१७ वर्षपछि आयो नयाँ पर्यटन नीति

१७ वर्षपछि आयो नयाँ पर्यटन नीति
सुन्नुहोस्

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ पर्यटन नीति ल्याएको छ । पर्यटन नीति २०६५ लाई प्रतिस्थापन गर्दै मन्त्रालयले १७ वर्षपछि नयाँ नीति ल्याएको हो । 

नेपालको पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउन र आर्थिक समृद्धिको आधारशिला तयार गर्न साविकको नीतिलाई प्रतिस्थापन गरी नयाँ पर्यटन नीति तर्जुमा गरिएको बताइएको छ । नयाँ संविधान जारी पछि तीन तहको शासकीय व्यवस्था अनुकूल बनाई अन्तरतह तथा अन्तरनिकाय समन्वयलाई प्रभावकारी बनाउन, गुणस्तरीय र सुविधाजनक पूर्वाधारको विकास गर्न, पर्यटकीय वस्तुको विविधीकरण र विस्तार गर्न नयाँ नीतिको आवश्यकता औंल्याइएको छ । 

यस्तै, नेपालको तुलनात्मक लाभका पर्यटकीय वस्तुहरूको प्रचारप्रसारलाई प्रभावकारी बनाउन पर्यटकीय गतिविधिलाई दिगो, समतामूलक र वातावरणमैत्री बनाउन; पर्यटन संस्कृतिको विकास र विस्तार गर्न पर्यटन क्षेत्रको विकासमार्फत रोजगारीका थप अवसर सिर्जना गर्न आन्तरिक र वैदेशिक लगानी आकर्षण गर्न पर्यटकको रुचि र पर्यटकीय प्रविधिमा आएको परिवर्तन सम्बोधन गर्न नयाँ नीति ल्याएको भनिएको छ । 

साथै पर्यटकीय क्षेत्रमा आएका नयाँ आयामहरू अध्यात्म, खेल, स्वास्थ्य, शिक्षालगायतका क्षेत्रहरूलाई सम्बोधन गर्न तथा पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रको भूमिकालाई प्रवर्धन तथा प्रोत्साहन गर्न नयाँ नीति ल्याइएको मन्त्रालयले जनाएको छ । 

नयाँ नीतिमा नयाँ के छ ? 
सरकारले ल्याएको नयाँ पर्यटन नीतिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमानस्थलहरू निर्माण र सञ्चालन गर्न निजी क्षेत्रलाई प्रोत्साहित गरिने उल्लेख गरेको छ । अहिले विमानस्थल सञ्चालन तथा व्यवस्थापन नागरिक उड्डयन प्राधिकरणले मात्रै गर्दै आइरहेको छ । नीतिले विशेषतः पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नीजि क्षेत्रसँगको सहकार्यलाई पनि खुला गरेको देखिन्छ । राजधानी बाहिरका अन्तर्राष्ट्रिय विमानस्थलहरूलाई पूर्ण क्षमतामा सञ्चालन गर्न प्रोत्साहित गरिने भन्ने नीतिमा उल्लेख छ । 

यस्तै, नीतिले राजधानी बाहिरका सम्भावित विमानस्थलहरूलाई क्षेत्रीय हबको रूपमा विकास गरी अन्तरदेशीय तथा अन्तरक्षेत्रीय हवाई सेवा सञ्चालन गरिने बताएको छ । प्रदेश तथा स्थानीय तहमा खेल पर्यटन प्रवर्धन गर्न सार्वजनिक निजी साझेदारीमा खेलकुद पूर्वाधारमा लगानी आकर्षित गरिने भनेको छ । नीतिले डिजिटल प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) समेतको प्रयोग गरी नेपालको पर्यटकीय विशेषता झल्काउने श्रव्यदृश्य सामग्री बहुभाषामा प्रकाशन गर्ने उल्लेख गरेको छ । 

यस्तै, पर्यटन क्षेत्रको अध्ययन, अनुसन्धान एवं तथ्यांक तथा सूचना अद्यावधिक गरिने र पर्यटनसँग सम्बन्धित समग्र तथ्यांक संकलन र विश्लेषण गर्न टुरिजम सेटेलाइट अकाउन्ट तयार गरिने भनिएको छ । पर्यटकीय गन्तव्य र वस्तुको विविधीकरण र विस्तार गर्ने, नेपालका पर्यटकीय वस्तुको सम्भाव्य स्रोत बजारमा प्रचारप्रसार गर्ने, पर्यटन प्रवर्धनमा निजी क्षेत्र, नेपालका विदेशस्थित कूटनीतिक नियोगका साथै गैरआवासीय नेपाली आबद्ध संघसंस्थासँग सहकार्य गर्ने नयाँ नीतिले लिएको छ । 

त्यसैगरी, पर्यटन क्षेत्रका अन्तर्राष्ट्रिय सेवाप्रदायकसँग सहकार्य गर्ने, सरकार, निजी क्षेत्र, समुदाय र सरोकारवालाको समन्वय र सहकार्यमा आन्तरिक पर्यटन प्रवर्धन गर्ने, गुणस्तरीय र पर्यटकमैत्री पूर्वाधार निर्माण गर्ने, पर्यटन सेवामा आन्तरिक र बाह्य पर्यटकको पहुँच अभिवृद्धि गर्ने, पर्यटकीय गतिविधिलाई वातावरणमैत्री बनाउनेलगायत कार्यनीति नयाँ नीतिले लिएको छ ।

  • नेपालको पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउन र आर्थिक समृद्घिको आधारशिला तयार गर्न नयाँ पर्यटन नीतिको तर्जुमा
  •   नयाँ पर्यटन नीतिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमानस्थलहरू निर्माण र सञ्चालन गर्न निजी क्षेत्रलाई प्रोत्साहित गर्ने

निजी क्षेत्रसँग सहकार्य गर्न चाहन्छौं : मन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्न चाहेको स्पष्ट गरेका छन् । मन्त्रालयमा आयोजित कार्यक्रम ‘पर्यटनीति २०८२’ सार्वजनिक गर्दै मन्त्री पाण्डेले भने, ‘निजी क्षेत्र आत्मविश्वासका साथ अघि बढ्नुस्, सरकार समन्वयका लागि तयार छ । निजी क्षेत्र अघि बढेपछि मात्र सकारात्मक परिणाम हासिल गर्न सकिन्छ । हामी निजी क्षेत्रसँग मिलेर काम गर्न चाहन्छौं ।’

उनले संविधानसभामार्फत २०७२ सालमा जारी भएको नयाँ संविधानसँगै संघीयता कार्यान्वयन गर्न मन्त्रालय नीतिगत रूपमा अघि बढेको जानकारी दिए । संस्कृति नीति र हवाई नीति हाल मन्त्रिपरिषद्को विधेयक शाखामा छलफलको चरणमा रहेको र मन्त्रालयमार्फत १३ विधेयकहरूसमेत अघि बढिसकेको मन्त्री पाण्डेले जानकारी दिए ।  मन्त्री पाण्डेले २०६५ सालको पर्यटन नीतिलाई प्रतिस्थापन गर्दै तयार पारिएको नयाँ ‘पर्यटनीति २०८२’ मा ‘अद्वितीय पर्यटकीय गन्तव्य : नेपाल’ भन्ने शब्दावली नीति संरचनाकै दृष्टिकोणको रूपमा समावेश गरिएको बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.