देश बन्दैछ
उपचारमा उन्नति
विगतमा क्यान्सर, मुटु, मिर्गौला र कलेजोजस्ता नसर्ने रोगका बिरामीले रोगको पहिचान गर्न विदेश जानै पर्ने अवस्था थियो। अहिले त्यो हैरानी व्यहोर्नु पर्दैन।
३० वर्षको अवधिमा नेपालको स्वास्थ्य सेवामा के प्रगति भयो ? यसको जवाफ दिइरहनु पर्दैन। नेपाल र नेपाली चिकित्सकले पाएका अन्तर्राष्ट्रिय पुरस्कारहरू नै जवाफका लागि पर्याप्त छन्। उपचार सेवामा बढ्दो प्रगति र पहुँचका कारण नै नेपाल र नेपाली चिकित्सकहरूले विभिन्न अन्तर्राष्ट्रिय पुरस्कार हात पार्न सफल भएका छन्।
गुणस्तरीय उपचार सेवाको लागि चाहिने तीन महत्त्वपूर्ण पक्षहरू हुन्, ‘दक्ष जनशक्ति, आधुनिक उपकरण र भौतिक संरचना।’ यी तीनवटै क्षेत्रमा भएको प्रगतिले स्वदेशमै रोगको पहिचानदेखि उपचारसम्म सम्भव भएको छ। विगतमा क्यान्सर, मुटु, मिर्गौला र कलेजोजस्ता नसर्ने रोगका बिरामीले रोगको पहिचान गर्न विदेश जानै पर्ने अवस्था थियो। अहिले त्यो हैरानी व्यहोर्नु पर्दैन।
वरिष्ठ जनस्वास्थ्य विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलका अनुसार, तीन दशकअघि कुन रोग लागेर ज्यान गएको हो भन्ने थाहा नै नपाई कयौंको अकालमा ज्यान जाने गर्थ्यो। तर, अहिले समयमै रोगको पहिचान गरी उपचार गराएर निको पार्न सकिन्छ। त्यसैले २०४७ सालमा नेपालीको औसत आयु (वर्ष) ५५ थियो। अहिले २०८० सालमा आयु बढेर ७४ वर्ष पुगेको छ।
आधुनिक चिकित्सा (एलोपेथी), आयुर्वेद, होमियोप्याथी, युनानी, प्राकृतिक चिकित्सा, अकुपन्चर लगायतका सेवामा पहुँच पुगेको छ। आधारभूत एवं आकस्मिक स्वास्थ्य सेवा पनि नजिकै पाउन थालेका कारण औसत आयु वृद्धि भएको जनस्वास्थ्य विज्ञहरू बताउँछन्। मुलुकमा प्रजातन्त्रको पुनःस्थापनापछि उल्लेखनीय उपलब्धि हासिल भएका क्षेत्रहरूमा स्वास्थ्य अग्रपंक्तिमा पर्ने वरिष्ठ जनस्वास्थ्य विशेषज्ञ डा.सुशीलनाथ प्याकुरेल बताउँछन्। डा. प्याकुरेल भन्छन्, ‘विकसित मुलुकको तुलनामा हाम्रो स्वास्थ्य सेवा पिछडिएको अवस्थामा छ। तापनि पछिल्लो तीन दशकमा स्वास्थ्य क्षेत्रमा निकै प्रगति भएको छ। नेपालीको प्रतिव्यक्ति आय वृद्धि भएसँगै उपचार गराउन सक्ने सामर्थ्य पनि बढेको छ।’
शिशु मृत्युदर मातृ मृत्युदरमा सुधार
नेपालको संविधान २०७२ ले आधारभूत स्वास्थ्यसेवालाई मौलिक हकको रूपमा स्थापित गरेको छ। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ तथा जनस्वास्थ्य ऐन २०७५ ले प्रजनन स्वास्थ्य तथा सुरक्षित मातृत्व र नवजात शिशु स्वास्थ्यलाई आधारभूत स्वास्थ्य सेवा मार्फत हरेक नागरिकलाई निःशुल्क रूपमा सेवा पुर्याउने लक्ष्य लिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार संविधान तथा ऐनले प्रदान गरेका अधिकार तथा हकमा बच्चा जन्माउने क्रममा ज्यान जान दिनु हुँदैन भन्नेले महत्त्व दिइएको छ। २०४७ सालमा बालमृत्युदर उच्च थियो। एक हजार बालबालिका जन्म हुँदा १ सय ३९ जनाको पाँच वर्ष नपुग्दै मृत्यु हुने गर्थ्यो। अहिले प्रति एकहजार बालबालिकाको जन्म हुँदा २७ जना मात्र मृत्यु हुने गरी बालमृत्युदर घटेको छ। प्रति एकलाख शिशुलाई जीवित जन्म दिँदा ८ सय ५० जना महिलाको मृत्यु हुने गरेकोमा अहिले त्यो १ सय ५१ मा झरेको छ। बाल मृत्यु तथा मातृ मृत्युदरमा उल्लेख्य सुधार गरेका कारण नेपाल सम्मानित पनि भएको छ।
विश्वव्यापी रूपमा नेपालले सहस्राब्दी विकास लक्ष्यअनुसार उच्च रहेको मातृ तथा बाल मृत्युलाई न्यून गरी मातृ तथा बाल स्वास्थ्य सुधारमा गरेको योगदानका लागि अन्तर्राष्ट्रिय पुरस्कारसमेत पाइसकेको छ।
आँखा उपचारमा उन्नति
आँखाको उपचारका लागि विदेशीको गन्तव्य नेपाल बनेको छ। तराई क्षेत्रका आँखा अस्पतालहरूमा ८५ प्रतिशतसम्म भारतीय बिरामीले सेवा लिइरहेका छन्। मोतिबिन्दु उपचार गर्ने सरल विधि (इन्ट्राअकुलर लेन्स) को विकास गरेका डा. सन्दुक रुइतले विभिन्न अन्तर्राष्ट्रिय पुरस्कारसमेत पाएका छन्। अन्धोपन हटाउन खेलेको योगदानको कदर गर्दै उनलाई ‘ईशा अबार्ड’बाट सम्मानित गरिएको छ।
डा. रुइतले अन्य अन्तर्राष्ट्रिय पुरस्कारसमेत पाइसकेका छन्। तिलगंगा आँखा केन्द्र, नेपाल आँखा अस्पताल, लायन्स आइकेयर सेन्टर, बीपी कोइराला लायन्स सेन्टर फर अप्थाल्मिक स्टडिजजस्ता संस्थाहरू पनि आँखा उपचारमा उल्लेखनीय योगदान गरिरहेका छन्। पछिल्लो तीन दशकयता आँखा रोग विशेषज्ञहरूको संख्या पनि ह्वात्तै बढेको छ।
प्रत्यारोपणमा प्रगति
तीन वर्षअघि नेपालमा मिर्गौला, कलेजो प्रत्यारोपणको विषय नै आश्चर्यलाग्दो थियो। तर, अहिले मिर्गौला, कलेजो प्रत्यारोपणको लागि विदेश जानु पर्दैन। नेपाली दक्ष चिकित्सकहरूबाट सफलतापूर्वक प्रत्यारोपण हुन्छ।
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सञ्चालनमा आएको १२ वर्षको अवधिमा एक हजार तीन सयभन्दा बढीको मिर्गौला प्रत्यारोपण भएको छ। सो केन्द्रमा हालसम्म ३३ जनाको कलेजो प्रत्यारोपण भइसकेको छ। केन्द्रमा १५ देखि २० लाखमा कलेजो प्रत्यारोपण हुने गरेको छ। जुन संसारमै सबैभन्दा कम शुल्कमध्येमा पर्छ। गत आर्थिक वर्ष २०८०/०८१ मा १ सय ९६ जनाको मिर्गौला र १५ जनाको कलेजो गरी जम्मा २ सय ११ जनाको प्रत्यारोपण शतप्रतिशत सफलताका साथ सम्पन्न गरेको कुरा समेत केन्द्रले जनाएको छ। केन्द्रले आफ्नै भवन बिना न्यून जनशक्तिका बाबजुत पनि सेवा प्रवाह गरिरहेको छ।
केन्द्रलाई उपयुक्त जग्गा उपलब्ध गराउन सके आफ्नै स्रोतसाधनबाट तीन सय बेडको भवन निर्माण गर्ने योजना बनाएको छ। हाल वार्षिक करिब दुई सय जनाको मिर्गौला प्रत्यारोपण र १५ जनाको कलेजो प्रत्यारोपण गरिरहेको छ। यस केन्द्रलाई अन्य संस्था जस्तै शैक्षिक प्रतिष्ठान बनाउन सके तीन सय प्रतिशत थप कलेजो तथा मिर्गौला प्रत्यारोपण गर्ने सक्ने लक्ष्य लिइएको छ।
१५ वर्षअघि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारका लागि पुगेका मिर्गौलाका बिरामीको केही परीक्षण गर्नु परे बाहिर पठाइन्थ्यो। औषधिहरू बाहिरबाट ल्याउनु पर्थ्यो। सेवा पाउन पालो कुर्नु पर्थ्यो। तर अहिले पूर्वाधार मात्र बनेको छैन। सेवामा पहुँच पनि बढेको छ। २०६५ सालमा मिर्गौला प्रत्यारोपण सुरु भएयता झन्डै एक हजार अस्पतालमा व्यक्तिको मिर्गौंला प्रत्यारोपण भइसकेको छ। २०७६ सालमा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत यसै अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका थिए।
पछिल्लो ६ वर्षदेखि जटिल मानिने कलेजो प्रत्यारोपण सेवा पनि सुरु भएको छ। वरिष्ठ कलेजो सर्जन प्रा.डा. रमेशसिंह भण्डारीका अनुसार ६ वर्षको अवधिमा १६ जनाको कलेजो प्रत्यारोपण भइसकेको छ। ९ वटा कलेजो प्रत्यारोपणमा विदेशी चिकित्सकको संलग्नता रहे पनि हाल नेपाली चिकित्सकहरूले मात्रै गर्दै आएका छन्।
‘९ पटकसम्मको प्रत्यारोपणमा हामीले विदेशी अनुभवी चिकित्सकको सहयोग लियौं। तर अहिले हामी आफैंले मात्र गर्दै आइरहेका छौं,’ प्राडा. भण्डारी भन्छन्, ‘कलेजो प्रत्यारोपणमा बिरामीहरू अपेक्षाअनुसार आएका छैनन्। कतिपयलाई जानकारीसमेत नभएको हुन सक्छ। बिरामी आएमा हरेक महिना कलेजो प्रत्यारोपण गर्न सक्ने गरि सामर्थ्य बढाएका छौं।’ पछिल्लो दुई दशकको अवधिमा स्वास्थ्य क्षेत्रमा जुन गतिमा प्रगति भइरहेको छ, त्यसबाट सन्तुष्ट भएको डा. भण्डारी बताउँछन्। डा. भण्डारी थप्छन्, ‘आगामी १० वर्षभित्र गर्व गर्न सकिने गरी सेवाको गुणस्तर वृद्धि हुने आसा गरेको छुँ।’ अहिले निजी मेडिकल कलेज र अस्पतालहरूमा पनि मिर्गौला प्रत्यारोपण भइरहेको छ। मिर्गौला प्रत्यारोपण विज्ञहरूसमेत वृद्धि भइरहेको छ।
२०५३ फागुन १६ मा पूर्ण रूपमा नेपाली टिमबाट पहिलो पटक त्रिवि शिक्षण अस्पतालमा मुटुको ओपन हार्ट सजरी भएको थियो। गंगालाल हृदय रोग केन्द्र, वीर अस्पताललगायतका सरकारी एवं निजी अस्पतालमा ओपन हार्ट सजरी भइरहेको छ। १२ हजारभन्दा बढी मुटु शल्यक्रिया गरेका प्रा.डा. भगवान कोइराला नेपालमा बालबालिकाको उपचारको निम्ति सातवटै प्रदेशमा बहुविशिष्टिकृत अस्पताल बनाउन व्यस्त छन्।
क्यान्सर रोगको उपचारमा पनि पहुँच बढेको छ। भक्तपुर क्यान्सर अस्पताल, बीपी स्मृति क्यान्सर अस्पताल, भरतपुर, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताललगायतका सरकारी अस्पतालमा क्यान्सरको उपचार हुन्छ। सरकारीका साथै निजी अस्पतालहरूमा सर्जरी, रेडियोथेरापी र केमोथेरापी सेवा उपलब्ध छ।
उपचारमा बढ्दै पहुँच
सरकारले स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र तथा आयुर्वेदिक औषधालयबाट ९८ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ। मुटु, मिर्गौला र क्यान्सरजस्ता आठ प्रकारका कडा रोग लागेका विपन्न नागरिकलाई तोकिएको अस्पतालबाट एक लाख रुपैयाँसम्मको निःशुल्क उपचार सेवा उपलब्ध छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार यसले विपन्न नागरिकको सुलभ स्वास्थ्य उपचारमा पहुँच बढेको छ।
प्रतिक्रिया दिनुहोस !