करिअर भन्दै ३०/३५ वर्षसम्म बिहे नगरी बस्ने प्रवृत्ति युवतीमाझ देखिएको छ । त्यस्तै युवाहरूमाझ पनि टन्न पैसा कमाएर बिहे गर्ने भन्दै विदेश जाने लहड छ । युवायुवतीमा देखिएको यो प्रवृत्तिले निःसन्तानको समस्या बढाएको छ । नेपालमा निःसन्तानको समस्या बढी देखिनुमा विभिन्न ढिलो बिहे पनि प्रमुख कारण हो ।
विगतमा भाग्यलाई दोष दिँदै बाँझोपनालाई लुकाएर राख्ने प्रवृत्ति थियो । अहिले जनचेतनाका कारण औषधि उपचार गर्ने ÷आईभीएफ सेवा लिने क्रम बढेको छ । सही उपचारका पनि चार चरण हुन्छन् । दक्ष चिकित्सकबाट सही समयमा भएको जाँच, औषधि र उपयुक्त परामर्शले धेरै दम्पतीले समयमै सन्तान सुख प्राप्त गरेका छन् ।
आईभीएफ सेवामा मापदण्ड
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालै निःसन्तान उपचार (आईभीएफ) सेवालाई व्यवस्थित बनाउन र नियमन गर्न निःसन्तान व्यवस्थापन सेवा सञ्चालनसम्बन्धी मापदण्ड, २०८२ स्वीकृत गरेको छ । यो मापदण्डका लागि हामीले पटकपटक आग्रह गर्दै आएका थियौं । हालै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलबाट मन्त्रिस्तरीय निर्णय गर्दै उक्त मापदण्ड स्वीकृत भएको छ ।
आईयूआई र आईभीएफजस्ता विशिष्ट सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयबाट अनिवार्य रूपमा अनुमति लिनुपर्ने व्यवस्था मापदण्डमा गरिएको छ । प्रत्येक अनुमति प्राप्त केन्द्रमा निःसन्तान रोग विशेषज्ञ, तालिम प्राप्त इम्ब्रायोलोजिस्ट र एनेस्थेसियोलोजिस्ट लगायतका दक्ष जनशक्ति अनिवार्य हुनुपर्नेछ । पूर्वाधारतर्फ, राष्ट्रिय भवन संहिताबमोजिमको भवन, विशिष्टीकृत एन्ड्रोलोजी तथा इम्ब्रायोलोजी प्रयोगशाला, शल्यक्रिया कक्ष र आकस्मिक सघन उपचार कक्षलगायतको व्यवस्था हुनुपर्ने मापदण्ड तोकिएको छ ।
भ्रूणको विकासमा प्रत्यक्ष असर पार्ने प्रयोगशाला र शल्यक्रिया कक्षको वातावरणीय गुणस्तरका लागि प्राविधिक मापदण्ड तोकिएको छ । ती कक्षहरूको तापक्रम, सापेक्षिक आद्रता र हावाको गुणस्तर तोकिएको स्तरअनुरूप हुनुपर्नेछ । सेवा शुल्क मन्त्रालयले निर्धारण गरेबमोजिम मात्र लिन पाइनेछ भने प्रत्येक संस्थाले १० प्रतिशत सेवा गरिब तथा विपन्न वर्गलाई निःशुल्क उपलब्ध गराउनु पर्नेछ । सेवाको गुणस्तर, जनशक्ति र उपकरणको अवस्थाबारे मन्त्रालयको समितिले नियमित अनुगमन गर्ने र मापदण्ड पालना नगर्ने संस्थाको अनुमति खारेज गर्न सक्ने व्यवस्था गरिएको छ ।
शुक्रकीट वा अण्डादान गर्ने दाताका लागि समेत स्पष्ट मापदण्ड तोकिएको छ । दाताको उमेर २० देखि ३५ वर्षको बीचमा हुनुपर्ने, कुनै पनि सरुवा रोग नभएको स्वास्थ्य परीक्षणबाट प्रमाणित हुनुपर्ने र विवाहितको हकमा दम्पतीको लिखित मञ्जुरीजस्ता विषयलाई अनिवार्य गरिएको छ ।
अहिले आईभीएफ सेवा शुल्कमा एकरूपता छैन । औषधिसमेत गरेर २ लाख देखि ४ लाखसम्म लिने गरेको पाइन्छ । सेवा शुल्क स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ अनुसार मन्त्रालयले तोकेबमोजिम मात्र लिन पाइने भनिएको छ । मन्त्रालयले शुल्कमा एकरूपता कायम गर्नु उपयुक्त हुन्छ । तोकिएको भन्दा बढी शुल्क लिने संस्थालाई कानुनबमोजिम कारबाही गर्न सक्नुपर्छ । सेवाको गुणस्तर, जनशक्ति र उपकरणको अवस्थाबारे अनुगमन जरुरी छ ।
नर्मल डेलिभरि कि सिजरियन ?
अहिले सन्तान जन्माउँदा साइत हेर्ने चलन छ । यो समयमा वा यति घण्टाभित्र सिजरियन गरेर भए पनि बच्चा निकाल्दिनु प¥यो भनेर दबाब दिने प्रवृत्ति देखिएको छ । यसले गर्दा पछिल्लो समय अस्वाभाविक रूपमा सिजरियन गरेर शिशु जन्माउने क्रम बढेको छ । २० देखि २५ प्रतिशतभन्दा बढी सिजरियन सेक्सन नहुनु पर्ने हो । तर, अहिले झन्डै ७० प्रतिशतसम्म सिजरियन सेक्सन भएको छ ।
एक पटक सिजरियन गरिसकेपछि अर्को पटक पनि सिजरियन गर्नैपर्छ भन्ने हुँदैन । सम्बन्धित स्त्री तथा प्रसूति रोग विशेषज्ञले मुख हेरेर होइन कि जाँचेर सल्लाह दिन सक्छन् । नर्मल डेलिभरि गर्दा जीउ बिग्रिन्छ अप्रेसन गरिहालुँ भन्ने सोंच पनि राम्रो होइन । सिजरियन गर्दा जीउ बिग्रन्छ कि भन्ने डरले अप्रेसन नगर्नु पनि ठीक होइन ।
३५/४० वर्षको उमेरमा महिलालाई सहजरूपमा सन्तान जन्माउन गाह्रो पर्छ । त्यस्तो अवस्थामा सिजरियन गर्नुपर्ने बाध्यात्मक अवस्था आउन सक्छ । सिजरियन सेक्सन कस्तोमा गर्ने ? कस्तोमा नगर्ने ? यसमा छलफल हुनुपर्छ । अध्ययन, अनुसन्धान गर्नुपर्छ । त्यसैले सिजरियनको सम्बन्धमा पनि हामीले आफ्नै दिदीबहिनीको शारीरिक अवस्था हेरेर मापदण्ड बनाउनु पर्छ । राम्रो त सिजरियनभन्दा नर्मल डेलिभरि नै हो । नर्मल डेलिभरि शतप्रतिशत राम्रो हो ।
स्तनपान गराउँदा सौन्दर्य बिग्रिँदैन अहिले शिशुलाई स्तनपान (ब्रेस्ट फिडिङ) गराउँदा सौन्दर्य बिग्रिन्छ भन्ने भ्रम छ । यो सरासर गलत हो । शिशुका लागि आमाको स्तनपान जस्तो पौष्टिक आहार अरू केही पनि हुँदैन ।
- रिजाल वरिष्ठ स्त्री रोग, प्रसूति तथा निःसन्तान विशेषज्ञ हुन्
प्रतिक्रिया दिनुहोस !