हत्या अभियोगमा एकै परिवारका चारसहित पाँचजना पक्राउ
सिमराः बारा प्रहरीले जेठ २९ गते कलैयामा भएको कुटपिट तथा मृत्यु प्रकरणमा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।
कलैया उपमहानगरपालिका-१४ बघवनका ५० वर्षीय नन्दु राउत कुर्मीको हत्या अभियोगमा प्रहरीले एकै परिवारका चारसहित पाँच जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बघवनका ३८ वर्षीय उमेश जयसवाल, उनको श्रीमती ३५ वर्षीय रञ्जुदेवी, २० वर्षीय छोरा सुमित र १८ वर्षीय छोरा सुजित रहेका छन्। यसैगरी ३४ वर्षीय दिगम्बर प्रसाद जयसवाल रहेका छन्।
प्रहरीले घटनाको मुख्य आरोपित उमेशलाई बिहीबार बिश्रामपुर गाउँपालिकाबाट पक्राउ गरेको हो भने उनको श्रीमती रञ्जुदेवीलाई असार ४ गते कलैयाबाट नियन्त्रणमा लिएको थियो। उनी कलैयास्थित एक घरमा लुकेर बसेको अवस्थामा पक्राउ परेकी हुन्।
यसैगरी उमेशका दुई छोरा सुमित र सुजित वीरगन्ज महानगरपालिका-१ शान्तिटोलबाट असार ४ गते राति पक्राउ परेका हुन्। आमा रञ्जुदेवी पक्राउ परेको केही घण्टापछि प्रहरीले छोराहरूलाई पनि नियन्त्रणमा लिएको थियो।
घटनामा संलग्न रहेको आरोपमा दिगम्बर प्रसादलाई प्रहरीले जेठ ३० गते बघवनबाटै नियन्त्रणमा लिएको थियो। पक्राउ परेका व्यक्तिहरूले कुर्मीलाई बघवनस्थित एक राइस मिल अगाडि कुटपिट गरी घाइते बनाएका थिए। कुटपिटबाट गम्भीर घाइते कुर्मीको उपचारका क्रममा मृत्यु भएको थियो। घटनापछि मृतकका छोरा दीपेन्द्र पटेलले ६ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए। किटानी जाहेरी दिएकोमध्ये पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार मृतक नन्दु राउत कुर्मीकी नातिनी र करैयामाई गाउँपालिका ७ का गौतम पासवानबीच भएको भेटघाटको विषयलाई लिएर विवाद भएको थियो। मृतककी पत्नीले दुई जनालाई भेट गराएको भन्दै उमेशका कान्छा छोरा सुजितलाई हातपात गरेकी थिइन्।
मृतककी पत्नीले हातपात गरेको भन्दै रिसिबी साध्न जयसवाल परिवारले कुर्मीमाथि कुटपिट गरेको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिएका छन्।
प्रतिक्रिया दिनुहोस !