कसैले झोले भनेर आलोचना गरेपनि परिवर्तन र जनताको झण्डा बोक्न नछोड्नू : अध्यक्ष ओली
काठमाडौं : प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सही कुराको समर्थन गर्दा कसैले झोले भनेर आलोचना गरेपनि परिवर्तन र जनताको झण्डा बोक्न नछोड्न आग्रह गरेका छन्। नेपाल बुद्धिजीवी परिषद्को ११ औँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै उनले राष्ट्रिय एकता र परिवर्तनको सही विचारलाई गौरवका साथ बोकेर हिँड्न आग्रह गरेका हुन्।
‘म एमालेको झोले हुँ। यतिभन्दा एमालेको विरोधीहरूलाई चित्त बुझ्छ होला। म यो झोलामा देश र जनताको परिवर्तनको चाहनालाई बोकेर हिँड्छु। यसमा मलाई गर्व छ,’उनले भने।
अध्यक्ष ओलीले व्यक्तिगत महत्वाकांक्षा नभई राष्ट्रिय हित, परिवर्तन र समृद्ध नेपाललाई ध्यान दिएर अघि बढेमा आगामी निर्वाचनमा एमालेको एकल बहुमत आउने बताए। देशभित्र र बाहिरका अनेकथरी स्वार्थको टक्कर गर्नेहरूले मोर्चाबन्दी गरेर एमालेका विरुद्धमा लागेर झण्डै दुई तिहाइमा पुगेको पार्टीलाई विभाजन गराइए पनि त्यस स्थितिबाट अब पार्टी सुदृढ भइसकेको बताए।
‘भविष्यमा पनि अयोग्य हुने गरी प्रतिक्रियावादीहरुले मलाई साधारण सदस्यबाट पनि हटाएको घोषणा गरे। विचार र विकासको नायक पार्टीलाई सिध्याउँछु, धुलो चटाउँछु भने। यी सबै घेराबन्दी र मोर्चाबन्दीलाई पराजित गरेर एमाले फेरि मुलुकको लोकप्रिय पार्टी बन्यो,’ अध्यक्ष ओलीले भने,‘व्यक्तिगत महत्वाकाङ्क्षा छोडेर राष्ट्रिय हित र परिवर्तनको हित एवं समृद्ध नेपाललाई ध्यान दिएर अगाडि बढेमा एमालेको एकल बहुमत ल्याउन कसैले रोक्न सक्दैन। विभाजन हुँदा पनि हामी लोकप्रिय पार्टी बन्न सकेका छौँ। आज एमालेलाई सिध्याइदिन्छु र भित्तामा लगेर टाँसिदिन्छु भन्ने कसैको हैसियत छैन। त्यसकारण हामी मिसन २०८४ मा अघि बढेका छौँ। यसमा जो जहाँ छौँ, त्यहाँबाट योगदान गरौँ।’
अध्यक्ष ओलीले देशको परिस्थितिमा सुधारका लागि बुद्धिजीवीको भूमिका रहने भएकाले त्यस अनुसार सक्रिय हुन आग्रह गरे।
एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत सहभागी कार्यक्रममा विभिन्न विधाका बुद्धीजीवीलाई सम्मान प्रदान गरिएको थियो।
प्रतिक्रिया दिनुहोस !