बाराको पशुपतिनाथ मन्दिरमा विविधताः दलित प्रतिनिधि समेट्दै संरक्षण समिति गठन
सिमराः बाराको जितपुरसिमरा उपमहानगरपालिका-४ स्थित ऐतिहासिक पशुपतिनाथ महादेव मन्दिरको संरक्षण समितिमा पहिलो पटक दलित समुदायको प्रतिनिधित्व गराउँदै नयाँ संरक्षण समिति गठन गरिएको छ। समितिको शनिबार सम्पन्न सातौँ अधिवेशनले भुवप्रसाद ढकालको अध्यक्षतामा नयाँ संरक्षण समिति चयन गरेको हो।
समितिमा दलित समुदायबाट पार्वती परियारलाई सदस्यमा चयन गरिएको छ। मन्दिरजस्तो धार्मिक तथा सांस्कृतिक संरचनामा दलित समुदायको सहभागिता सुनिश्चित हुनु समावेशी अभ्यासको सकारात्मक संकेतका रूपमा लिइएको छ।
गठित समितिमा मायादेवी पाठक उपाध्यक्ष, नविन खड्का सचिव, प्रेमकुमारी ढकाल सहसचिव तथा रोहिता अधिकारी कोषाध्यक्ष चयन भएका छन्। यसैगरी सदस्यहरूमा बासुदेव खत्री, सम्झना बञ्जारा, कल्पना शाह, अनिता ढकाल र नानु ढकाल रहेका छन्।
समावेशी प्रतिनिधित्वको मञ्चका रूपमा रहेको यस नयाँ संरचनाबाट मन्दिरको व्यवस्थापनमा विविध समुदायको सहभागिता बढ्ने अपेक्षा गरिएको छ। स्थानीय स्तरमा धार्मिक स्थलहरूको संरक्षणमा सबै जातजाति र समुदायको समान पहुँच सुनिश्चित गर्नुपर्ने आवाज उठिरहेका बेला समितिको यो संरचना उत्साहजनक रहेको जितपुरसिमरा उपमहानगरपालिकाका कार्यपालिका सदस्य अर्जुन रसाइलीले बताए।
स्थानीयको सक्रियतामा सञ्चालन हुँदै आएको मन्दिरको संरक्षण, व्यवस्थापन तथा प्रवर्द्धनमा अब सबै समुदायको सहकार्यमा थप पारदर्शिता र प्रभावकारिता ल्याउने अपेक्षा गरिएको छ। मन्दिर संरक्षण समितिका अध्यक्ष गंगाधर ढकालको अध्यक्षता तथा जितपुरसिमरा उपमहानगरपालिका ४ का वडाध्यक्ष भोजबहादुर खत्री (ईश्वर) को प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको थियो।
अधिवेशनमा नेकपा एमाले जितपुरसिमरा नगर कमिटी अध्यक्ष त्रिलोक बिक्रम शाह, औराह उपभोक्ता सहकारी संस्थाका अध्यक्ष पूर्णचन्द्र तिमिल्सिना, प्रगतिशील सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सन्तोष दाहाल लगायतको उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस !