मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
बारा : बाराको कलैया–पिलुवा सडकखण्डमा शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–१६ का ५५ वर्षीय उद्धवप्रसाद यादव रहेका छन्।
प्रहरीका अनुसार पिलुवाबाट कलैयातर्फ जाँदै गरेका यादवको ना५६प ६६९८ नम्बरको मोटरसाइकल कलैया उपमहानगरपालिका २४ स्थित सखुईमा दुर्घटनामा भएको हो। यादवले चलाएको मोटरसाइकल सडकमा रोकिराखिएको बा.प्र.१–०२५च ४९५३ नम्बरको कारमा ठोक्किएर अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.३–००१ ख ३२९० नम्बरको बसको पछाडिको चक्कामा पुगेको थियो।
बसले किच्दा यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए। घटनापछि बस चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
३