नीतिगत मरुभूमिको प्रतिविम्ब

नीतिगत मरुभूमिको प्रतिविम्ब
सुन्नुहोस्

अन्न भण्डार मधेसमा बर्खामा खडेरी लाग्यो । धानखेतमा धाँजा फाट्यो । बिउ पनि सुक्यो । सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्‍यो । वास्तवमा सरकारको घोषणा आफैंमा समाधान होइन, बरु मधेसमा अहिलेसम्म पनि सिँचाइको सुव्यवस्थित प्रबन्ध हुन नसकेको स्वीकारोक्ति हो । त्यो किनभने मधेसको आधा कृषि भूमिमा मात्रै सिँचाइ छ ।

भूगर्भको पानी तान्ने ट्युबवेलहरू प्रशस्त छन्, तर बेकामे । तिनको उचित व्यवस्थापन भएन न समुदाय जिम्मेवार बन्यो न राज्यले हेर्‍यो । आइतबारदेखि पानी परेर मधेसका किसानले केही राहत महसुस त गरेका छन्, तर यो क्षणिक हो । सरकारले यसको दीर्घकालीन समाधानका लागि गतिलो सिँचाइ र गतिलो व्यवस्थापन गर्न जरुरी छ । सतहमा हेर्दा मधेसको खडेरी आकासेपानी नपरेका कारण सिर्जना भएको देखिए पनि खराब नीति, कमजोर संस्थागत समन्वय, दूरदृष्टिविहीन पूर्वाधार विकास र प्रकृतिको अन्धाधुन्ध दोहन मुख्य कारण हो । 

भन्ने बेलामा हामी जलस्रोतको भण्डार भनेर नेपाललाई भन्छौं । तर यही देशको अन्न भण्डार सुक्खा पर्नु विडम्बना हो । सरकारी कार्यदलको एउटा प्रतिवेदनले नै यो व्यवस्थापकीय कमजोरी भन्ने पुष्टि गर्छ । मधेस प्रदेशमा निर्माण गरिएका सयौं डिप ट्युबवेलमध्ये आधाभन्दा बढी बेकामे भएका छन् । कतै पम्प छैन, कतै ट्रान्सफर्मर चोरी भएका छन्, कतै सामान्य मर्मत हुन सकेको छैन, त कतै न्यून भोल्टेजले गर्दा चल्न सकेका छैनन् भन्ने प्रतिवेदनले औंल्याएको छ ।

अर्बौंको लगानी बालुवामा पानी भएको छ । प्रतिवेदनले क्रमागत सिँचाइ आयोजनाहरूलाई सम्पन्न नगरी नयाँ आयोजना सुरु गर्ने प्रवृत्ति पनि मधेस सुक्खापनको अर्को महत्त्वपूर्ण कारण हो भनेको छ । आयोजनाको शिलान्यासमा होडबाजी चल्छ, तर त्यसको पछि आवश्यक व्यवस्थापकीय जिम्मेवारीबारे जोकोही बेखबर बनिदिन्छ ।
 
मधेसको पानीको स्रोत भनेको चुरे पहाड हो । तर त्यही पहाडमा छ अन्धाधुन्ध दोहन । पानीका मूल सुकेका छन्, मधेस मरुभूमि बन्ने गरी नै प्राकृतिक स्रोतको दोहन हुँदा पनि राज्यले नियन्त्रण गर्न सकेको छैन । मधेसमा भूमिगत पानी तान्ने ट्युबवेल जोड्न तम्सने राज्यले जल पुनर्भरणको मुख्य आधार नै चुरे हो भन्ने नबुझे झै गरेको छ । परिणामस्वरूप भूमिगत पानीको सतह बर्सेनि १० देखि १५ मिटरसम्म तल भासिएको छ । जलवायु परिवर्तनले निम्त्याएको अतिवृष्टि र अनावृष्टिको चक्रले यस संकटलाई थप जटिल बनाएको छ । 

सरकारी कार्यदलको प्रतिवेदनले रोगको पहिचानमात्र गरेको छैन, उपचारका लागि स्पष्ट खाका पनि प्रस्तुत गरेको छ । बन्द रहेका सयौं डिप ट्युबवेललाई सामान्य मर्मत र उपकरण जडान गरी केही हप्ताभित्रै सञ्चालनमा ल्याउन सकिन्छ भन्ने सुझाव सरकारले तत्कालै कार्यान्वयन गर्न सक्छ । चोरी भएका ट्रान्सफर्मरको ठाउँमा नयाँ राख्ने, सुरक्षाको प्रत्याभूति दिने काम पनि तुरुन्तै गर्नुपर्छ ।

विद्युत् आपूर्तिलाई नियमित गर्नुपर्‍यो नै । चुरे संरक्षणलाई भाषणमा मात्र सीमित नराखी राष्ट्रिय गौरवको अभियानका रूपमा कार्यान्वयन गर्नुपर्छ । वर्षाको पानी संकलन गर्न र भूमिगत जल पुनर्भरण गर्न हरेक गाउँ र सहरमा पोखरी र जलाशय निर्माणको अभियान चलाउनु आवश्यक छ । 

सुनकोशी–मरिण र सुनकोशी–कमलाजस्ता ठूला नदी पथान्तरण आयोजनाहरूलाई शीघ्र सम्पन्न गरी मधेसका सुक्खा फाँटहरूमा बाह्रैमहिना पानी पुर्‍याउने सपना साकार पार्नुपर्छ । त्यसका लागि सरकारले कार्यदलको प्रतिवेदनलाई दराजमा थन्क्याउने होइन, त्यसका हरेक सुझावलाई कार्यान्वयनको कसीमा उतार्ने हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.