ब्रह्मेश्वर र वाणासुर
अघि काष्टमण्डप जसलाई अहिले काठमाडौं भनिन्छ । यसको दक्षिण छैमले, फर्पिङ, चन्दागिरि, बल्खु, नैकाप, थानकोटसम्मको क्षेत्रलाई शोणितपुर भनिन्थ्यो । यहाँ धेरै शिवलिंग तथा शक्तिपीठ छन् । वाणासुरले यहाँको राज्य सञ्चालन गथ्र्यो, ऊ राजा बलिको छोरो थियो । उसले ब्रह्मतीर्थमा शिवको अघोर तप गरेपछि बाबु बलिजस्तै तीन लोकको विजयी भई शक्तिसम्पन्न हुने वरदान माग्यो ।
स्कन्दकुमार भन्नुहन्छ : भैरवेश्वरदेखि पूर्व दिशामा ब्रह्मतीर्थ छ । मृगेन्द्र पर्वतबाट झरेकी ब्रह्मगंगा जसलाई लिखु भनिन्छ र ब्रह्माकै घुँडाबाट निःसृत ब्रह्मपदी नदी संगममा ब्रह्मतीर्थ छ । यसै नदीमा ब्रह्माले स्नान गरी तप गरी स्थापना गरिएको शिवलिंगलाई ब्रह्मेश्वर भनिन्छ र यो शृंग पर्वतको फेदीमा छ । यो तीर्थ संसारकै उच्च कोटीको तीर्थ मानिन्छ । यहाँ ब्रह्माजीले एक शिला स्थापना गरी शिवका मन्त्रले कार्तिक कृष्ण अष्टमीका दिन प्राण प्रतिष्ठा गरी भक्तिपूर्वक एक हजार वर्षसम्म तप गर्दा शिव खुसी भई ज्योतिस्वरूप दर्शन दिई ‘वरदान माग्नूस्’ भन्दा ब्रह्माले ‘संसारमा प्राणी सृष्टि गर्दै तिनलाई चाहिने आहार पनि सिर्जना गर्न सकौं’ भनी माग्नुभयो । शिवजीले ‘तथास्तु’ भन्दै त्यही शिवलिंगमा अन्तरध्यान हुनुभयो ।
नेमुनि विरूपाक्षलाई भन्नुहुन्छ : ब्रह्माले ८४ लाखका प्राणीहरू सृष्टि गर्नुभयो । अण्डज जो अण्डाबाट जन्मन्छन्, श्वेदज जो पसिनाबाट जन्मन्छन्, उद्भिज जो सर्प, गड्यौला आदि बाह्य स्पर्शबाट र जरायुज जो सालनालसहितै जन्मन्छन् । मानिस, पशुहरू आदि, मुख्य चार थरी प्राणीहरूलगायत स्थावर रुख, वृक्ष, वनस्पति तमाम सिर्जना र तिनका आवश्यक पर्ने आहार पनि सिर्जना गर्नुभयो । शुष्क धरणी हराभरा भइन् र साह्रा प्राणीहरू खुसीले गदगद भए । वन, वनस्पति, फलफूलले बीज शक्ति प्राप्त गरे ।
एकपल्ट त्यहाँ एक सिकारी बँदेल मार्ने इच्छा गर्दै आयो, तर उसले त्यहाँ एक राक्षस देख्यो । उसले आफू सुरक्षित हुन राक्षसप्रति वाण प्रहार गर्यो, राक्षस चतुर थियो सिकारीलाई नै निल्यो, दुवै त्यहीँ मरे । सिकारीले प्राण निस्कनुअघि शिव शिव भन्यो, ब्रह्मतीर्थको जल पनि छोयो उसले । अर्को जुनीमा ऊ सबै शास्त्रको ज्ञाता भएर पापदेखि डराउने, ज्ञानी, सत्यवादी भई जीवन निर्वाह गर्न थाल्यो । अन्त्यमा सन्न्यासी भई तीर्थाटन गर्दै यहीँ आइपुग्यो, पूर्व जन्ममा यहाँको जलस्पर्श गरेको कारण उसमा श्रद्धा जागेर फागुन कृष्ण अष्टमीको तिथिमा विधिवत् स्नान गर्यो, शिवलिंगको दर्शन, पूजा गर्यो । बत्ती बाल्यो, आरती गर्यो । अँजुली बाँधी शिर नुहाएर बारबार स्तुति गर्दे भक्ति देखायो । एक लाख मन्त्रले श्रीशिवको आराधना पनि गर्यो । पूर्णिमाको दिन थियो ऊ आत्मज्योति शिवलिंगमै समाहित भयो । यसलाई सायुज्य मुक्ति भनिन्छ, सशरीरको मुक्ति पायो उसले ।
अघि त्यहीँको सिकारी जसले मासु खाँदै मरेको थियो, ब्रह्मतीर्थमै प्राण गएकाले पृथ्वीतलमा दिग्विजयी राजा, बलिको पुत्र वाणासुर भएर जन्म्यो । बाबु झैं, आपूm पनि शक्तिशाली हुन पाउँ भन्दै त्यही तीर्थमा आएर ब्रह्मेश्वरको चिन्तन गर्दै बाह्र वर्षसम्म शिवको सेवा गरिरह्यो । शिवजी खुसी भई ‘वरदान माग’ भन्दा ‘हजार हात होस् मेरो, युद्धमा देव दानव सबैलाई हराउन सकौं’ भन्यो । अजेय वरदान माग्दा शिवले ‘अस्तु’ भन्नुभयो । तर, एक सर्त छ, ‘तिमीले युद्ध गर्दा तिम्रो झण्डा खस्यो भने मान्नू तिम्रो अन्त्य हुन्छ, तिम्रो छोरीका कारण देवताहरूसँग युद्ध हुनेछ ।’
तीव्र शक्ति पाएको वाणासुर शोणितपुरको राजा भयो, सबैतिर हुँकार बढायो, सबै ऊबाट तर्सन थाले । उषा नामकी छोरी थिई उसकी । द्वारकाधीश श्रीकृष्णका नाति अनिरुद्धसँग प्रेम परेछ । कृष्णका दाजु बलरामले हलोले कर्षण गरी उषा बस्ने घरैसहित उषालाई लगेर अनिरुद्धसँग भेट गराइदिएछन् । वाणासुरले क्रुद्ध भई छोरीको प्रेम प्रसंगमै यादवकुलसँग युद्ध छेड्यो । श्रीकृष्णले उसको हजार हात रूखका हाँगासरह छिमोलिदिनुभयो र मार्न लाग्दा शिव प्रकट भई ‘मैले वरदान दिएको छु । तपाईंले मार्न मिल्दैन’ भन्नुभयो । यसपछि श्रीकृष्ण शान्त भई उषालाई बुहारीका रूपमा स्वीकार गरी द्वारका लग्नुभयो । शिवजीले वाणासुरलाई आफैंले कैलाश लगेर शिवगण बनाई महाँकालको रूपमा राख्नुभयो । अहिले पनि शिवक्षेत्रमा महाकाल मूर्ति, मन्दिरहरू रहेकै देखिन्छ सबैतिर । महाकाल शिवजीको अघोर भैरवकै रूप हो । काठमाडौंमा त धेरैतिर देखिन्छ नै ।
ब्रह्मेश्वर शिव ६४ ज्योतिर्लिंगअन्तर्गत सत्ताइसौं स्वयम्भूलिंग हो । नेमुनिले कुरुप विरूपाक्षलाई हालको सिन्धुलीको कुशेश्वरदेखि दर्शन गराउँदै लग्दा यहाँ फागुण पूर्णिमामा दर्शन गराएका थिए, विधिपूर्वक व्रत र साङ्गे पनि । ब्रह्मेश्वर शिवलिंग हालको नुवाकोट जिल्ला कपिलाबेंसी नजिक लिखु नदी दायाँ किनारमा छ । इँटको गारो, चारैतिर पर्खाल, गुम्बज शैलीको मन्दिरभित्र शिवलिंग छ । यसको उत्तर उच्च शिखरमा कपिलेश्वर शिव मन्दिर छ, नाटेश्वर भगवती र सरस्वतीको मन्दिर पनि छ, जहाँबाट चारैतिरको दृश्यावलोकन रमणीय हुन्छ । सवारी छोडी केही हिँड्नुपर्छ एक घण्टा बढी, सिँढीहरू छन् तर कतै कतै मात्र ।
ब्रह्मेश्वरमा काठमाडौंबाट त्रिशूली गई बट्टार पूर्व तिरबाट पुग्न सकिन्छ वा बूढानीलकण्ठ या टोखाबाट गुर्जेभञ्ज्याङ, तादी हुँदै जान सकिन्छ, छोटो बाटो छ यो । नुवाकोटको केन्द्र विदुर जाल्पा मन्दिर परिसर लिखु र तादी नदीसंगम त्रिशूली किनारामा भैरवेश्वर शिवलिंग छ । ब्रह्मेश्वरदेखि ५ किमी पूर्वतिर चन्द्रदीप्ति नदीको किनारामा अट्ठाइसौं स्कन्देश्वर शिवको सिद्धलिंग रहेको छ, सवारी छोडी केही हिँड्नुपर्छ । हामी स्वस्थ हुन अनेक व्यायाम गर्दैछौं अहिले, महिनामा एकपल्ट सवारीमा अलिक टाढा गएर केही पैदल हिँड्दा आन्तरिक पर्यटन त हुन्छ नै शरीर पनि बलियो हुन्छ, पसिनाबाट प्रदूषण जान्छ र नियमितका औषधी कम हुन्छन् वा रोग नै लाग्न पाउँदैन ।
प्रतिक्रिया दिनुहोस !