झ्याप्ले खोलामा पहिरो व्यवस्थापन अन्तिम चरणमा

झ्याप्ले खोलामा पहिरो व्यवस्थापन अन्तिम चरणमा

काठमाडौं : पहिरोले क्षतिग्रस्त नागढुंगा–नौबिसे सडकखण्डअन्तर्गतको झ्याप्ले खोलाको प्रारम्भिक व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ। करिब २ करोड लागतमा उक्त क्षेत्रमा पुनर्निर्माण तथा व्यवस्थापनको काम भइरहेको नागढुंगा–मुग्लिन सडकअन्तर्गत पूर्वी खण्ड आयोजना प्रमुख केशवप्रसाद ओझाले अन्नपूर्णलाई जानकारी दिए। आगामी साउनसम्म उक्त पुनर्निर्माणको काम सक्ने योजना रहेको उनले बताए। क्षतिको पुनर्निर्माण र तत्कालका लागि पहिरो रोकथामको काम भइरहेको ओझाले बताए।

गत असोज ११ र १२ को अविरल वर्षापछि १२ गते दिउँसो काठमाडौंको चन्द्रागिरि–२ मा पर्ने र धादिङ जिल्लाको सिमानानजिकै रहेको झ्याप्लेखोलास्थित त्रिभुवन राजपथमा माथिबाट पहिरो खसेको थियो। पहिरोका कारण काठमाडांैतर्फ जाँदै गरेका लु१ज ४५७८ को टाटा बिंगर, बा२ख १३४५ को ह्यास माइक्रोबस र ना४ख २२७० को बस पुरिएका थिए। ३५ जनाको ज्यान गएको थियो। यस्तै, बा१प १३८८, बा१प ८, बा२ख १७४१ र भारतीय नम्बर एचआरएबी ७०७० को सवारीसाधनमा पनि क्षति भएको थियो।

पहिरो नागढुंगा चोकबाट ६ सय मिटर अगाडिदेखि सुरु भई २.७ किलोमिटर तलसम्म खसेको थियो। पहिरोले नागढुंगा–नौबिसे सडकखण्डमा क्षति भएको थियो। उक्त सडकखण्डमा टेवा पर्खाल, ब्रेस्टवाल, कल्भर्टलगायत संरचनाहरूमा क्षति पुगेको थियो। अहिले ती संरचनाको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजना प्रमुख ओझाले बताए।

‘झ्याप्ले खोलामा पहिरो खसेको ठाउँमा पहिरो रोकथामको प्रारम्भिक चरणको पुनर्निर्माण गरिएको हो। त्यहाँ तीन वटा काम भइरहेका छन्। पहिलो, झ्याप्ले खोलामा पहिरो जाँदा पहिला लगाएको पर्खाल जोखिमपूर्ण अवस्थामा रहेकाले त्यसलाई जोगाउन माइक्रो पायलिङ गरिएको छ। दोस्रो, पहिरो गएको तल्लो क्षेत्रमा ग्याबिन पर्खाल लगाउने काम पनि लगभग सक्किएको छ। तेस्रो, पहिरोले भत्किएको पर्खालमा अर्को पर्खाल निर्माणका लागि ‘स्वायल एंकर’ गर्नुपर्ने काम अघि बढाइएको छ। यो काम भने बाँकी रहेको प्रमुख ओझाले बताए। आगामी साउनसम्म उक्त काम पनि सम्पन्न गर्ने योजना आयोजनाको छ।

झ्याप्ले खोलामा आठ महिनापछि मात्रै पहिरो व्यवस्थापन सुरु
नागढुंगा–मुग्लिन सडक भएर दैनिक करिब १५ हजार सवारीसाधन ओहोरदोहोर गर्छन्। यो खण्डको स्तरोन्नतिको काम विश्व बैंकबाट सहुलियतपूर्ण ऋण र सरकारको लगानीमा भइरहेको छ। यो सडकको पहिलो प्याकेजका रूपमा नागढुंगा–नौबिसे खण्ड छ, जसको दूरी १२.२६ किलोमिटर छ। जाङ्सु–सगुन जेभीसँग २०७८ चैत २९ मा उक्त खण्डको निर्माण गर्ने गरी ठेक्का सम्झौता भएको हो। २०७९ जेठ २६ मा काम सुरु भएको यो खण्डको निर्माण लागत करिब १ अर्ब ३० करोड रुपैयाँ छ। आयोजनाको अहिलेसम्म २ पटक म्याद थप भइसकेको छ। 

सुरुमा २०८१ जेठ २७ भित्र सक्ने सम्झौता भएकोमा २०८१ माघसम्मका लागि म्याद थपियो, फेरि २०८२ साउन १० सम्मका लागि म्याद थप गरिएको छ। अहिलेसम्म यस खण्डको प्रगति ८४ प्रतिशत रहेको छ। म्याद थपका लागि परामर्शदातासँग छलफल भइरहेको आयोजनाले जनाएको छ।

यसै खण्डअन्तर्गतको झ्याप्ले खोलामा असोज १२ मा पहिरो गएको हो। तर, यसको पुनर्निर्माण र व्यवस्थापनको काम भने जेठमा मात्रै सुरु भएको हो। पहिला पहिरो आकलन नगरिएको यस खण्डमा पहिरोपछि पुनः डिजाइनका लागि अध्ययन गर्न समय लागेको आयोजना प्रमुख केशवप्रसाद ओझा भन्छन्। ‘पहिला पहिरो जाला र यत्रो क्षति होला भन्ने अनुमान गरिएको थिएन। पहिरो गएपछि कात्तिकबाट यसको छुट्टै अध्ययन सुरु गरिएको हो। अध्ययन गर्न स्रोत चाहियो। त्यसको स्रोत खोजेर मोडालिटी टुंग्यायौं। सोहीअनुसारको परामर्शदाता हायर गरेर काम गर्दा वैशाखमा रिपोर्ट प्राप्त भयो,’ उनले भने। यसमा एम/एस स्मेक–पेक जेभीले आईटीईसीओ र टीएमएसको समन्वयमा यस क्षेत्रको अध्ययन गरेको हो।

परामर्शदाताले वैशाखमा मात्रै यसको व्यवस्थापन कसरी गर्नेसम्बन्धी रिपोर्ट सडक विभागलाई दिएको थियो। यस रिपोर्टमा माटो गुणस्तरदेखि त्यहाँको भौगोलिक अवस्थाको अध्ययन गरिएको छ। रिपोर्ट आएपछि पनि नयाँ ठेक्का लगाउने कि साबिकलाई नै दिने भन्नेमा छलफलपछि साबिकको जाङ्सु–सगुन जेभीलाई पहिरो व्यवस्थापनको ठेक्का दिइएको हो। निर्माणधीन ठेक्काबाट नै भेरिएसन गरेर तिर्ने भन्ने गरी काम अघि बढाइएको हो। तर, यो अहिलेको पहिरोले पु¥याएको क्षतिको व्यवस्थापनको मात्र काम भएको भन्दै ओझाले झ्याप्ले खोलाको पहिरोको पूरै व्यवस्थापनका लागि विस्तृत अध्ययन गरी नयाँ ठेक्का लगाउनुपर्ने र नयाँ बजेटबाट मात्र गर्न सकिने उनले जनाए।

झ्याप्ले खोलामा पहिरो कसरी गयोे ?   
झ्याप्ले खोलामा पहिरो निर्माणको कम्पनीको कारणले नआएको जाङ्सु–सगुन जेभीका प्रबन्धक ज्ञानेन्द्र घिमिरे बताउँछन्। नागढुंगादेखि नौबिसेसम्मको पहिलो प्याकेजको निर्माण जाङ्सु–सगुनले गरिरहेको छ। घिमिरेका अनुसार, झ्याप्ले खोलाको माथिल्लो क्षेत्रमा जग्गा प्लटिङ गरिएको छ। जग्गा प्लटिङ गर्दा त्यहाँ धेरै भएको माटो, ढुंगा, गिटी, बालुवा यत्तिकै फालिएको अवस्थामा राखिएको थियो।। जब भयानक पानी प¥यो, त्यही माटो बगेर आयो र त्यसले पहिरोको रूप लिँदै माटो र लेदो बग्यो। त्यसले त्यहाँ भएको सानो कल्भर्ट भरियो। पानीले जाने निकास पाएन। निकास नपाएपछि सम्पूर्ण लेदो झ्याप्ले खोलामा आउँदा पहिरो आएको हो। यो सडकको निर्माण कार्यले गर्दा पहिरो गएको नभई माथिको प्लटिङले फालेको माटोको कारणले त्यो रूप लिएको उनी बताउँछन्। 

झ्याप्ले खोला आफैंमा नभई उपल्लो क्षेत्रबाट बगेको माटोको लेदोले पहिरोको रूप लिएको धादिङका प्रमुख जिल्ला अधिकृत सुमन घिमिरे बताउँछन्। लेदो बगरे पहिरोको रूप लिएको र त्यहाँ जाममा परेका गाडी पहिरोमा परेको उनको भनाइ छ। ‘काठमाडौंमा जिल्ला भइरहेको निर्माणको गतिविधि र जग्गा प्लटिङका साथै त्यहाँको भौगोलिक भू–बनावट कमजोरका कारण पहिरो गएको देखिन्छ,’ भन्दै घिमिरेले अहिले जोखिम न्यूनीकरणको काम भइरहेको बताउँछन्।

यहाँको पहिरोलाई सडक विभागले छुट्टै रूपमा अघि बढाएको छ। यसले पहिरोको रूप लिइसकेकाले यसको संरचना डिजाइन गरी निर्माण कम्पनी जाङ्सु–जेभीलाई पुनर्निर्माण र व्यवस्थापनको जिम्मा दिइएको हो। सडक विभागले भेरिएसन हुने गरी अघि बढ्नु भनेपछि अहिले काम गरिरहेका भन्दै उनले अहिले ग्याबिन वाल लगाउने काम भइरहेको बताए। यसका साथै पहिरो रोकथामका लागि ब्याम्बो क्रिम वाल (बासको पर्खाल) पनि लगाइएको छ। पहिरो गएको माथिको रोडमा नयाँ प्रविधिको माइक्रो पायलिङ गरिएको र रोड बढाएर आरसीटी वाल लगाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.