यो शासन व्यवस्था र संविधान जोगाउनु हाम्रो दायित्व हो : प्रचण्ड

यो शासन व्यवस्था र संविधान जोगाउनु हाम्रो दायित्व हो : प्रचण्ड
सुन्नुहोस्

गोरखा : पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान र शासन व्यवस्थाको रक्षा गर्न अपिल गरेका छन्। गोरखाको सहिद लखन गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन सभामा बोल्दै उनले यो शासन व्यवस्थाप्रति नकारात्मक भाष्य निर्माण गर्ने दुष्प्रयास भइरहेकाले यसको प्रतिवाद गर्न आग्रह गरेका हुन्।

‘हामी सबैको दशकौं लामो संघर्ष र धेरैको बलिदानीपछि मात्रै महिला, दलित, आदिवासी, मजदुर, किसान, सबै वर्ग क्षेत्र, समुदायको पहिचान र अधिकारसहित यो संविधानले प्रदान गरेको छ तर, अहिले कता कता संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रश्न उठाउने प्रयास भइरहेको छ’, उनले भने, ‘यसको रक्षाका लागि हामी फेरि एकताबद्ध भएर अगाडि बढ्नैपर्छ। तर मुख्य कुरा जनताका समस्या समाधान गर्ने कुरामा जनतालाई सुशासन, सामाजिक न्याय र आर्थिक विकास दिने कुरा महत्वपूर्ण छ। हामी अझ पनि त्यसमा केन्द्रित हुन जरुरी छ। मलाई लाग्दैन कि अहिले यो संविधान र यो सिस्टमका विरोधीहरू सफल हुनेछन्। यो अहिले सम्भावना छैन।’

नागरिकलाई सुशासन दिएर यसको प्रतिवाद गर्न सकिने उनले विश्वास व्यक्त गरे। ‘हामीले जनतालाई सकारात्मक परिणाम दिँदै गयौँ भने विपक्षीहरु त्यत्तिकै बिलाएर जान्छन्। तैपनि हामी सतर्क हुनुपर्ने आवश्यकता छ’, उनले भने, ‘अहिले कतै न कतैबाट नेगेटिभ भाष्य बनाउने कोषि भइरहेको छ। नेपालका सबै खत्तम, नेपालमा केही पनि हुँदैन। नेपालमा केही पनि छैन भन्ने जस्तो भाष्य बनाउने जस्तो गलत कुरा अरु केही हुनै सक्दैन।’

नेपाल सुन्दर र प्राकृतिक स्रोत साधनले भरिपूर्ण छ भन्दै उनले यसको सदुपयोगले सुन्दर, शान्त, समृद्ध नेपाल निर्माण गर्न उनले आग्रह गरे। ‘संसारका सबैभन्दा धेरै चीज भएको देश हो नेपाल। नेपालीहरू निकै मेहनती पनि छन् तर, केही समयदेखि हाम्रो मानसिकता बिग्रिने, हाम्रो भाषा बिग्रिने, हामीले देशलाई माया गर्नुपर्ने, यहीँ मेहनत गर्नुपर्ने त्यसमा भने विचलन आएको हो कि ? यसमा समीक्षा गर्न जरुरी छ।’

सोही कार्यक्रममा बोल्दै उनले बूढीगण्डकी जलविद्युत आयोजना बन्ने र बन्नैपर्नेमा जोड दिए। ‘बूढीगण्डकी जलविद्युत कम्पनीको सम्पर्क कार्यालय मैले नै उद्घाटन गरेको हो। मेरो पालामा बूढीगण्डकी मोडालिटीको बारेमा जति धेरै बैठक अरु विषयमा भएन’, उनले भने, ‘त्यसैले बूढीगण्डकी बन्छ, बनाउनैपर्छ। मलाई थाहा छ, जनतालाई धेरै पीडा भएको छ। यो अनिर्णयको अवस्था धेरै लामो रहनुहुँदैन।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.