मधेसमा सक्रियता बढाउँदै चिनियाँ दूतावास
जनकपुरधाम : प्रायजसो पहाड र हिमालमा मात्रै कार्यक्रमहरू सञ्चालन गर्दै आएको चिनियाँ दूतावासले पछिल्लो समय मधेसका जिल्लाहरूमा समेत नयाँ परियोजनाहरू सञ्चालनमा ल्याएको छ।
नेपाल-चीन कूटनीतिक सम्बन्धको ७०औं वार्षिकोत्सवको सन्दर्भमा दुई राष्ट्र बीचको मित्रता र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले दूतावासले मधेसमा परियोजनाको सुरुवात गरेको बताएको छ।
मधेस प्रदेशमा शैक्षिक पूर्वाधार र सामुदायिक कल्याण सुधार गर्ने उद्देश्यका साथ चीन ग्रामीण विकास प्रतिष्ठानले चीनको नेपालस्थित दूतावासको आर्थिक सहयोग तथा साझेदारीमा दुई वटा परियोजनाहरूको औपचारिक सुरुवात गरेको छ।
पहिलो परियोजना ‘उज्यालो भविष्य’ शिक्षामा केन्द्रित छ। जसमा मधेसका दुईवटा सामुदायिक विद्यालयलाई स्तरोन्नति गरी अत्याधुनिक बनाउन सहयोग गरिएको छ भने अर्को परियोजना ‘आरामदायी सुत्केरी अभियान’ स्वास्थ्य क्षेत्रलाई केन्द्रित गरी ल्याइएको हो।
शिक्षा परियोजना अन्तर्गत मंगलबार जनकपुरको सरस्वती नमुना उच्च माध्यमिक विद्यालयमा एक समारोहको आयोजना गरी गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि अत्याधुनिक सरसामानहरू वितरण गरिएको हो।
राजदूतावासले दुईवटा सामुदायिक विद्यालयहरूलई १ सय ४४ सेट डेस्क बेन्च, स्मार्टबोर्ड, ह्वाइटबोर्ड र स्टेसनरी सामग्रीहरूका साथै ६ सय २ विद्यार्थीलाई पोसाकसमेत वितरण गरेको हो। यस परियोजनाले मधेस प्रदेशका सामुदायिक विद्यालयहरूको पठनपाठन सुविधा सुधार गर्न, शिक्षण वातावरण सम्बृद्ध बनाउन तथा दिगो विकासको लक्ष्य अनुरूप समान शिक्षा प्रवर्द्धन गर्न सहयोग पुग्ने चीन ग्रामीण विकास प्रतिष्ठानकी नेपाल कार्यालयकी निर्देशक सु जोउले बताइन्।
‘हामी मधेसका जनताको जीवनस्तरमा सुधार आओस् भन्ने चाहन्छौं। त्यसैले मधेसबाटै सुरुवात गरेका छौं,’ निर्देशक जोउले चिनियाँ भाषामै भनिन्, ‘काठमाडौंबाट चीन नजिक छ तर, मधेसबाट टाढा भएको छ। त्यसैले पनि मधेसका जनतालाई चीनको भाषा बुझाउन म आफ्नो मातृभाषामै बोल्छु। हामीलाई स्थानीय सरकार र समुदायले देखाएको विश्वासप्रति आभार प्रकट गर्दछु। यस परियोजनाहरूले नेपालको ग्रामीण क्षेत्रहरूमा गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा तथा सुरक्षित खानेपानीको पहुँच सुनिश्चित गर्न योगदान पुर्याउने विश्वास व्यक्त गर्दछु।’
जोउले मधेसप्रति चिनियाँ जनताको विशेष संवेदना रहेको र यस्ता कार्यहरूले नेपाल चीनको मित्रता अझै बलियो बनाउने बताइन्। विद्यालयमा सामग्री हस्तान्तरण कार्यक्रममा सहभागी भएका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले चीनको सहयोग मधेसमा आउनु विकास र समृद्धिको लागि निकै राम्रो संकेत रहेको बताए। ‘हामी सबैलाई बदल्न सक्छौं तर, आफ्नो छिमेकीलाई बदल्न सक्दैनौं। त्यसैले छिमेकीसँग सधैं मित्रवत् व्यवहार राख्नुपर्छ,’ पोखरेलले भने, ‘हामी तीनतिरबाट भारत र एकतिरबाट चीनलाई छिमेकीको रूपमा पाएका छौं र यी दुवै देश शक्तिशाली छन्। त्यसैले नेपालको समृद्धिमा यी दुवै देशको बराबरी योगदान हुनु पर्छ। हामीले हाम्रो देशको सम्पन्नताको लागि सहयोग गर्ने दुवै छिमेकी मित्रलाई हरेक क्षण स्वागत गर्छौं।’
यसै क्रममा ‘आरामदायी सुत्केरी अभियान’अन्तर्गत प्रादेशिक अस्पताल जनकपुरको प्रसूति कक्षमा वातानुकूलन जडान गरिएको छ। नेपालमा सन् २०१६ देखि २०२५ सम्म चीन ग्रामीण विकास प्रतिष्ठानले ३० हजारभन्दा बढी विद्यार्थीलाई लक्षित गरेर लभ प्याकेज र वार्म प्याकेज प्रदान गर्दै आएको छ। २०२४ मा यूएनडीपीको सहकार्यमा २५ वटा विद्यालयका १८ हजार विद्यार्थी र ९ हजार महामारी प्रभावित परिवारलाई जीविकोपार्जन सहयोगसमेत गरेको छ।
प्रतिक्रिया दिनुहोस !