भरतपुर अस्पतालमा मुटु र जलन उपचार सेवा सुरु
काठमाडौंः चितवनको भरतपुर अस्पतालमा मुटु रोगको उपचार सुरु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्याथ ल्याबको उद्घाटन गर्दै मुटु उपचार सेवा सुरु गरे।
मन्त्री पौडेलले क्यान्सरको विस्तारित उपचार, मानव अंग प्रत्यारोपणसँगै मुटु उपचार विस्तार गरेका हुन्। सेवा उद्घाटन गर्दै मन्त्री पौडेलले प्रदेशस्तरमै नागरिकले सेवा पाउन् भनेर विशिष्ट उपचार विस्तार गरिएको भन्दै भरतपुर अस्पतालमा स्थापित क्याथ ल्याबले नागरिकलाई सहज उपचार दिने विश्वास गरे।
‘विशिष्ट उपचार क्रमैसँग प्रदेशमा विस्तार गर्ने योजना अघि बढेको छ,’ उनले भने। अस्पतालमा निर्मित जलन वार्डको समेत मन्त्री पौडेलले उद्घाटन गरे। अब भरतपुर अस्पतालमा जलनका बिरामीको समेत उपचार हुने भएको छ। मन्त्री पौडेलले विपन्नलाई जलन उपचार निःशुल्क बनाउँदै प्रदेशस्तरमा सेवा दिने घोषणा गरेका थिए। सोहीअनुसार आइतबार भेरी अस्पतालमा सेवा सुरु भएको छ भने सोमबार भरतपुरमा समेत वार्ड सुरुवात गरिएको हो।
अब जलनका बिरामीको अस्पतालमा उपचार सहज हुने भएको छ। यसअघि गम्भीर जलनका बिरामीले काठमाडौं पुग्नुपर्ने बाध्यता थियो। अब भरतपुर तथा आसपासका पायक पर्ने ठाउँका बिरामीलाई त्यो समस्या हटेको छ।
यससँगै संघ सरकार अन्तर्गतको भरतपुर अस्पतालमा सन्तानविहीनका लागि इनफर्टिलिटी क्लिनिक सहितका आठ सेवा सुरु भएको छ। वैशाख महिनामा सेवा थाल्ने तालिकाअनुसार अस्पतालमा सेवा सुरुवात भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णप्रसाद पौडेलले बताए।
प्रतिक्रिया दिनुहोस !