गृहको पत्र कुर्दाकुर्दै तिब्बतसँग बैठक हुन सकेन
गृह मन्त्रालयबाट समयमै आदेश नआउँदा निर्धारित मिति गुज्रियो। त्यसैकारण, नाका कहिले खुल्ने भन्ने टुंगो लागेको छैन।
गोरखा : हरेक साल नाका खुलाउने विषयमा तिब्बततर्फ हुँदै आएको द्विदेशीय प्रतिनिधिहरूको प्रिबोर्डर बैठक यसपटक गोरखाको छेकम्पार र सामागाउँमा गर्ने तयारी थियो । तर, गृह मन्त्रालयबाट समयमै आदेश नआउँदा निर्धारित मिति गुज्रियो । त्यसैकारण, नाका कहिले खुल्ने भन्ने टुंगो लागेको छैन ।
तिब्बती अधिकारीले चुमनुब्री–१ मा रहेको रुइला नाका र वडा नं. ७ मा रहेको ङुइला नाका खुलाउने र त्यसपछि आइपर्ने सुरक्षा चुनौतीबारे छलफल गर्न दुवैतर्फ बैठकको प्रस्ताव गरेका थिए ।
जिलोङ काउन्टी पब्लिक सेक्युरिटी ब्युरोअफ चाइनाले चुमनुब्री गाउँपालिका ७ छेकम्पार प्रहरी चौकी, इलाका प्रहरी कार्यालय आरुघाटमा गत जेठ २६ गते नै बैठकबारे नेपाली प्रतिनिधिलाई जानकारी गराएको थियो । यही असार १५ गते बैठक गर्ने प्रस्ताव गरी जेठ २९ गते पत्र पठाएर विधिवत् रूपमा प्रस्ताव गरेको थियो ।
प्रहरीले सो पत्रसमेत संलग्न राखी जिल्ला प्रशासन कार्यालय गोरखामा पठायो । प्रशासन कार्यालयले पनि सोही दिन बैठकका लागि आदेश माग गर्दै गृह मन्त्रालयमा पत्राचार गरेको थियो । ‘यो बीचमा चुमनुब्री—७ का पूर्ववडाध्यक्ष पासाङ फुन्जो लामाले तीन पटकसम्म फोन गरी आदेश आउन किन ढिला भएको भनेर चासो राख्नुभएको थियो’, एक अधिकारीले भने, ‘जिल्लाबाट पनि गृह मन्त्रालयमा सोधनी भइरहेको थियो । तर, असार १२ गते मात्रै आदेश आयो । सो पत्र तत्काल तिब्बती अधिकारीसमक्ष पुर्याउँदा उताबाट आदेश आउन अर्को १० दिन लाग्ने खबर आएको छ । बैठक कहिले हुने अनिश्चित भयो ।’
रुइला नाका रहेको सामागाउँतर्फ सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट (बीओपी)ले बैठकको समन्वय गरिरहेको थियो । तिब्बती सुरक्षा निकायले सशस्त्र प्रहरीलाई असार ७ गते पत्राचार गरेको थियो । तर, त्यसको जवाफ गृह मन्त्रालयले असार १२ गते मात्र आदेशात्मक जवाफ फर्कायो । यसले गर्दा बैठक हुन सकेन । ‘हाम्रो भूमिमा द्विपक्षीय बैठक अहिलेसम्म भएको थिएन । यसपटक हुने भनेर हामी धेरै खुसी भएका थियौं’, चुमनुब्री–१ का मिङमार लामाले भने, ‘तर जवाफ आउनै ढिला भयो । त्यसैले मिटिङ हुन सकेन । अब कहिले मिटिङ गर्ने, कहिले नाका खुल्ने हो ? ’
छेकम्पारमा भने १० वर्षअघि द्विपक्षीय बैठक भएको थियो । ‘१० वर्षपछि पहिलो पटक यता बैठक गर्न लागेको, तर जवाफ पर्खिंदा पर्खिंदै उनीहरूले तोकेको असार १५ गते बैठक हुन सकेन । अब कहिले हुन्छ थाहा छैन’, उनले भने ।
प्रतिक्रिया दिनुहोस !