‘साइलेज’ ले बढायो पशुपालनमा आकर्षण

‘साइलेज’ ले बढायो पशुपालनमा आकर्षण
सुन्नुहोस्

सुर्खेत : घाँसको संकट भोगिरहेका किसानले साइलेज उत्पादन गरेर पुशलाई खुवाउन थालेका छन् । वर्षायाममा पाइने हरियो घाँसलाई लामो समयसम्म सुरक्षित राख्ने प्रविधि साइलेज हो । साइलेज (पौष्टिक तत्व नष्ट नहुनेगरी प्लास्टिकमा प्याकिङ गरेर राखिएको हरियो घाँस) उत्पादन गरेर सुर्खेतका किसानले व्यावसायिक पशुपालन थालेका हुन् ।

सुर्खेतको भेरीगंगा नगरपालिकाका किसानले साइलेज उत्पादन गरेर खडेरी र हिउँदको समयमा पशुलाई खुवाउने गरेका छन् । भेरीगंगा–१२ पाँडुलेका किसान पूर्ण शर्माले व्यावसायिक पशुपालन गरिरहेका छन् । भैंसीपालन गर्दै आएका उनले साइलेज उत्पादन गरेर आफूले मात्र होइन, अन्य किसानलाई पनि उपलब्ध गराउन थालेका हुन् । ‘पहिला त घाँसको निकै समस्या थियो, हिउँद र खडेरीमा हरियो घाँस नै पाइन्थेन’ शर्माले भने, ‘हरियो घाँस नहुँदा दूध नै घट्दो रहेछ, खडेरीमा के खुवाउने भन्ने चिन्ताले सताउँथ्यो ।’ घाँसको अभावमा विगतमा आफूहरूले चाहेर पनि भैंसीको संख्या थप्न नसकेको उनले सुनाए ।

तर हाल उनको आँगनमै साइलेज मेसिन स्थापना भएको छ । त्यही मेसिनमा वर्षायाममा पाइने हरियो घाँसलाई टुक्रा बनाएर प्लाष्टिकमा प्याकिङ गरेर राख्छन् । प्याकिङ गरिएको त्यही हरियो घाँस खडेरी र हिउँदमा पशुलाई खुवाउने गरेका छन् । उनी भन्छन्,‘साइलेज मेसिनले सजिलो भयो, बर्खामा पाइने हरियो घाँसलाई खडेरीमा पनि पशुलाई खुवाउन पाएका छौं । हामीलाई खडेरीमा हरियो घाँसको चिन्ता हुँदैन, हरियो घाँस पाएपछि भैंसीको दूध पनि घट्दैन ।’ सामान्यतया वर्षायाममा प्रसस्त पाइने मकै, बोडी, नेपियर तथा स्थानीय घाँसबाट साइलेज बनाउने गरिन्छ । 

‘प्याकिङ गरेको २ वर्षसम्म साइलेज खुवाउनका लागि उपयुक्त हुन्छ’ शर्माले भने,‘खडेरीको समयमा हरियो घाँसको अभाव हुन्छ, त्यो बेलामा साइलेजले हरियो घाँसको काम गर्छ । यसले दूध उत्पादनमा वृद्धि गर्छ ।’ 

गाउँमा साइलेज मेसिन स्थापना भएपछि सबैभन्दा राहत महिला किसानलाई भएको छ । किनकी उनीहरूले घाँस व्यवस्थापनमा दुख भोग्दै आएका थिए । तर अचेल जंगलमा गएर हरियो घाँसको जोहो गर्नुपर्ने बाध्यता अन्त्य भएकोे उनीहरू बताउँछन् । पाँडुले निवासी वेलमती रावतले भैंसी पालेकी छन् । अचेल उनलाई खडेरीको बेलामा पनि भैंसीलाई के खुवाउने भन्ने पीर छैन । कारण उनले गाउँमै उत्पादन भएको साइलेजलाई पराल र भुसमा मिलाएर भैंसीलाई खुवाउन थालेकी छन् । उनले भनिन्, ‘घरमा काम गर्ने अरू कोही छैनन्, खडेरीको बेलामा त घाँस नै खुवाउन सक्थिनँ । तर, साइलेजले गर्दा अचेल मेरा दुख हराए, हिउँदमा पनि हरियो घाँसको अभाव हुँदैन ।’

साइलेजले दुःख घटेको र दूध उत्पादन बढेको उनको भनाइ छ । आहारामा सहजता हुन थालेपछि किसानले पशुपालनलाई विस्तार गर्न थालेका छन् । साइलेज मेसिन प्राप्त भएपछि आफूले भैंसीको संख्या थपेको किसान पूर्ण शर्माले बताए । उनले भने, ‘मुख्य समस्या हरियो घाँसको हो, साइलेजले त्यो समस्या समाधान भयो । हाल मसँग १३ वटा भैंसी छन्, अब भैंसी थप्ने योजना छ । ५० वटा पाल्ल मिल्नेगरी गोठ निर्माण गरिसकेको छु ।’ 

हाल उनले दूध उत्पादनबाट मात्र मासिक ५५ हजारसम्म आम्दानी भइरहेको भन्दै ८० हजारसम्म आम्दानी हुने गरेको बताए । भेरीगंगाकै किसान हर्कबहादुर रावतले पनि बाख्रापालन विस्तार गरेका छन् । उनले सुरुवातमा २ वटा बाख्रा पालेका थिए । तर, हरियो घाँस उपलब्ध हुन थालेपछि हाल बाख्राको संख्या थपेका छन् । 

उनले भने, ‘अब घाँसको सहजता भयो, अझै बाख्रा थप्ने योजना छ । गाउँका अरू किसानले पनि बाख्रा र भैंसी थप्न थालेका छन् ।’ साइलेज मेसिन स्थापना भएपछि हरियो घाँसको अभाव नहुने विश्वासमा यहाँका किसानले पशुपालन विस्तार गर्न थालेका हुन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.