नेपालगन्ज (अन्नपूर्ण) : बाँकेको नरैनापुर गाउँपालिका–४ नरैनापुरको अरबिया गुल्सने वारिस मदरसाका खालीखुट्टामा स्कुल जाने विद्यार्थीलाई नेपालगन्ज जुत्ता चप्पल व्यवसायी संघ बाँकेले साढे ६५ हजार रुपैयाँबराबरको चप्पल सहयोग गरेको छ।
३ असारको अन्नपूर्ण पोस्ट् दैनिकमा तातो तावा जस्तो सडक, खालीखुट्टामै विद्यार्थी शीर्षकको समाचार प्रकाशित भएपछि संघका वरिष्ठ उपाध्यक्ष माधवप्रसाद पोखरेलले चप्पल संकलनका लागि पहल गरेका थिए। समाचार प्रकाशित भएको भोलिपल्ट संघको टोलीले विद्यालयको अवलोकन भ्रमण गरी विद्यालयका सबै विद्यार्थीका लागि तत्काल चप्पल सहयोग गर्ने प्रतिबद्धताअनुरूप बुधबार २ सय ५० थान चप्पल सहयोग हस्तान्तरण गरेको हो।
संघका अध्यक्ष कुलराज सन्ज्यालको नेतृत्व तथा नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेका उपमहासचिव टेकबहादुर खड्काको प्रमुख आतिथ्यतामा गएको प्रतिनिधिमूलक टोलीले विद्यालयका प्रधानाध्यापक अब्दुल रहमानसहितको विद्यालय परिवारको उपस्थितिमा विद्यार्थीलाई चप्पल लगाइदिएका थिए।
चप्पल वितरण गर्न संघका वरिष्ठ उपाध्यक्ष माधवप्रसाद पोखरेल, उपाध्यक्ष ईश्वरी पौडेल, महासचिव रविन पौडेल, कोषाध्यक्ष डम्बर धामी, संघका संस्थापक अध्यक्ष विष्णुप्रसाद श्रेष्ठ, पूर्वअध्यक्ष कमलप्रसाद पौडेल, निवर्तमान अध्यक्ष कविराम जैसीलगायत कार्य समिति सदस्यहरूले चप्पल लगाइदिँदा विद्यार्थीको खुसीको सीमा नै थिएन। उनीहरूले गड्गडाहट ताली बजाएर सहयोगप्रति आभार व्यक्त गरेका थिए।
विद्यार्थीका लागि संघका पूर्वअध्यक्ष तथा लक्ष्मी फुटवेयर नेपालगन्जका सञ्चालक कमलप्रसाद पौडेलमार्फत १५० जोर चप्पल र संघका वर्तमान कोषाध्यक्ष तथा कृष्ण सु सेन्टर नेपालगन्जका सन्चालक डम्बर धामीमार्फत १०० थान चप्पल संकलन गरेर हस्तान्तरण गरिएको थियो। खालीखुट्टा विद्यालय आउजाउ गरिरहेका विद्यार्थी चप्पल पाएर खुसी भएका छन्।
प्रतिक्रिया दिनुहोस !