले २ विकेट लिँदा विपिन खत्री र सुनिल दौल्यालले १/१ विकेट लिए। 

यसअघि टस हारेर ब्याटिङ गरेको नेपाल पुलिस क्लबले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २३९ रन बनाएको थियो। 

पुलिसको ब्याटिङमा अरुण ऐरीले सर्वाधिक ६४ रन बनाए जुन क्रममा ८९ बलमा १ चौका र २ छक्का प्रहार गरे। यस्तै कप्तान शंकर रानाले ५१ रन बनाए जुन क्रममा ८१ बलमा १ चौका र ४ छक्का प्रहार गरे। दिपक डुम्रेले ३६, श्रवन यादवले ३२ तथा अविनाश कर्णले १९ रन बनाए। 

७७ रनमा ४ विकेट गुमाएको अवस्थामा पाँचौँ विकेटको लागि अरुण ऐरी र शंकर रानाले ९६ रनको साझेदारी गरेका थिए। शंकरको विकेट पछि अरुण र श्रवनबीच छैटौँ विकेटको लागि ४३ रनको साझेदारी भयो। 

आर्मीको बलिङतर्फ दुर्गेश गुप्ता, नरेन साउद र तुल बहादुर थापाले समान २ विकेट लिए। विशाल सुश्लिंग , पवन कार्की र सुमित श्रेष्ठले १/१ विकेट लिए। 

एमएम कप फाउन्डेसनद्वारा आयोजित प्रतियोगिताको उपाधि जित्न सफल पुलिसले ४ लाख नगदसहित ट्रफी हात पार्यो भने आर्मीले २ लाख रुपैयाँ प्राप्त गर्‍यो। प्रतियोगिताको उत्कृष्ट खेलाडी त्रिभुवन आर्मी क्लबका नरेन साउद घोषित भए जसले २५ हजार रुपैयाँ पाए। यस्तै उत्कृष्ट ब्याटर नेपाल पुलिस क्लबका शंकर राना तथा उत्कृष्ट बलर कोशी प्रदेशका प्रेम कामत घोषित भए। उत्कृष्ट बलर र ब्याटरले जनही रु. १५ हजार रुपैयाँ पाए। फाइनल खेलको प्लेयर अफ द म्याच श्रवन यादव घोषित भए जसले ४ हजार रुपैयाँ पाए। 

एक सातासम्म चलेको प्रतियोगितामा कुल ६ टिमको सहभागिता रहेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.