समृद्ध नेपाल, सुखी नेपाली : मेरो सपनाको प्रस्तावना
मैले जीवनमा बारम्बार आफैसँग एउटै प्रश्न सोधिरहेँ मानव जातिको सबैभन्दा गहिरो आकांक्षा के हो त ? किन विद्वान्हरूले तृष्णा र भौतिक लोभ छाडेर तपस्याको बाटो रोजे ?
किन उनीहरूले आफ्नो जीवन चिन्तन, मनन र संवादमा समर्पित गरे ?
यी प्रश्नहरूको उत्तर खोज्दै म शास्त्रहरूको गहिराइमा डुबेँ, विश्लेषण गरेँ, मनन गरेँ, सोचेँ। मैले धेरैपटक वेदका ऋचाहरू पल्टाएँ, पुराणहरूमा गहिरिएँ, विभिन्न दर्शनहरूमा घोत्लिएँ। व्यवहारमा हामी कति लागू गर्छौं बेग्लै कुरा भयो तर हाम्रा शास्त्रहरूले अमूल्य जीवन सूत्र दिएका छन्। त्तैतिरीय उपनिषद्मा लेखिएको छ–
‘सत्यं वद, धर्मं चर।
स्वाध्यायान्मा प्रमदः।
सत्यं ब्रुयात् प्रियं ब्रुरूयात्।
न ब्रुयात् सत्यमप्रियम्।
प्रियं च नानृतं ब्रुयात्।
एष धर्मः सनातनः।।’
अर्थात्— सत्य बोल। धर्मको आचरण गर। स्वाध्यायमा कहिल्यै प्रमाद नगर। सत्य बोल, प्रिय बोल तर अप्रिय सत्य नबोल, प्रिय भए पनि असत्य नबोल। यही सनातन धर्म हो।
कति सुन्दर दृष्टि ! कति गहिरो सन्देश !
कसैलाई दुःख नदिई, कसैलाई कष्ट नदिई, सत्य र प्रियताको बीच सन्तुलन राख्न सक्नु यही त हो, मानव जीवनको सबैभन्दा उच्च साधना। हाम्रा मन्त्रहरूले नै ज्ञान दिन्छन्, आशीर्वाद दिन्छन्— सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः। अर्थात्— सबै जना सुखी होऊन्। सबै निरोगी रहून्। सबैले शुभ कुरा हेर्न पाऊन्। र, कुनै पनि व्यक्ति कहिल्यै दुःखको भागी नबनोस्। यो केवल प्रार्थना होइन, यो हाम्रा पुर्खाहरूको हजारौं वर्षको अनुभवबाट जन्मिएको जीवनदर्शन हो।
उहिलेका हाम्रा पुर्खाहरूले बुझेका र उति बेलै निष्कर्षमा पुगेका थिए– मानिसको सम्पूर्ण चेष्टा र प्रयासहरूको गन्तव्य अन्ततः सुख प्राप्ति नै हो। तर त्यो सुख केवल इच्छा वा कामनाबाट होइन, स्रोत–साधनहरूको सही उपयोग गरी आउने समृद्धिबाट प्राप्त हुन्छ। त्यसैले, वेदका ऋचादेखि पुराणका आख्यानसम्म, अरस्तुका तर्कदेखि बुद्धका ध्यानसम्म सबैले जीवनलाई एउटै दिशातर्फ डोर्याएका छन्— समृद्धि र सुखतर्फ।
चार्वाकको भौतिकवादी दृष्टिकोणदेखि अष्टावक्रको ‘आध्यात्मिक विद्रोह’ सम्म, कपिल मुनिको सांख्य विश्लेषणदेखि लाओ त्से र कन्फ्युसियसको जीवन–सन्तुलनसम्म म पढ्दै गएँ। सुकरातको प्रश्न–चिन्तन, कान्टको नैतिक–विवेक, माक्र्सको वर्ग–संघर्ष, लेनिनको क्रान्ति, गान्धीको सत्याग्रह, माओको जनक्रान्ति, कौटिल्यको चातुर्यदेखि एडम स्मिथको अदृश्य हातसम्म सबै विचारधाराले सुख र समृद्धिका आ–आफ्ना भाष्य दिएका छन्। फ्रायडले त झन् यो यात्रालाई भित्री मनको अँध्यारो कोठासम्म पुर्याए जहाँ चाहना, पीडा र सुखको चेतन–अचेतन द्वन्द्व चलिरहन्छ।
जब लक्ष्य छैन, तब यात्रा केवल भौतारिन्छ। जब पुग्ने गन्तव्य छैन, तब यात्रु थकित र अलमलिएको हुन्छ। हाम्रो देश पनि लामो समयसम्म एउटा साझा सपना, साझा दिशाको अभावमा भौतारिरहेको थियो।
यी सबै व्यक्ति, शास्त्र, विचार र दर्शनले जुन दिशातर्फ इसारा गर्थे त्यो एउटै केन्द्रमा आएर अडिएको थियो– सुख। सबै शास्त्र र विद्वान्हरूका ‘उक्ति र जुक्ति’ सबै सुख प्राप्तिमा केन्द्रित भएको देखेँ। र, मैले आफैले आफैलाई सोधें, सर्वोपरि म के चाहन्छु ? उत्तर स्पष्ट थियो– हो, म पनि सुख नै खोजिरहेको छु।
म सुख खोजिरहेको छु तर कहिलेकाहीँ आफैसँग सोध्छु, के म साँच्चै एक्लै सुखी हुन सक्छु ? मलाई लाग्छ, म जुन शान्तिको खोजीमा छु, त्यो केवल मेरो मनभित्र सीमित छैन। त्यो शान्ति त हरेक घरका छानाबाट, सहरका सडक र गाउँका गोठसम्म फैलिनु पर्छ। म जुन समृद्धिको कल्पना गर्छु, त्यो हरेक घरघरको आँगनमा फैलिनुपर्छ। म जुन सम्मानको चाहना राख्छु, त्यो तब मात्र अर्थपूर्ण हुन्छ, जब कसैका आँखा अपमानले झुकेको हुँदैन। मैले देखेको छु, एउटा बच्चा, जसको पेट खाली छ, आशाको सट्टा आँखा आँसुले भरिएका छन्। एक आमाको हातमा रित्तो भाँडो छ, तर मनमा डर, चिन्ता र निराशाको बादल छ। कसरी म आफैलाई सुखी भन्न सक्छु, जब मेरो समाज चिच्याइरहेको छ ?
म एक्लो होइन। म परिवारको हिस्सा हुँ, चाहे त्यो संयुक्त होस् वा एकल। जब मेरो परिवार नै दुःखी छ, म कसरी सुखी हुन सक्छु ?
जब मेरो समाज नै पीडामा छ, म कसरी निश्चिन्त रहन सक्छु ? त्यसैले, मैले बिस्तारै बुझ्दै गएँ, सुखको खोज केवल आफ्नो लागि होइन। सुखको खोज भनेको समाजप्रतिको जिम्मेवारी पनि हो। र, त्यो मानवीयताको गहिरो अभ्यास पनि हो। त्यसकारण यदि म सुख चाहन्छु भने मैले त समाजलाई सुखी बनाउन पो लाग्नु पर्ने रहेछ।
त्यसैले, धेरै वर्षदेखि ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने सपना बोकेको छु। मैले देखेको यो सपना कुनै आदर्शवादी कल्पना होइन, न त केवल राजनीतिक रणनीति। यो त मेरो भोगाइ, बोध, संघर्ष र स्वप्नहरूको संयोजन हो। यो सपना, मेरो यात्रालाई दिशा दिने मौन प्रेरणा जस्तै बनेको छ। एक हिसाबले भन्ने हो भने यो मेरो जीवनको कम्पास हो, जसले कठिन मोडहरूमा पनि मलाई बाटो देखाइरह्यो र निरन्तर सम्झाइरह्यो– म किन हिँडेको छु ? कहाँ पुग्न हिँडेको छु ?
म अहिले ठ्याक्कै सम्झन सक्दिनँ, मैले कहिले पहिलो पटक ‘समृद्ध’ र ‘सुखी’ भन्ने शब्दलाई नेपाल र नेपालीसँग ल्याएर जोडेँ। कुन दिन, कुन घडी, कुन मोडमा यी शब्दहरू मेरो मनमा आए र कसरी मिठो नारा जस्तो सुनिने गरी नेपाल र नेपालीसँग बुनिए। साँच्चै त्यो पनि म भन्न सक्दिन अहिले।
हुन त यी शब्दहरू न त पहिलो पटक मैले प्रयोग गरेको हुँ न त म आफैले सिर्जना नै गरेको हुँ। विभिन्न समयका विभिन्न सन्दर्भमा धेरैले धेरै पटक प्रयोग गरिसकेका छन्। फरक यत्ति हो, यी ‘समृद्ध’ र ‘सुख’ शब्दलाई मैले मेरा निजी अनुभव र अनुभूतिका धागोमा आफ्नै हिसाबले नेपाल र नेपालीको आकांक्षासँग जोड्ने प्रयास गरेको छु।
मलाई थाहा छ— स्वतन्त्रता कति मूल्यवान् हुन्छ, जब त्यो खोसिन्छ। स्वास्थ्य कति आवश्यक हुन्छ, जब त्यो संकटमा पर्छ। भरोसा कति महत्वपूर्ण छ, जब कोही हरक्षण असुरक्षित महसुस गर्छ। सम्मान कति अमूल्य हुन्छ, जब कोही व्यक्ति वा राष्ट्र अपमानित महसुस गर्छ। समानता कति आवश्यक हुन्छ, जब भेदभावको पीडाले आत्मसम्मान रोइरहेको हुन्छ। हक–अधिकार कति मूल्यवान् हुन्छ, जब मानिसले आफ्नो आवाज नै गुमाएको अनुभूति गर्छ।
संघर्षका ती लामा रातहरू, जहाँ निद्राले साथ छोड्थ्यो र विचारहरूले घेरा हाल्थे। जेलका ती अँध्यारा कोठाहरू जहाँ समय स्थिर जस्तै हुन्थ्यो, तर सपनाहरू लगातार आन्दोलनमा रहन्थे। अस्पतालका ती पट्यारलाग्दा क्षणहरू जहाँ शरीर असक्त थियो, तर मनभित्रको विश्वास भने दिन–प्रतिदिन अझ बलियो र गहिरो हुँदै गइरहेको थियो। मलाई के लाग्छ भने यी सबै क्षणहरू ‘समृद्ध नेपाल, सुखी नेपाली’ का लागि प्रेरणाका स्रोतहरू हुन्। यी क्षणहरू मलाई रोक्न होइन, सम्झाउन आएका थिए— म किन हिँडेको छु ? कहाँ पुग्न हिँडेको छु ?
म सुख खोजिरहेको छु तर कहिलेकाहीँ आफैसँग सोध्छु, के म साँच्चै एक्लै सुखी हुन सक्छु ? कसरी म आफैलाई सुखी भन्न सक्छु, जब मेरो समाज चिच्याइरहेको छ ?
मलाई फर्केर हेर्दा अचम्म लाग्छ, कसरी यी शब्दहरूले केही वर्षमै सिंगो देशको मुटु छोए। कसरी तिनले जन–जनको अनुहारमा आशाको झिल्को ल्याए। आज यी शब्दहरू अब केवल मेरा व्यक्तिगत सपना होइनन्, यी त देशका साझा सपना बनेका छन्। ‘समृद्ध नेपाल, सुखी नेपाली’ अब कोही एक नेताको आकांक्षा होइन, यो सिंगो देशको सामूहिक सपना बनेको छ जहाँ हरेक नेपाली आफूलाई देख्छ र आफ्नो भोलिलाई खोज्छ।
यस्तो किन भयो होला भनेर म कहिलेकाँही आफैसँग गम्छु, मलाइ के लाग्छ भने यो देशले कहिल्यै सपना नै देख्न पाएको थिएन। देशको सपना एक हिसाबले भन्ने हो भने मुर्झाएको थियो किनकि यो थिचिएको थियो, दबिएको थियो। देशको मुर्झाएको सपनालाई ‘समृद्ध नेपाल सुखी नेपाली’ ले ब्युँताइदियो।
हुन त पहिले पनि सपनाहरू नभएका होइनन्, तर ती सपना, प्रायः व्यक्तिका थिए– निजी स्वार्थका, शासकीय महत्वाकांक्षाका, पद र शक्तिको रक्षाका। शासक वर्गका सपनाहरू, प्रायः आफ्ना लागि वा आफ्ना वंशका लागि सीमित हुन्थे। संकीर्ण स्वार्थहरूको वरिपरि घुम्थे। उनीहरूका स्वार्थमा जनताका सपना कहिल्यै प्रतिबिम्बित भएनन्। ती सपनाहरू कहिले श्री ३ का हुन्थे त कहिले श्री ५ का। जनताको पीडा, जनताको आकांक्षा, जनताको आवश्यकता र भविष्य ती स्वार्थमा कहीँकतै अट्दैन थिए। कहीँ कतै भेटिदैन थिए।
जब लक्ष्य छैन, तब यात्रा केवल भौँतारिन्छ। जब पुग्ने गन्तव्य छैन, तब यात्रु थकित र अलमलिएको हुन्छ। हाम्रो देश पनि लामो समयसम्म एउटा साझा सपना, साझा दिशाको अभावमा भौँतरिरहेको थियो। मलाई लाग्छ, खट्किएको राष्ट्रिय सपनाको अभाव ‘समृद्ध नेपाल सुखी नेपाली’ले परिपूर्ति गरेको छ। मलाई लाग्छ, राजनीतिक चेतनाको हिसाबले, अर्थतन्त्रको विकासका हिसाबले, उन्नत विकास र न्यायोचित वितरण हिसाबले ‘समृद्ध नेपाल सुखी नेपाली’ एक ‘होलिस्टिक’ अप्रोच हो। त्यसैले छोटो समयमै यसले धेरैलाई एकाकार गर्न सकेको छ।
कतिले मलाई सोध्नु हुन्छ, समृद्धि र सुख भनेको के हो ?
यसमा मेरो बुझाइ साधारण छ।
जब जैविक र मानवीय न्यायोचित आवश्यकताहरू सहज रूपमा उपलब्ध हुन्छन्, त्यो अवस्थालाई हामी समृद्धि भन्छौँ। यो तब मात्र सम्भव हुन्छ, जब हामी प्राकृतिक र मानव स्रोतहरूको अधिकतम सदुपयोग गरेर निर्माण, उत्पादन र विकासलाई अगाडि बढाउँछौं।
यसरी प्राप्त समृद्धिमा सुरक्षा, न्याय, समानता, हक–अधिकार, अवसर र सम्मान जोडिएपछि सुख प्राप्ति हुन्छ।
नेपाल र नेपालीका लागि ‘समृद्धि’ र ‘सुख’ भनेको के हो ? यसको प्राप्ति कसरी हुन्छ भन्नेबारे म आगामी अंकहरूमा चर्चा गर्नेछु।
प्रतिक्रिया दिनुहोस !