लिग २ को सिरिजका लागि क्रिकेट टिमको सल्लाहकारमा निक पोथास
काठमाडौं : राष्ट्रिय पुरुष क्रिकेट टिमको स्कटल्यान्ड सिरिजका लागि नेपाल क्रिकेट संघ(क्यान)ले दक्षिण अफ्रिकी प्रशिक्षक निक पोथासलाई सल्लाहाकार प्रशिक्षक नियुक्त गरेको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार एक विज्ञप्ति जारी गर्दै उनलाई नियुक्त गरिएको जानकारी दिएको हो।
क्यानले आइसीसी विश्वकप लिग २ को स्कटल्यान्ड सिरिजका लागि मात्र उनलाई सल्लाहाकार प्रशिक्षकको रुपमा नियुक्त गरेको जनाएको छ।
उनी यो एक सिरिजका लागि मात्रै नियुक्त भएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए। ‘अहिले यो सिरिजका लागि मात्रै नियुक्त गरिएको हो,’ उनले अन्नपूर्ण पोष्टसँग भने।
यसअघि प्रशिक्षक पोथासले श्रीलंका,वेष्ट इन्डिज र बंगलादेशको राष्ट्रिय टिममा आबद्ध रहेका थिए।
स्कटल्यान्ड पुगिसकेको नेपालले लिग २ अघि घरेलु टोलीको ए टोलीसँग दुई एकदिवसीय अभ्यास खेल खेल्नेछ।
त्यसपछि लिग २ शृंखला सुरु हुनेछ। नेपालले जुन २ मा स्कटल्यान्डसँग खेल्ने छ भने जुन ४ मा नेदरल्यान्डसँग खेल्ने छ।
त्यस्तै जुन ८ मा पुनः स्कटल्यान्डसँग तथा जुन १० मा नेदरल्यान्डसँग खेल्नेछ।
प्रतिक्रिया दिनुहोस !