के हो मेनोपज ?, के के जाँच गर्ने ?

के हो मेनोपज ?, के के जाँच गर्ने ?
सांकेतिक तस्बिर।

नेपालमा सामान्यतया ४० वर्ष देखि ५५ वर्ष (औसतमा ५० वर्ष) सम्ममा नेपाली महिलाहरूको महिनावारी सुक्ने गरेको छ। महिलाको उमेर घर्केपछि डिम्बासयमा डिम्ब निख्रिनाले तथा टाउको भित्रको हाइपोथालामस, पिट्युटरी ग्रन्थीदेखि पाठेघरको भित्री तहको आ–आफ्नो काममा शिथिलता आउनाले महिनावारी सुक्दछ। डिम्बासयका क्रियाकलापमा कमी आएर प्रजनन उमेरको अन्त्यका स्थायी रूपमा महिनावारी बन्द हुने परिस्थितिलाई रजनोवृत्ति भनिन्छ। रजनोवृत्ति भन्नलाई लगातार कम्तीमा १२ महिनासम्म महिनावारी बन्द भइसकेको हुनुपर्छ। मेडिकल भाषामा महिनावारी सुक्न लागेको अवस्थालाई पेरिमेनोपज, महिनावारी बन्द भएकालाई मेनोपज र सुकेपश्चात्को अवस्थालाई पोस्टमेनोपज भनिन्छ।

गर्भको संख्या, स्तनपानको अवधि, पिल्स चक्कीको सेवन, सामाजिक तथा आर्थिक अवस्था, जाति, उचाइ, तौलसँग पनि यसको सम्बन्ध छैन। तर,  पातलो ज्यान भएकी, कडा खालको कुपोषण भएकी तथा धुम्रपान गर्ने महिलामा चाँडै रजनोवृत्ति हुनसक्छ। ४० वर्षमुनिको महिनावारी सुक्नुलाई चाँडै रजनोवृत्ति, ५५ वर्षपछि महिनावारी सुक्नुलाई ढिलो रजनोवृत्ति भनिन्छ। पाठेघरमा मासु पलाएमा, मधुमेह, कतिपय डिम्बासयको ट्युमरमा ढिलो रजनोवृत्ति हुन्छ भने पाठेघर निकाल्ने वा अन्य शल्यक्रियाका क्रममा दुवै डिम्बासय निकालेमा वा विकीरणका कारणले कृत्तिम रूपमा रजनोवृत्ति निम्तिन्छ।

विश्वमा अन्यत्र जस्तै नेपाली महिलाहरूको औसत आयुको वृद्धिसँगै रजनोवृत्तिपछि पनि एक तिहाई जीवन बाँकी हुने हुँदा यस अवधिमा लामो समयसम्म इस्ट्रोजेन हर्मोनको अभावमा विभिन्न स्वास्थ्य समस्या उत्पन्न हुन्छ। इस्ट्रोजेन हर्मोनको अभावमा पाठेघरलाई भर दिने मांसपेसी तथा बाक्लो तन्तु पनि खुकुलो हुन गई आङ खस्नेलगायत पिसाब थैली झोलिने, पिसाब राम्ररी ननिख्रने समस्या उत्पन्न हुन बेर लाग्दैन।

लक्षण चिह्न

रजनोवृत्ति हुनै लाग्दा वा रजनोवृत्तिपछि डिम्बासय सुक्छ, चाउरिन्छ। पाठेघर, डिम्बवाहिनी नली, योनीद्वार साँगुरिन्छ। यी अंगका लचकपना घट्छन्। यिनीहरूका बाह्य सतह पातलिन्छन्। डोडेरलेन नामक व्याक्टेरियाको अभावमा योनीद्वारको क्षारियपना बढ्न गई स्त्री जननेन्द्रियको संक्रमणको खतरा बढ्छ। स्तनमा बोसोको मात्रा घट्न गई आकार सानो हुन्छ। यसकारण स्तन झोलिने हुन्छ। रजनोवृत्ति भएकी महिलाको छाला चाउरिने, चाँडै असर पुग्ने, संक्रमण हुनसक्छ।

रजनोवृत्तिपछि हड्डी कमजोर हुने, हड्डी त्यत्तिकै भाँचिने, हृदयाघात हुने, मुटुका रक्तनलीको समस्या हुने, मस्तिष्कघात हुने सम्भावना बढ्छ। सामान्यतया हड्डीको निर्माण तथा क्षय महिलाको उमेर, इन्डोक्राइन क्रियाकलाप, पोषण तथा वंशाणुगतमा भर पर्ने भए पनि रजनोवृत्तिपछिको प्रतिवर्ष ३ देखि ५ प्रतिशत हड्डीको मात्रा घट्छ। इस्ट्रोजेनको अभावमा रजनोवृत्तिपछि कोलेस्टेरोलको मात्रा तथा हानिकारक लिपोप्रोटिन बढ्ने, फाइदाजनक लिपोप्रोटिन घट्ने, रक्तनलीको भित्ताको बाक्लोपना बढ्ने, कडा हुने, रक्तनलीभित्रै रगत जम्ने समग्रमा मुटुसम्बन्धी समस्या बढ्न सक्छ।

रजनोवृत्ति अगाडि महिनावारी गडबडी हुने वा महिनावारी एक्कासि बन्द हुनसक्छ। यस क्रममा बग्ने रगतको मात्रा कम हँुदै जाने वा अधिक मात्रामा रगत बग्ने वा धेरै समयको फरकमा महिनावारी (अनियमित) हुनसक्छ। रजनोवृत्तिलगत्तै कतिपय महिलालाई बेलुकी गर्मी महसुस हुने, पसिना आउने, निन्द्रा लाग्न गाह्रो हुने, मुटुको ढुकढुकी बढ्ने, नाडी छिटो चल्ने हुनसक्छ भने यौनसम्पर्कका क्रममा बढ्ता पीडा हुने हुनसक्छ। यस्तो महिलामा हाँस्दा, खोक्दा वा गह्रुँगो भारी उठाउँदा पिसाब छुट्ने तथा पिसाब पोल्ने, पटक–पटक पिसाब लाग्ने हुनसक्छ। यसका साथै चिन्ता हुने, टाउको दुख्ने, निद्रा नलाग्ने, चिडचिडाहट हुने, उदास हुने हुनसक्छ।

बढी उमेर, एसियन तथा गोरा जाति, इस्ट्रोजेनको अभाव, कम शारीरिक तौल, चाँडै रजनोवृत्ति, खानामा क्याल्सियम भिटामिन डीको कमी, क्याफिन तथा धूम्रपान बढी सेवन गर्ने रजनोवृत्ति भएकी महिलामा मुटु तथा रक्तसञ्चारसम्बन्धी समस्याको जोखिम बढी हुन्छ भने हेपारिन वा कोर्टिकोस्टेरोइड सेवन, थाइरोइड समस्या, पाचन गडबडी भएकामा हड्डी कमजोर हुन्छ।

ल्याब परीक्षण

कतिपय महिलामा रजनोवृत्तिका लक्षण चिन्हहरू क्यान्सरलगायत अन्य गम्भीर स्वास्थ्य समस्यासँग झुक्किन सक्छ। र, थाइरोइड हर्मोनको कमी हुने हाइपोथाईरोईडिज्म यस्तै अर्को गतिलो उदाहरण हुनसक्छ। यसरी रगत जाँचपछि रजनोवृत्ति चरण पुग्न लागेको निर्धक्क भएपछि अन्य अप्रत्याशित स्वास्थ्य समस्या नभएको ढुक्क पनि भइन्छ। महिलामा इस्ट्रोजन, प्रोजेस्टेरोन, टेस्टोस्टेरोनलगायत डीएचईए (DHEA ), थाईरोइड हर्मोनको परीक्षणपश्चात् तपाईको चिकित्सकलाई पनि तपाई रजनोवृत्तिको कुन बिन्दुमा हुनुहुन्छ भन्ने थाहा हुन्छ र तपाईलाई कस्तो खालको उपचारको जरुरत पर्दछ, निर्धारण गर्न सहज हुन्छ। तर, हर्मोन परीक्षण सम्बन्धमा एउटा सजकता के छ भने शरीरमा हर्मोनको लेभल अनुसारको रजनोवृत्तिका लक्षणहरू देखापर्नुपर्छ भन्ने बाध्यता भने हुँदैन। ल्याब परीक्षणको क्रममा एफएसएच, एलएच (FSH,LH), इस्ट्रोजन, प्रोजेस्टेरोन र टेस्टोस्टेरोनको मात्रा, सुगरको लेभल, लिपिड प्रोफाइल (समग्रमा विभिन्न थरिका कोलेस्टेरोलको जाँच), मिर्गौला एवं कलेकजोको काम गराईको जाँच (Renal function test / Liver function test), मुटुको प्रारम्भिक परीक्षणको लागि ईसीजी, स्तनको क्यान्सरको स्क्रिनिङका लागि म्यामोग्राफी, यसैगरी डिम्बासय एवं पाठेघरको क्यान्सरको स्क्रिनिङका लागि अल्ट्रासाउन्ड र पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङका लागि प्याप स्मियर, कल्पोस्कोपी, भीआईए, एचपीभी टेस्ट, योनी श्रावको जाँच गरिन्छ। उपचारमा संलग्न चिकित्सकलाई सहज लाग्ने ल्याब परीक्षण नै स्विकार्नुस् किनकि तपाईको उपचार ल्याबको रिपोर्ट मात्रले नभई तपाईको समग्र परिस्थिति विचार गरेर चिकित्सकले नै गर्ने हुन्।

यदि तपाई रजनोवृत्तिबाट प्रताडित हुनुहुन्छ र लक्षणहरू नै छन् भने उपचार सुरु गर्नुपूर्व र पछि हर्मोनको लेभल चेक गर्नु राम्रो हुन्छ। वास्तवमा उपचार थाल्नु अगाडि त्यति साह्रो हर्मोनको चेक गराउने गरिँदैन तर हर्मोनको लेभल प्रत्येक दिन (दिनमै पनि धेरै पटक) वा महिनामा तल माथि भैराख्छ भन्ने हेक्का भने हुनुपर्छ। त्यसो भएर नमुना संकलन गर्ने (विशेषतः टेस्टोस्टेरोनको लागि) उपयुक्त समय भनेको बिहानी सखारैको समय हो। महिनाको कुन दिनमा भन्ने कुरा गर्नुहन्छ भने मासिक चक्रको बीसौंदेखि तेइसौं दिनमा, जुन बखत प्रोजेस्टेरोन यसको उचाइमा हुन्छ। जीवनशैलीमा ल्याएको परिवर्तनसँगै हर्मोन लेभलमा उल्लेख्य परिवर्तन आउन सक्ने हुनाले फलोअपको बेला पनि हर्मोन जाँच गराउन मनासिब नै हुन्छ।

यसै परिप्रेक्ष्यमा पेरिमोनपज, मेनोपज एवं पोस्टमेनोपज अवस्थाका महिलाहरूको समग्रमा स्वास्थ्य जाँच एवं ल्याब परीक्षण तथा त्यसपछि आवश्यक उपचारका लागि हालै युएनएफपीएको सहकार्यमा धुलिखेल अस्पतालमा मेनोपज क्लिनिकको सुरुवात गरिएको छ। 

(डा. ताम्राकार धुलिखेल अस्पतालमा कार्यरत छन्।)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.