नेपाललाई चिनाउँदै पाटेबाघ

नेपाललाई चिनाउँदै पाटेबाघ
फाइल तस्बिर।

बाघ संरक्षणको विश्व प्रतिबद्धतामा बाजी मारेसँगै नेपालमा ह्वात्तै पाटे बाघको घनत्व बढेको छ। बाघ वृद्धि हुने क्रमले निरन्तरता पाएपछि यसको दिगो संरक्षणसँगै व्यवस्थापन तर्फ सरकार लगायत स्थानीय समुदायको ध्यान समेत केन्द्रित गरेको छ।

बाघ पाइने देशहरूले रुसको सेन्टपिटर्सवर्गमा सन् २०१० मा भएको सम्मेलनमा सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता गरे अनुरूप नेपालले तोकिएको समय अगावै झन्डै तेब्बर संख्या बनाएर लक्ष्य सहजै पूरा गरेको छ। अब दीर्घकालीन बाघ संरक्षण र व्यवस्थापनमा कार्ययोजना बनाएर सरकार अगाडि बढ्दै छ। विश्वकै लोपोन्मुख पाटेबाघको संख्या बढेसँगै नेपालको पर्यटन व्यवसायको ढोकासमेत खुलेको छ। पछिल्लो समय नेपालमा बाघ हेर्नकै लागि पर्यटकहरू आउने गरेका छन्। नेपाली कला, संस्कृति, परिकार, भेषभूषाले बाघ र प्रकृति अवलोकन गर्न आउने पर्यटकलाई मन्त्रमुग्ध पार्ने गरेको छ।

बाघ स्वस्थ जंगलको सूचक मानिन्छ। बाघ पाइने जंगल जैविक विविधताले पूर्ण मानिन्छन्। नयाँ बाघहरूले आफ्ना आधार क्षेत्रहरू बढाउँदै गएका छन्। निकुञ्जहरूमा बाघको संख्या उल्लेख्य मात्रामा बढेपछि मानव–बाघ द्वन्द्व बढ्दा निकुञ्जहरूले समस्याग्रस्त पाटेबाघ नियन्त्रणमा लिई खोरमा राख्ने गरिन्छ।

आहाराको खोजीमा बाघहरू जंगल बाहिर निस्कँदा मानवीय तथा पशुधनको क्षति हुने गरेको छ। बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत एवं नेपालका हात्तीविज्ञ डा. अशोककुमार रामले भने, ‘मानवीय आक्रमण गर्ने बाघ डार्ट गरेर खोरमा राख्ने गरेका छौं।’ खुला चिडियाखानामा राखेर त्यस्ता बाघहरूलाई प्राकृतिक रूपमा राख्न सके बाघ पर्यटन थप प्रवर्द्धन हुने उनी बताउँछन्।

नेपालमा २५ वर्षको अवधिमा २ सय ३२ वटा पाटेबाघ वृद्धि भएको छ। सन् १९९९–२००० मा चितवनमा ५५–६०, बर्दियामा ३२–४०, शुक्लामा १६–२३ अन्य स्थानमा ५–७ वटाको संख्यामा रहेको पाटेबाघको संख्या सन् २००५–०६ सम्म यथास्थितिमा रहेको तथ्यांक छ। सन् २००८–०९ को अवधिमा चितवनमा पाटेबाघको संख्या वृद्धि भई ९१ पुगेको थियो। सोही अवधिमा अन्य निकुञ्जहरूमा बाघको संख्या घटेको तथ्यांक पाइन्छ। जसअनुसार बर्दियामा १८, शुक्ला ८, अन्य निकुञ्जमा ० र पर्सामा ४ वटा गरी १ सय २१ वटा पाटेबाघ थिए। बाघ वृद्धि गर्ने नेपालले प्रतिबद्धता गरेपछि सन् २०१३–१४ मा बाघको संख्यामा उल्लेख्य वृद्धि हुन थालेको रामको भनाइ छ।

उनका अनुसार सो अवधिमा चितवनमा १ सय २०, बर्दियामा ५०, बाँकेमा ४, शुक्ला १७, पर्सा ७ गरी पाटेबाघको संख्या १ सय ९८ पुगेको थियो। सन् २०१८ को तथ्यांकमा चितवनमा बाघ घटेर ९३, बर्दियामा ८७, बाँके २१, शुक्ला १६, पर्सा १८ गरी बाघको संख्या २ सय ३५ पुगेको थियो। पछिल्लो तथ्यांकअनुसार हाल चितवनमा १ सय २८, बर्दियामा १ सय २५, बाँकेमा २५, शुक्ला ३६, पर्सा ४१ गरी नेपालमा ३ सय ५५ वटा पाटेबाघ छन्। प्रत्येक ५ वर्षमा बाघको राष्ट्रिय गणना गरिन्छ। आगामी गणनामा पाटेबाघको संख्या थप वृद्धि हुने आकलन गरिएको छ। बाघको संख्या वृद्धिको अनुपात हेर्ने हो भने आगामी वर्षहरूमा बाघको संख्या थप वृद्धि हुने र पर्यटन व्यवसाय थप प्रवर्द्धन गर्न सकिने अनुमान गर्न सकिन्छ।

बर्दिया राष्ट्रिय निकुञ्जमा १ सय २५ वटा पाटेबाघ छन्। यिनको संख्या बढ्दो क्रममा छ। निकुञ्जमा यिनको आहारा प्रजाति ४० देखि ५० हजारको बीचमा छ। त्यो प्रशस्त हो। त्यसलाई दीर्घकालीन रूपमा स्थायित्व दिन बासस्थान, पानीको स्रोत व्यवस्थापनका कार्य गर्दै आइरहेका छौं। उनले भने, ‘स्थानीय समुदायसँग सहकार्य गरी द्वन्द्व व्यवस्थापन, पीडितलाई राहत वितरणलगायत सचेतनाका कामहरू सँगसँगै गरिएको छ। गत वर्ष निकुञ्ज क्षेत्रमा मानव–बाघबीच खासै द्वन्द्व देखिएन। एक जना बाघको आक्रमणमा घाइते हुनुभयो।’ सन् २०२५ सम्म फेरि बाघको गणना हुने उनको भनाइ छ। बर्दियाको मधुवन नगरपालिकामा अवस्थित भारतको कर्तनियाघाट वन्यजन्तु आरक्ष र बर्दिया राष्ट्रिय निकुञ्ज जोड्ने खाता जैविकमार्गलगायत जिल्लाका वन क्षेत्रमा बाघले धनजनको क्षति गर्दै आएको डिभिजन वन कार्यालय बर्दियाका वरिष्ठ अधिकृत द्रोणराज शर्माले बताए। जैविकमार्ग वन्यजन्तु ओहोरदोहोर गर्ने रूपमा विकास गर्नुपर्ने थियो तर हामीले बासस्थानको रूपमा विकास गर्‍यौं। जुन कारणले बाघ मानवद्वन्द्व बढेको उनले सुनाए। गत वर्ष वन क्षेत्रमा ४ जना बाघ र १ जना चितुवाको आक्रमणमा परी मृत्यु भएको छ। जंगलप्रतिको परनिर्भरता घटाउन सके द्वन्द्व पनि घट्ने उनको बुझाइ छ।

पर्यटनको सेतु पाटेबाघ

विश्वकै लोपोन्मुख वन्यजन्तु पाटेबाघ बर्दिया राष्ट्रिय निकुञ्जमा अधिकांश देखिन थालेपछि स्वदेशी तथा विदेशी पर्यटकहरू बाघ हेर्नकै लागि निकुञ्ज आउने क्रम बढेको छ। जंगलमा बाघको संख्यात्मक उपस्थिति बाक्लिएसँगै पाटेबाघ पर्यटनको सेतु बनेको छ।

पर्यटन व्यवयाय गर्ने होटल व्यवसायी, पर्यटक घुमाउने एजेन्सीहरू भनौं वा प्रकृति पथ प्रदर्शकहरू अचेल पाहुनाहरूलाई बाघ देखाएरै व्यवसाय बढाउन प्रयत्नशील छन्। बर्दियामा मात्र होइन काठमाडौंका ट्रेकिङ एजेन्सीहरू पनि पछिल्लो समय बाघ पर्यटनकै प्रचारप्रसारमा छन्। बाघ हेर्नकै लागि विदेशी पाहुनाहरूले होटलहरूको बुकिङ गर्ने टाइगर ट्र्याक नेपाल बर्दियाका सञ्चालक हेमन्त आचार्यले बताए। दर्जनौं पाहुनाहरूले बाघ हेर्नकै लागि होटल बुक गर्ने गरेका छन्। 

बर्दिया निकुञ्ज भित्र धेरै झाडी छैन। धेरै टाढासम्म खुला आँखाले देखिन्छ। पानीपोखरी, घाँसेमैदानलगायत राजमार्गमा पनि सजिलै बाघ देख्न पाइन्छ। आचार्यले थपे, ‘अन्यत्र गन्तव्यहरूमा बाघ नदेखेका पर्यटकहरूले पनि बर्दियामा बाघ देख्छन्। विदेशी पर्यटकहरूले भारतमा भन्दा जैविक विविधता अवलोकन गर्न नेपाल मन पराउने गरेका छन्। पछिल्लो समय पर्यटन व्यवसायीहरूले बाघकै नाम जोडेर सामाजिक सञ्जालहरूमा प्रचार गर्छन्।’ बीबीसीले बर्दिया राष्ट्रिय निकुञ्जमा बाघसम्बन्धी डकुमेन्ट्री निर्माण गरेको उनको भनाइ छ। बाघकै कारण धेरै पर्यटकहरू नेपाल भित्रिने गरेका छन्।

बर्दियामा विगतका वर्षभन्दा पर्यटकको संख्या उल्लेख्य मात्रामा वृद्धि भएको छ। निकुञ्जले आर्थिक वर्ष २०८१÷८२ को हालसम्म ३ करोड ४६ लाख ४७ हजार ८ सय ८२ रुपैयाँबराबरको राजस्व संकलन गरेको छ। चैत मसान्तसम्म २२ हजार ३ सय ७ जना पर्यटकले निकुञ्ज भ्रमण गरेको बर्दिया राष्ट्रिय निकुञ्जका रेन्जर शान्तबहादुर मगरले जानकारी दिएका छन्। जसमा ५ हजार ९ सय २४ जना विदेशी, १ हजार ५९ जना सार्क मुलुक र १५ हजार ३ सय २४ जना नेपाली पर्यटक छन्। निकुञ्जमा बाघ भएका कारण पर्यटकहरू भित्रिने क्रम बढेको छ। पर्यटक बढेसँगै होटल तथा होमस्टे व्यवसायीहरूको संख्यामा समेत वृद्धि भएको छ। पर्यटकको आगमनले स्थानीय पर्यटकीय होटलहरूमा पाहुनाहरू ओइरिने भएकाले स्थानीय कृषि उत्पादनले समेत बजार पाउन थालेको छ। तरकारीलगायत पशुजन्य उत्पादनले स्थानीय होटलहरूमा बजार पाएपछि समुदायलाई आयआर्जनको माध्यम बनेको छ।

निकुञ्जमा घाँसेमैदान, बासस्थान व्यवस्थापनसँगै चोरीसिकार नियन्त्रण भएकोले बाघको संख्या बढेको छ। गएको साल बर्दियामा उल्लेख्य पर्यटकहरू आए। स्वदेशी र विदेशी दुवै पर्यटक बर्दिया आउँछन्। गैंडा क्याम्पका सञ्चालक रामजी थापाले भने, ‘सबैभन्दा बढी पर्यटक बाघ हेर्नकै लागि आउँछन्। जंगल सफारी, वाक र बाघ हेर्ने अधिकांस पर्यटकले चाहना गर्छन्। गत वर्ष ९५ प्रतिशतभन्दा बढी पर्यटकले जंगलमा बाघ देखेको पर्यटन व्यवसायी थापाको दाबी छ। निकुञ्जमा बाघ देखेर घर फर्केका पर्यटकले साथीभाइलाई सुनाएपछि थप पर्यटकहरू बर्दिया आउन प्रेरणा बन्ने गरेको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.