गौशालाको कन्तबिजोग

गौशालाको कन्तबिजोग
सुन्नुहोस्

मधेसको महोत्तरी जिल्लामा गौशाला नगरपालिका छ। पहिला यही नामको गाविससमेत थियो। गौशाला अर्थात् गाईको घर भएकैले यो ठाउँले त्यही पहिचान पायो। हुन पनि सय बिगाहाभन्दा बढी जमिन भएको गौशाला छ यहाँ। त्यो पनि सय वर्षभन्दा पुरानो।

निगौल गौशालाको इतिहास जति पुरानो छ, यसको महिमा पनि ओजिलो थियो। आज भने यसको कन्तबिजोग छ। भएको जमिनको सही सदुपयोग हुनु त परै संरक्षणसमेत हुन सकेको छैन। ‘जसले भेट्छ, उसैले हडप्छ’ को अवस्था जो छ। गौशाला भनेको नेपाली संस्कृति हो, जहाँ गाईपालन गरिन्छ। गाई यसै पनि हाम्रो राष्ट्रिय जनावारमात्रै नभई किसानका लागि जीवनदायिनी प्राणी पनि हो। दूध, गोबर र गोरुका लागि गाई चाहिन्छ। खेतीकिसानीका लागि अभिन्न हुन्छ गाई।

धार्मिक हिसाबले त झन् नेपाली समाजमा गाई पूजनीय नै मानिन्छ। तर गाईकै बासस्थानलाई पनि दुहुनो बनाउने र स्वार्थपूर्ति गरिँदा नेपाली समाजको मौलिक पहिचानमा चोट त लागेकै छ, समाजमा नैतिकताको खडेरी पर्दै गएको पनि यसले चित्रित गर्छ। सामाजिक संस्थाहरू कसरी नेपाली समाजमा बिजोग हुँदैछन् भन्ने पनि यसले देखाउँछ। गौशालासँग अत्याधुनिक गाईगोठ छन्। व्यावसायिक भवन पनि छन्। जहाँ भाडा लाग्छ। तर त्यही भाडावापतको पैसा असुल भएको छैन। ठेक्काबापतको करोडौं रूपैयाँ असुल भएको छैन।

गौशालाका गाई नै खान नपाएर भोकभोक पर्ने गरेका छन्। स्रोत हुँदा हुँदै पनि त्यसको दुरूपयोग र संस्थामा सुशासन अभावले संस्था र गाई दुवैमाथि अधर्म भएको छ। स्रोत व्यवस्थापनमा देखिएको चरम असफलता र मानवीय संवेदनाको खडेरी यहाँ छर्लंग देखिन्छ। गौशालाको संरक्षक नै गौशाला नगरपालिका हो। तर गौशाला संरक्षण गर्नु साटो यसको आम्दानी दोहनमात्रै सीमित छ, नगरपालिका। पशुबजार ठेक्काको २५ प्रतिशत रकम नतिरी उल्टै सम्पूर्ण बजार आफ्नो नियन्त्रणमा लिने प्रयास नगरपालिकाले गरेको छ। ६ करोडभन्दा बढी रकम नगरपालिकाले गौशालालाई बुझाउनुपर्ने देखिन्छ।

तर, बक्यौता ज्युँका त्युँ छ। त्यसमाथि गौशालाको आफ्नै आन्तरिक व्यवस्थापन पनि उत्तिकै कमजोर छ। अपारदर्शी छ। व्यावसायिक भवन र अन्य स्रोतबाट उठाउनुपर्ने लाखौंको भाडा उठाउन सकेको छैन। आर्थिक अनुशासनहीनता र आम्दानीका स्रोतहरूको चुहावटले संस्थालाई खोक्रो पारेको छ। यो गौशाला सामान्य गौशाला होइन, योसँग इतिहास छ, पहिचान छ। त्यसैले एउटा धरोहर र सम्पदा पनि हो गौशाला। तर यसकै बिनाशलाई सबैले टुलुटुलु हेरिरहेका छन्। सक्नेले बिगारेका छन्, संरक्षणमा जुट्ने औंलामै गनिएलान्। समाज आज यसरी अनुत्तरदायी र कृतघ्न भएको छ। निमुखो प्राणी गाईको नाममा लुटतन्त्र नै चलेको छ। लोकतन्त्रमा यसरी कुनै पनि संस्थामा कसैको हालीमुहाली हुनुहुँदैन र अपारदर्शिता स्वीकार्य हुँदैन।

गौशाला नगरपालिकाले जिम्मेवारीबोध ग¥यो भने गौशालाको संरक्षण सम्भव छ। यसको चम्किलो इतिहासको पुनरावृत्ति पनि उसैले गर्न सक्छ। गौशालाको व्यवस्थापन समिति पनि चुस्तदुरुस्त हुन जरुरी छ ताकि यसले पुनर्जीवन प्राप्त गरोस्। स्थानीय पहल काफी हुँदैन वा छैन भने गौशाला राष्ट्रिय सहकारी विकास बोर्डअन्तर्गत रहेको हुँदा बोर्ड र संघीय सरकारले यसको संरक्षणका लागि तत्काल हस्तक्षेप गर्नुपर्छ। अतिक्रमण र आर्थिक अनियमिततामाथि छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन अख्तियारजस्ता नियामक निकायको ध्यान जानु जरुरी छ। यो केवल गाई बचाउने सवाल होइन, इतिहास, सम्पदा र नैतिकता बचाउने मामला पनि हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.