सात वर्ष खेलेर हेनरिक क्लासेनले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास
काठमाडौं : दक्षिण अफ्रिका क्रिकेट टोलीका ब्याट्सम्यान हेनरिक क्लासेनले सोमबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफ्नो सन्न्यासको घोषणा गरेका हुन्।
उनले इन्स्टाग्राममा लेखेका छन्,‘आज मेरो लागि दुखद दिन हो। मैले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने निर्णय गरेको छु।’
क्लासेनले थप भने,‘म र मेरो परिवारको भविष्यको लागि के उत्तम हुन्छ भनेर निर्णय गर्न मलाई धेरै समय लाग्यो। यो साँच्चै धेरै गाह्रो निर्णय थियो। तर अब म यसबाट पूर्ण रूपमा सन्तुष्ट छु।’
उनले ६० एकदिवसीय खेलमा ४३.६९ को औसतमा २१४१ रन बनाए। जसमा उनको उच्चतम स्कोर १७४ थियो।
५८ टी–२० अन्तर्राष्ट्रिय खेलमा उनले १४१.८५ को स्ट्राइक रेटमा १००० रन बनाए। यसअघि क्लासेनले जनवरी २०२४ मा केवल चार खेल खेलेपछि टेस्ट क्रिकेटबाट सन्न्यास लिएका थिए।
प्रतिक्रिया दिनुहोस !