उपत्यकाको एकीकृत फोहोरमैला परियोजना सम्झौता नतोड्न आदेश

उपत्यकाको एकीकृत फोहोरमैला परियोजना सम्झौता नतोड्न आदेश
सुन्नुहोस्

काठमाडौं : उपत्यकाको एकीकृत फोहोरमैला व्यवस्थापन परियोजना अघि बढाउन उच्च अदालत पाटनले ढोका खोलिदिएको छ । करिब १५ वर्षदेखि अलपत्र परेको उक्त परियोजना अघि बढाउन काठमाडौं महानगरपालिका लगायत सरोकारवाला निकायलाई उच्च अदालत पाटनले आदेश दिएको छ ।

काठमाडौं महानगरपालिकाले फोहोरमैलालाई एकीकृत रूपमा व्यवस्थापन गर्नेसम्बन्धी परियोजना कार्यान्वयन गर्न कठिनाइ भएको भन्दै प्रस्तावित कम्पनी नेप वेष्टसँग भएको सम्झौता एकतर्फी रोकेको थियो । निवेदक नेप वेष्टले दायर गरेको रिटमा बुधबार (साउन २१) गते निर्णय गर्दै उच्च अदालत पाटनले महानगरको उक्त निर्णय बदर गरेको हो ।

उच्च अदालतका न्यायाधीशद्वय चन्द्रमणि ज्ञवाली र हेमन्त रावलको संयुक्त इजलासले आदेशमा भनेको छ, ‘उल्लिखित अवस्थामा महानगरपालिका आफैंले एकपटक स्वीकार गरेको प्रस्तुत परियोजना कार्यान्वयन गर्न कठिनाइ भएको भनी लेखेको मिति २०८०।४।२३ को पत्र महानगरसभाको हो ? वा महानगर कार्य समितिको हो ? वा महानगरप्रमुखको हो ? कुन तहको निर्णय हो भन्ने व्यहोरा उक्त मितिको पत्रमा खुलेको अवस्था देखिएन ।’

महानगर समेतको उपस्थित र सहमतिमा नेपाल सरकार लगानी बोर्डसँग भएको सहमतिबमोजिम बृहत् सार्वजनिक हित र सरोकारसँग सम्बन्धित विदेशी लगानीको बहुवर्षीय (२०वर्षको) परियोजना कार्यान्वयन गर्न कठिनाइ भएको भन्दै महानगरपालिले २०८० साउन २३ मा लगानी बोर्डमा पत्र पठाएको थियो । अदालतले नेपाल सरकार, लगानी बोर्ड तथा महानगरपालिका र अन्य पालिकाहरूसँगको आवश्यक समन्वयपछि सहजीकरण हुन सक्ने अवस्थालाई अहिले नै अन्यथा भन्न नमिल्ने जारी आदेशमा भनेको छ ।

उक्त परियोजना नेपाली नागरिकको करबाट संकलित राजस्व रकम प्रयोग नभई सम्पूर्ण वैदेशिक लगानीबाट सम्पन्न हुने हो । बृहत् राष्ट्रिय हितको प्रस्तुत परियोजना सञ्चालनका लागि आवश्यक सहयोग, समन्वय गर्नु गराउनु भनी अदालतले नेपाल सरकारका मुख्य सचिवका नाममा निर्देशनात्मक आदेशसमेत जारी गरिदिएको छ । साथै, नेपालको संविधानको धारा २३२ को प्रावधानको ध्यानाकर्षणसहित काठमाडौं महानगरपालिका र परियोजनासँग सम्बन्धित अन्य पालिकाहरूको नाममा समेत निर्देशनात्मक आदेश जारी गरेको छ । अदालतले लगानी बोर्डको कार्यकारी अधिकृतको नाममा पनि निर्देशनात्मक आदेश जारी गर्दै आदेश बमोजिमको कार्यान्वयनको प्रगति ३÷३ महिना अदालतलाई लिखित रूपमा अवगत गराउन भनेको छ ।

२०६६ सालमा फोहोरमैला व्यवस्थापन तथा स्रोत परिचालन केन्द्रबाट काठमाडौं उपत्यकाको एकीकृत फोहोर मैला व्यवस्थापन गर्न ३ प्याकेजमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामार्फत प्रस्ताव आव्हान गरिएको थियो । प्याकेज १ : काठमाडौं महानगपालिका तथा ९ नगरपालिका, प्याकेज २ : ललितपुर, कीर्तिपुर तथा ४ नगरपालिका र प्याकेज ३ : भक्तपुर तथा मध्यपुर थिमी गरी छुट्ट्याइएको थियो । प्याकेज १ मा काठमाडौं महानगरपालिका र दक्षिणकाली, गोकर्णेश्वर, बूढानीलकण्ठ, तारकेश्वर, टोखा, चन्द्रागिरी, नागार्जुन, शंकरापुर, कागेश्वरी, मनोहरा नगरपालिकाहरू र प्याकेज २ मा ललितपुर महानगरपालिका तथा कीर्तिपुर, महालक्ष्मी र गोदावरी नगरपालिकाहरू तथा प्याकेज ३ मा भक्तपुर, चाँगुनारायण, मध्यपुर थिमी र सूर्यविनायक नगरपालिका छन् ।

२०६६ सालको पुसमा अन्तर्राष्ट्रिय प्रतिष्पर्धामार्फत प्रस्ताव आह्वान गरिएकोमा २०६७ असारमा प्राप्त प्रस्तावहरूमध्ये प्याकेज १ (काठमाडौं महानगरपालिका) मा नेपवेस्ट प्रालिको प्रस्ताव स्वीकृत गर्दै स्रोत परिचालन केन्द्र तथा प्रस्तावकर्ताबीच समझदारी पत्रमा हस्ताक्षर पनि भयो । सार्वजनिक–निजी–साझेदारी अवधारणामा काठमाडौंको फोहोर व्यवस्थापन अघि बढाइने भनिएको प्रक्रिया करिब १५ वर्षसम्म अलपत्र परी नै रहेको छ ।

आयोजना प्रक्रियामा रहिरहेको समयमा २०८१ मंसिरमा काठमाडौं महानगरले फोहोरमैला व्यवस्थापनका लागि भन्दै नयाँ बोलपत्र आह्वान गरेपछि विकासकर्ता कम्पनी नेपवेस्टले पाटन उच्च अदालतमा मुद्दा दायर गरेको थियो । कामपाको ठेक्का रोक्न (स्टे अर्डर) र यो परियोजना छिटो अघि बढाउन तालुकका निकायलाई परमादेश जारी गर्न भनि भनेको कम्पनीले जनाएको छ । उच्च अदालत पाटनले स्टे अडर दिएन तर कामपालाई के कारणले लगानी बोर्डलाई परियोजना अघि नबढाउने पत्र पठाएको हो भनि जानकारी गराउन उत्प्रेषण जारी गरेको थियो ।

यता, काठमाडौं महानगर जारी गरेको ठेक्काको सम्बन्धमा भने उच्च अदालतले प्रक्रिया अघि बढाउन महानगरलाई भनेको छ । नेप वेष्टसँग सम्झौता कार्यान्वयनमा आउन समय लाग्ने भएकोले सो अवधीमा उपत्यकाको फोहोर व्यवस्थापनका लागि महानगरले नयाँ ठेक्का गरी फोहोर उठाउन सक्ने आशय दिएको छ । ‘विपक्षी काठमाडौं महानगरपालिकाबाट प्रकाशित २०८१ । ०६ । २४ गतेको बोलपत्र आह्वानसम्बन्धी सूचनाबमोजिम २०८१।०७।२० सम्म परेका बोलपत्रहरूमा हालसम्म निर्णय भई सम्झौता हुन सकेको देखिँदैन । सो सूचनाबमोजिम छनौट गरी सम्झौता गर्दा नेव वेष्टसँगको सम्झौतामा प्रतिकूल नहुने र कुनै असर नपर्ने गरी महानगरपालिकाले सम्झौता गर्नुपर्ने नै हुँदा उक्त २०८१ । ०६ । २४ को बोलपत्र सूचना बदर गर्नुपर्ने अवस्था देखिएन,’ आदेशमा भनिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.