जानकी नवमीलाई राष्ट्रिय पर्वको मान्यता दिनुपर्ने

जानकी नवमीलाई राष्ट्रिय पर्वको मान्यता दिनुपर्ने
सुन्नुहोस्

जनकपुरधाम : जनकपुरको जानकी मन्दिरमा उल्लास छ । साँझको बेला सुरिलो मंगलगान र सोहर (जन्मका बेला गाइने गीत) ले मन्दिर परिसर गुञ्जायमान हुन्छ । अवसर परेको छ– यही वैशाख शुक्ल नवमी तिथिको दिन पर्ने जानकी नवमीको ।

धार्मिक ग्रन्थहरूमा वर्णन भएअनुसार, माता सीता अर्थात् जानकीको जन्म वैशाख शुक्ल नवमी तिथिको दिन मध्यान्ह भएको थियो । यसै तिथिलाई स्मरण गर्दै जानकी जन्मभूमि जनकपुरधाममा प्रत्येक वर्ष जानकी नवमी महोत्सव आयोजना हुने गर्दछ । 

माता सीता मिथिलाकी छोरी मात्रै नभई नेपालकी राष्ट्रिय विभूति पनि हुन् तर, एकातर्फ जनकपुरमा भव्य जानकी नवमी मनाउने तयारी भए पनि अर्कोतर्फ यस दिनमा सार्वजनिक बिदा नदिँदा र यस पर्वलाई राष्ट्रिय पर्व घोषणा नगरेर सरकारले यस अवसरलाई हेपेको आरोप लाग्दै आएको छ । 

‘माता सीताको जीवन नारी शक्तिको धैर्य, सहनशिलता र बौद्धिकताको मिसाल हो । जनकपुर माता सीताको जन्मभूमि भएकै कारण विश्वका करोडौं हिन्दू धर्मावलम्बीहरूका लागि आस्थाको केन्द्र बनेको छ । 

जुन सीताले हामीलाई पहिचान दिएकी छिन् उनको जन्मदिवसलाई हामीले राष्ट्रिय पर्वसमेत घोषणा नगर्नु धार्मिक भेदभावको प्रतिक हो,’ जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव भन्छन्, ‘भारतको अयोध्यामा जन्मिएका भगवान रामको जन्मदिवस रामनवमीका दिन नेपाल सरकारले सार्वजनिक बिदा दिँदै आएको छ, भगवान गौतम बुद्धको जन्मदिवस बुद्ध जयन्तीका दिन सार्वजनिक बिदा दिइन्छ तर, विश्वसामु हाम्रो धार्मिकता, ऐतिहासिकता र सांस्कृतिक विरासतको पर्याय रहेकी माता सीताको जन्म दिवसका अवसरमा बिदा दिन म सरकारसँग जोडदार माग गर्दछु ।’

जानकी नवमीलाई राष्ट्रिय पर्व घोषणा र यस अवसरमा सार्वजनिक बिदा दिन माग गर्दै जनकपुरमा साधु सन्तहरूले र्‍यालीसमेत निकालेका छन् । यसअघि वैशाख ७ गते नै रामानन्दिय वैष्णव संघ जनकपुरधामले प्रधानमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाएको छ । 

‘सीताको भूमि भनेर मात्रै भाषणमा कुरा राख्नेहरूले यसलाई सही रूपमा सम्मान दिनु पनि आवश्यक छ,’ महिला नेत्रृ विभा ठाकुर भन्छिन्, ‘सीता महिला शक्तिकी एक परिचायक रहेकी छिन् । उनको जन्मदिवसलाई मात्र जनकपुरले होइन कि सम्पूर्ण देशले नै गौरवका साथ मनाउनुपर्दछ । तर, हाम्रो देशको विडम्बना के छ भने मधेसलाई हेपहा प्रवृत्तिले हेर्ने मानसीकता भएकाहरूले माता सीताको जन्मदिवसलाई समेत सोही अनुसारले देखेका छन् । यदि सीता मधेसमा नभएर देशको अन्य भागमा जन्मिएकी भए उनको जन्म दिवसको अवसरमा पक्कै पनि सार्वजनिक बिदालगायत विशेष सम्मानका कार्यहरू हुन्थ्यो होला ।’

धर्मग्रन्थहरूका अनुसार प्राचीन मिथिलामा वर्षौं पूर्वभीषण अकाल पर्दा यहाँका राजा जनकले भूमि यज्ञ गरेका थिए । सोही क्रममा खडेरी परेको भूमिलाई हलोले जोत्न लागेका राजा जनकले पृथ्वीभित्र बालिका स्वरूप माता सीतालाई पाएका थिए । भूमिबाट प्रकट भएकी हुनाले सीतालाई भूमिजा नामले पनि चिनिन्छ । सीता साधारण नारी नभई विर योद्धा र त्याग तथा स्वाभिमानकी प्रतिमूर्ति पनि थिइन् । 

अयोध्याका राजा रामसँग वैवाहिक बन्धनमा बाँधिएपछि श्रीमान् वनगमनमा जाने बेला पत्नीधर्म निर्वाह गर्दै उनीसँग वनमा हिँडेकी माता सीताले आफ्नो आत्मसम्मानको रक्षाका लागि पृथ्वीमै विलिन भएको दृष्टान्त समेत छ । जानकी नवमीको अवसरमा मधेस प्रदेश सरकारले प्रदेशमा बदिँदै आए पनि संघीय सरकारले यस अवसरलाई हालसम्म राष्ट्रिय महत्व दिएको छैन । हुन त बेला–बेला जानकी नवमीमा देशका ठूल्ठूला नेताहरू जनकपुर आएर महोत्सवमा सहभागी हुने गरे पनि यस पर्वलाई राष्ट्रिय पर्वको गरिमा दिन कसैको ध्यान पुगेको छैन । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.